Ipo.aspx merolagani - नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी

नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी

Nov 15, 2024 06:33 AM Merolagani

नेपाल टेलिकम (NTC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कुल आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.४९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus