Ipo.aspx merolagani - नाफासँगै बढ्यो नेपाल दूरसञ्चारको ईपीएस

नाफासँगै बढ्यो नेपाल दूरसञ्चारको ईपीएस

Nov 16, 2021 10:06 AM Merolagani

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १३.२० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ८.३९ प्रतिशत बढेको छ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० रुपैयाँ ४७ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा १९ रुपैयाँ ७९ पैसा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५८ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ।

comments powered by Disqus