Ipo.aspx merolagani - सिटिजनको लाभांश स्थगन,धितोपत्र बोर्डले छानबिन सुरु गर्‍यो, सोमबारको कारोबार रद्द गर्नु पर्ने लगानीकर्ताको माग

सिटिजनको लाभांश स्थगन,धितोपत्र बोर्डले छानबिन सुरु गर्‍यो, सोमबारको कारोबार रद्द गर्नु पर्ने लगानीकर्ताको माग

May 06, 2024 04:43 PM merolagani

सुवास निरौला

सिटिजन लाइफले सोमबार घोषणा गरेको लाभांश स्थगन भएको विषयमा नेपाल धितोपत्र बोर्डले छानबिन सुरु गरेको छ।

उसले दिनै नमिल्ने लाभांश घोषणा गरेको र बिमा प्राधिकरणले घोषित लाभांश स्थगन गरेको विषयमा बोर्डले छानबिन सुरु गरेको हो। “सिटिजन्सले घोषणा गरेको लाभांशको विषय हाम्रो टिमले हेर्न सुरु गरेको छ। त्यस विषयमा हामीले आजैबाट छानबिन गर्न थालिसकेका छौ” नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले मेरो लगानी सँग भने।

आचार्यका अनुसार यस विषयमा को को संलग्न रहेको र त्यसले पुर्‍याएको क्षतिको बारेमा बोर्डले छानबिन गर्ने छ। क्रमिकरुपमा उक्त विषयमा बोर्डले निर्णय गर्दै जाने छ।

तर यता सोमबार नै दोस्रो बजारमा ६ लाख ६६ हजार ४८१ कित्ता शेयर ३१ करोड ९८ लाख ३० हजार ९४२ रुपैयाँमा कारोबार भए। यति धेरै कित्ता शेयर कारोबार हुँदा आज खरिद बिक्री गर्ने लगानीकर्ता गलत सूचनाको सिकार हुन पुगेको भन्दै सङ्गठित लगानीकर्ताहरूले सोमबारको कारोबार नै रद्द गर्नु पर्ने माग गरेका छन्। उनीहरूले कारोबार मात्र रद्द गरेर नपुग्ने, कम्पनीलाई समेत हदै सम्मको कारबाही हुनु पर्ने भनेका छन्।  “यसरी लगानीकर्तालाई झुक्क्याउन पाइँदैन। आजको कारोबार धितोपत्र बोर्डले नियम अनुसार क्यान्सिल त गर्ला तर त्यतिले मात्रै पुग्दैन कारोबार रद्द सँगसँगै कम्पनीलाई हदैसम्मको कारबाही गर्नु पर्छ। यो ठूलो बदमासी हो” नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले मेरोलगानीसँग भने।

सिटिजन्स लाइफले सोमबार घोषणा गरेको लाभांश स्थगन भएको छ। प्राधिकरणलाई सोध्दै नसोधी लाभांश घोषणा गरेपछि उसको घोषित लाभांश स्थगन भएको हो। “सिटिजन्सले हामीलाई केही कुरा नसोधी सिधै एकलौटी रुपमा लाभांश घोषणा गरेको छ। जुन नियम विपरीत छ। सोही कारण प्राधिकरणले उसले घोषणा गरेको लाभांश स्थगन गर्ने निर्णय गरेको छ” बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले मेरो लगानीसँग भने।

कम्पनीले एकै वर्षमा दुई पटक लाभांश घोषणा गरेको हकमा के हुन्छ भन्ने प्रश्नमा ”पहिलो कुरा त हामीलाई नसोधी गरेको छ। त्यही गलत थियो। अर्को कुरा उसले यो वर्ष पुन लाभांश दिन पाउँदैन। सोही कारण उसको लाभांश स्थगन गरिदिएका हौ” बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले मेरो लगानी सँग भने।

सिलवालका अनुसार सोमबार नै कम्पनीका अधिकारीहरुलाई प्राधिकरणले छलफलका लागि बोलाएको थियो।

सोमबार कम्पनीले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने भन्दै लाभांश घोषणा गरेको थियो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भनेको थियो। वैशाख २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको नेप्से मार्फत जारी सूचनामा भनेको थियो।

उसले सूचनामा नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी विशेष साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिने जनाएको थियो। इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धि गर्नका लागि सो लाभांश वितरण गर्न लागेको थियो।

जुन सूचनाको आधारमा सोमबार लगानीकर्ताले कम्पनीको शेयर बेस्सरी खरिद बिक्री गरेका थिए। सोमबार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको सूचिमा कम्पनी पहिलो स्थानमै परेको थियो। झुटो सूचनाको आधारमा लगानीकर्ताले धेरै कारोबार गर्दा उनीहरू नराम्राे गरी फसेका छन्। सोही कारण लगानीकर्ताले सोमबारको कारोबार रद्द गर्नु पर्ने माग गरेका हुन्। जस विषयमा बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज भने कानमा तेल हालेर बसेको छ। उसले त्यस विषयमा  कम्पनीलाई कुनै सोध खोज गरेको छैन। आफ्नो उत्तरदायित्वबाट पन्छिएको नेप्सेले लगानीकर्ताको मर्कालाई भने नबुझेको लगानीकर्ताहरूको आरोप छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।