Ipo.aspx merolagani - प्रधानमन्त्रीको चेतावनीलाई लत्याउँदै गृहमन्त्री लामिछानेको आदेशमा कैलाश सिरोहिया पक्राउः लामिछाने भर्सेस कैलास सिरोहियाको लडाई वारपारको चरणमा

प्रधानमन्त्रीको चेतावनीलाई लत्याउँदै गृहमन्त्री लामिछानेको आदेशमा कैलाश सिरोहिया पक्राउः लामिछाने भर्सेस कैलास सिरोहियाको लडाई वारपारको चरणमा

May 21, 2024 07:29 PM Merolagani

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न लागेको सूचना पाए पछि प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो गृहमन्त्री रवि लामिछानेलाई आवेशमा आएर ‘त्यसो नगर्न’ चेतावनी दिएका थिए । तर, प्रधानमन्त्रीलाई समेत थाहा नदिई सिरोहियालाई पक्राउ गर्ने तयारी गरिरहेका लामिछानेको आदेशमा त्यस अगाडि नै प्रहरीले सिरोहियालाई पक्राउ गर्नको लागि अदालतबाट अनुमति लिइसकेको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले ‘आवेशमा आएर त्यसो नगर्न’ आदेश दिएपछि लामिछानेले ‘अदालतबाट अनुमति लिइसकेकोले अब अदालती प्रकृया अनुसार हुने’ भन्ने जवाफ दिएका थिए । नभन्दै प्रहरीले साँझ पख सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको छ ।

उनको पक्राउ प्रकरणसँगै केही गम्भिर प्रश्नहरु खडा भएको छ । सबैभन्दा ठूलो प्रश्न प्रधानमन्त्री दाहालमाथि नै छ । ‘त्यसो नगर्न’ भनेर दिएको आफ्नै आदेश अटेर गर्ने गृहमन्त्रीको कदमलाई अब उनले कसरी लिन्छन् ? शिरोहिया माथिको आरोप सही भएको बताउँदै गृहमन्त्रीको कदमको प्रतिरक्षा गर्न सक्छन् ? यदि सक्दैनन् भने आफ्नो आदेशको विरुद्ध गएर संचार माध्यमका मालिकलाई पक्राउ गर्ने गृहमन्त्रीलाई कारवाही गर्न, वर्खास्त गर्न सक्छन् ? पक्कै पनि यी प्रश्नको जवाफ दिन प्रधानमन्त्री दाहाल मात्र होइन, कुनै मन्त्री मन्त्री र सत्तारुढ पार्टीका नेताहरुलाई सहज छैन । किनकी एकातिर लामिछाने र उनको पार्टी रास्वपालाई रिझाएर सत्ता टिकाउनु छ भने अर्काेतर्फ ‘मिडिया माथिको आक्रमण’ भन्ने आरोपबाट पनि बच्नु छ । यी दुवै अवस्थालाई सन्तुलनमा राख्न पाउन प्रधानमन्त्री, सरकार र सत्तारुढ पार्टीहरुलाई सहज छैन ।

कानुनका ‘नौ सिङ्ग’ ले जे जे भनोस्, आम नेपालीहरुको बुझाईमा कान्तिपुरका मालिक र उनका परिवारहरुप्रतिको धारणा सकारात्मक छैन । उनीहरुमाथि ‘ओपन सेक्रेट’ झैं लाग्ने अनेकौ तथ्यहरु छन्, आरोपहरु छन् । तर, ती सबै आरोपहरुबाट उनीहरु कानुनी रुपमा मुक्त भइरहनुको मुख्य कारण कान्तिपुरको ‘शान र शक्ति’ भएको कतैबाट छिपेको छैन । अहिले विवाद सृजना भएको दोहोरो नागरिकताको मुद्धाको वास्तविकता के हो र अब त्यसको पटाक्षेप कसरी होला ? त्यो अब अदालतले बताउला । तर, अदालतबाट जे जस्तो फैसला आए पनि आजको घटनालाई लिएर उनी प्रति ‘खुच्चिङ्ग’ भन्नेहरुको जमात सानो छैन ।

यो घटनाका मुख्य कारक गृहमन्त्री लामिछाने हुन् । र, उनी ‘जन्मजात विवादास्पद’ व्यक्ति हुन् । आफूलाई साथ नदिएको आरोपमा लामिछानेले घोषणा गरेको ‘बाह्र भाई’ प्रकरणका एक मुख्य व्यक्ति शिरोहिया हुन् । उनको लगानीमा रहेको कान्तीपुर दैनिकले लामिछानेका सहकारी प्रकरणलाई जसरी निरन्तर ‘फलो अप’ गरिरहेको छ र लामिछाने र उनका समर्थकहरुले कान्तिपुर प्रति जसरी ‘घृणाको राजनीति’ गरिररहेका छन्, त्यसले गर्दा लामिछाने र सिरोहिया वा कान्तिपुरबीच ‘कि तँ छैनस्, कि म छैन’ भन्ने ‘इगोको लडाई’ शुरु भएको देखिन्छ । यो लडाईमा कस्ले जित्ला, कस्ले हार्ला ? त्यो भविश्यले बताउला ।

तर आजको घटनाले रवि लामिछाने भर्सेस शिरोहिया (वा कान्तिपुर) बीचको लडाई अबको केही दिन झन चर्कने निश्चित छ । दुवै ‘वार पार’ को मुडमा देखिन्छन् । तर, गृहमन्त्री लामिछानेको आदेशमा आज भएको सिरोहियाको पक्राउले सरकार र सत्तारुढ पार्टीहरुमाथि ‘प्रेस स्वतन्त्रता माथि आक्रमण गरेको’ आरोप लाग्ने र उनीहरु रक्षात्मक हुने भने निश्चित देखिएको छ ।

 

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।