Ipo.aspx merolagani - अन्तरवार्ताको लागि बोलाइएका 'तीन भाइ' आज पनि अनुपस्थित हुने ! सेबाेन अध्यक्षको नियुक्ति प्रकृया थप रोचक बन्दै

अन्तरवार्ताको लागि बोलाइएका 'तीन भाइ' आज पनि अनुपस्थित हुने ! सेबाेन अध्यक्षको नियुक्ति प्रकृया थप रोचक बन्दै

Jun 19, 2024 05:56 AM Merolagani

‘सर्ट लिस्ट’ मा परेका ५ जना दावेदारहरुको लागि गत आइतबार तोकिएको अन्तरवार्तामा ‘रहस्यमय’ तरिकाले ३ जना अनुपस्थित भएपछि धितोपत्र बोर्ड (सेबाेन) को अध्यक्ष छनौट प्रकृया रोमान्चक मात्रै नभएर ऐतिहासिक रुपमै विवादको मोडमा पुगेको छ ।

‘अन्तरवार्तामा अनुपस्थित प्रकरण’ का तीनै पात्रहरु डा.नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरन्जीवी चापागाईलाई बुधबार अन्तरवार्ताको लागि बोलाइए पनि उनीहरु तीनै जना उपस्थित हुने सम्भावना निकै कम छ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)को महाप्रवन्धक रहेका कार्की ‘कार्यालयको कामको लागि’ भन्दै रसुवा पुगेका छन् । ‘९-१० गते तिर आउँछु’ भन्ने खबर छोडेर कार्यालयको प्रयोजनको लागि प्रयोग गर्ने मोवाइल अफ गरेर घुमफिरमा गएका उनी अन्तरवार्ता दिन आउने सक्भावना लगभग छैन ।

त्यस्तै अधिकारी र चापागाई काठमाडाैं बाहिर गएको जानकारी नभए पनि उनीहरु सार्वजनिक सम्पर्कमा छैनन् । कार्यालय प्रयोजनको लागि उपयोग गर्ने फोन अफ गरेर बसेका छन् । ‘विहानसम्म केही खिचडी पाक्यो भने अर्कै कुरा अन्यथा उहाँहरु पनि अन्तरवार्तामा आउने सम्भावना हामीले देखेका छैनौ’ अर्थमन्त्री वर्षमान पुनसँग सम्वद्ध स्रोतले मेरो लगानीसँग भन्यो ।

अनुमान गरिएझैं आज पनि उनीहरु अनुपस्थित भएमा अबको प्रकृया के होला ? भन्ने प्रश्न एकातर्फ छ भने ३ जना प्रतिस्पर्धीहरु विना कुनै कारण अनुपस्थित हुनु संयोग मात्र हो भनेर विश्वास मान्न सकिने एउटै पनि गतिलो आधार छैन । अर्थात् उनीहरु संयोगवस अनुपस्थित भएका होइनन् कि त्यसका पछाडि निकै ठूलो खेल छ भन्ने कुरालाई कसैले पनि नकार्न सकिरहेको छैन । त्यसको एउटा मुख्य आधार त उनीहरु तीनै जना अर्थमन्त्री पुनको पार्टी माओवादीका घोषित, अघोषित ‘क्याडरहरु’ हुन् । त्यसैले पनि यो प्रकरणको पछाडि पुनको नियत र स्वार्थ गाँसिएको बुझ्न गाह्रो छैन ।

वोर्डको अध्यक्षमा नियुक्तिको लागि अनेकौं चलखेल भइरहेका समाचार एकपछि अर्काे गर्दै सार्वजनिक भइरहदा ‘अन्तरवार्तामा अनुपस्थित प्रकरण’लाई त्यसैको ‘क्लाइमेक्स’ को रुपमा लिइएको छ । अर्थमन्त्री पुन भने आफूले मन्त्रालयको कुर्सी सम्हाल्नु भन्दा पहिलेदेखि नै शुरु भएको अध्यक्ष छनौट प्रकृया प्रति सहमत नभएको र उनले अहिलेको प्रकृयालाई स्थगित गरेर फेरि शुरु गर्न चाहेको कुरा सार्वजनिक भइसकेकाे छ । यस्तो अवस्थामा अन्तरवार्ताको लागि छनौटमा परेकाहरुमध्ये बहुमत संख्यालाई अनुपस्थित गराइनुको पछाडि पुनकै खेल भएको अनुमान गरिएकाे छ ।

बहुमत उम्मेदवारहरु अनुपस्थित भएपछि छनौट प्रकृया स्वतः रद्द हुने वा स्वतः रद्द गर्न नसके अदालतमा मुद्दा पर्ने र अदालतले सबै प्रकृया क्यान्सिल गरिदिने विश्वासमा अर्थमन्त्री पुन रहेको बुझिएको छ । त्यहीकारण उनले आफू निकट तीनैजना अन्तरवार्ताकारलाई अनुपस्थिति गराएका हुन् भन्दा अन्यथा हुँदैन । त्यसो भयो भने फेरि पनि लामो समयसम्म बोर्ड अध्यक्षविहिन हुनेछ । त्यही ‘हिसाब किताब’ का आधारमा पुनले आफ्ना विश्वासिला सहसचिव नरेन्द्र रानालाई कार्यकारी अधिकार प्रयोग गर्ने गरि अध्यक्ष तोकेका छन् । 

रानाले पनि आफूलाई निमित्त अध्यक्षको रुपमा भन्दा पनि पूर्णकालिन अध्यक्षको रुपमै लिएर काम गरिरहेका छन् । तर, प्रमुख सत्तारुढ पार्टी नेकपा एमालेले जसरी पनि, बुधबारको अन्तरवार्तामा तीनै जना अनुपस्थित भए पनि प्रकृया अगाडि बढाउने दबाब दिइरहेको छ । त्यसले गर्दा यो दबाबलाई छलेर आफ्नो रणनीति अनुसार निमित्तको भरमा बाेर्ड चलाइरहन पुन कत्तिको सफल होलान् ? त्यो भने अहिले यसै भन्न सकिदैन ।

comments powered by Disqus

नागरिक लगानी कोषले गर्यो बोनस शेयर घाेषणा

Jun 14, 2024 01:07 PM

नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।