Ipo.aspx merolagani - खेलाडीले समेत शेयरको मूल्य कन्ट्रोल गर्न सक्न छोडे, किन आयो यस्तो अवस्था ?

खेलाडीले समेत शेयरको मूल्य कन्ट्रोल गर्न सक्न छोडे, किन आयो यस्तो अवस्था ?

Sep 16, 2024 06:19 AM merolagani

दोस्रो बजारमा शेयरको मूल्य कन्ट्रोल गर्न खप्सिस खेलाडीले समेत हात उठाउन थालेका छन्। खासगरि कुनै निश्चित कम्पनीकाे शेयर मूल्य झर्न नदिन भन्दै लाख-लाख कित्ता बाइ पोजिसन लिने खेलाडी समेत यतिबेला सेलिङ प्रेसरको मारमा पर्न थालेका छन्।

आइतबार मात्रै समृद्धि  फाइनान्स कम्पनीको शेयर मूल्य बढाएर लैजाने अथक प्रयास ब्रोकर नम्बर ३९ मार्फत गरेको देखियो। ६७० रुपैयाँ प्रति कित्तामा किनबेच भइरहेको शेयरलाई उठाएर ७२५ सम्म पुर्‍याइयो। तर उक्त मूल्य भन्दा कसै गर्दा पनि शेयर मूल्य माथि लैजान नसकेपछि अन्तिममा शेयर मूल्य ६८० रुपैयाँमा क्लोज हुन पुग्यो।

कम्पनीको शेयर मूल्य माथि लैजान खोजिएको यस पटक मात्रै होइन। बजार घट्दो लयमा गए यता नै माथि लैजाने प्रयास हुँदै आएको छ। तर बजारमा शेयर मूल्य बढाएर लैजान खोज्नेलाई नै ट्रेडरले शेयर भिडाउन थालेपछि शेयर मूल्य बढाउन खोज्ने खेलाडी नै हात उठाउनु पर्ने स्थितिमा आइपुगेका हुन्। जति जति शेयरको मूल्य बढाउन खोज्यो त्यति  नै धेरै शेयर सेलमा आउन थालेपछि उनीहरू हात उठाउन बाध्य हुनु परिरहेको बताइएको छ।

“यति बेला शेयर बजारमा ठुला प्लेयर भन्दा बढी ट्रेडर हाबी हुन थालेका छन्। यस अघि सामान्यतया एकै दिनमा कुनै पनि फाइनान्स कम्पनीको ५० हजार देखि एक लाख कित्तासम्म शेयर उठाइदिँदा कम्पनीको शेयर मूल्य बढेर सर्किट लाग्ने स्थिति हुन्थ्यो। तर अहिले जति शेयर किने पनि पार लाग्ने स्थिति छैन। अहिले ट्रेडर ओभर स्मार्ट देखिन थालेका छन् ” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

खासगरि दसैँ अघि शेयर बजार घट्छ भन्ने मासिकता व्यापक हुन थालेको छ। जसले गर्दा बजार सुरुवाती समयमा टिक्न खोजे जस्तो गरे पनि अन्तिममा भने सेलिङ प्रेसरको मारमा पर्दै आइरहेको छ। गत हप्ता सुरुवाती दिनहरूमा त्यही क्रम बारम्बार दोहोरिने गरेको भएपनि गत बिहीबार भने त्यस क्रममा ब्रेक लागेको थियो। तर यस साताको सुरुवाती दिन आइतबार पुनः त्यही क्रम दोहोरिएपछि मूल्य स्थिर राख्न खोज्ने प्लेयरहरू समेत हच्किन पुगेका छन्।

अहिले दोस्रो बजारमा शेयर किन्नेहरूले दीर्घकालको योजना भन्दा पनि सर्ट टर्म कै लागि शेयर किन्ने क्रम बढेको छ। जसले गर्दा लगानीकर्ताले अन्तिममा शेयर दिँदा सूचकमा लगातार दबाब परेको बताइएको छ। “पछिल्लो समय दीर्घकालको लागि भनेर शेयर किन्ने कम हुँदै गएका छन्। अझै संस्थागत रुपमा शेयर किन्ने समेत सर्ट टर्म कारोबारीमा परिणत हुन थालेका छन्। जबसम्म दोस्रो बजारमा दीर्घकालीन लगानीकर्ताको राम्रो प्रवेश हुँदैन, तबसम्म शेयरको मूल्य स्थिर हुन गाह्राे छ। शेयरको मूल्य स्थिर राख्न दीर्घकालीन लगानीकर्ताकाले बढी सघाउँछन्। उनीहरूले शेयर होल्ड गरिदिँदा शेयर सप्लाई कम हुन्छ। तर अहिले होल्ड गर्ने मानिस नै असाध्यै न्यून हुन थालेका छन्,” ती ब्रोकरले भने।

शेयर होल्ड गरेर बसेकाले समेत उचित मूल्य आएको भन्दै बजारमा शेयर सप्लाई बढाइदिँदा झन् धेरै प्रेसर बजारमा देखिन थालेको छ। “लकिङ पिरियड खुलेका केही कम्पनीका संस्थापक शेयरधनीले अहिले सबैभन्दा बढी शेयर बिक्री गरिरहेका छन्। यस अघि संस्थापक शेयर निक्कै कम आउने गरेकोमा अहिले शेयरको मूल्य बढेको भन्दै संस्थापकले समेत शेयरको सप्लाई बढाइदिएका छन्। जसले गर्दा अन्तिम समयमा शेयरको सप्लाई बढेको हो,” ती ब्रोकरले भने।

 

comments powered by Disqus

नेप्सेमा Falling Wedge Pattern: बुलिश सिग्नलको उदय

Sep 12, 2024 02:58 PM

हालै बजारमा FALSE Head and Shoulders जस्तो तर्साउने प्याटर्न देखिएपछि,नयाँ एक आशावादी प्याटर्न देखा परेको छ, जसलाई Falling Wedge प्याटर्न भनिन्छ। यो क्लासिक बुलिश (बजार उकालो जाने) प्याटर्न आशाको किरण मात्र होइन; यो आगामी बजारको माथिल्लो चालको संकेत पनि हो, साथै बजारमा लगानी गरेर उत्कृष्ट नाफा कमाउने अवसर पनि हो ।