Ipo.aspx merolagani - भारतीय चुनावको परिणाम, फलोअर्स ५६ लाख, भोट १५५ !

भारतीय चुनावको परिणाम, फलोअर्स ५६ लाख, भोट १५५ !

Nov 25, 2024 03:02 PM mero lagani

इन्स्ट्राग्राममा ५६ लाख, फेसबुक र एक्स (टुइटर)मा पनि त्यत्तिकै ठूलो संख्यामा ‘फलोवर्स’ र त्यसमध्ये झण्डै आधा स्थानीय, धुमधडाका तरिकाले प्रचार र समाजलाई नयाँ दिशामा अगाडि लैजाने आकर्षक नारा दिएका अभिनेता ! त्यति भएपछि कुनै सेलिब्रेटीले चुनाव नजित्ने कुरा आउंछ ?

‘पक्कै आउदैन । त्यस्ता अभिनेताले सजिलै चुनाव जित्छन्’—धेरैलाई यस्तै लाग्छ ।

तर, शनिबार सार्वजनिक भएको भारतको माहाराष्ट्र प्रान्तको चुनावी परिणामले ‘सामाजिक संजालको शक्ति’ माथि विश्वास गर्ने, भाइरल मोहबाट ग्रसित हुनेहरुलाई राम्रैसंग ‘ऐना’ देखाइदिएको छ । किनकी सामाजिक संजालमा त्यति धेरै लोकप्रिय अभिनेताले चुनावमा ल्याए—जम्मा १५५ भोट ।

त्यहीकारण चुनावको कारण भन्दा पनि चुनाव परिणाम सार्वजनिक भएपछि अभिनेता एजाज खान चर्चित भएका छन् । थुप्रै संचारमाध्यमहरुले उनको इन्स्ट्राग्राम फ्लोवर्सको संख्या र चुनावमा ल्याएको भोटको संख्यालाई लिएर हेडलाईन बनाएका छन्—फ्लोवर्स ५६ लाख, भोट १५५ ।

महाराष्ट्रको वर्साेवा निर्वाचन क्षेत्रबाट भाजपाका उम्मेद्वार डा. भारती लाभेकरलाई १६०० भोटले उछिन्दै शिवसेना (युविटी)का उम्मेद्वार हारुन खानले चुनाव जिते । खानले ६५,३९६ भोट ल्याए ।

 

तर, आजाद समाज पार्टीबाट चुनाव लडेका एजाज खानले केवल १५५ भोट ल्याए । ‘विगबोसिया एजाज खानले देखाइदिए समाजिक संजालले हल्ला गर्न सक्छ, भोट दिन सक्दैन भन्ने कुरा । उनी केवल आफ्नो निर्वाचन क्षेत्रको लागि मात्र होइन, सिंगो मुम्वई र महाराष्ट्रको लागि लज्जाको पात्र हुन्’ चुनाव परिणाम सार्वजनिक भएपछि भारतीय संचारमाध्यमहरुले एजाजलाई उडाउदै समाचार प्रकाशन र प्रशासन गरेका छन् । लोकप्रिय टेलिभिजन कार्यक्रम बिगबोसबाट नाम र दाम कमाएकोले उनलाई संचारमाध्यमहरुले ‘बिगबोसिया’ उम्मेद्वार भनेका हुन् ।

‘सामाजिक संजालमा हल्ला गर्नेहरु मतदाता हुँदैनन्, मतदाता भए पनि भोट दिंदैनन भन्ने कुराको पुष्टि समाजिक संजालमा एजाज खानले पाएको लोकिप्रियता र उनले पाएको भोट हो । त्यसैले सामाजिक संजाललाई हेरेर होइन, एजेण्डामा हेरेर राजनीति गर्नु जरुरी छ’ मुम्बईबाट प्रकाशित हुने समाचार संस्था न्यूज १८ ले चुनावि परिणाम सार्वजनिक भएपछि लेखेको समाचारमा उल्लेख छ ।

comments powered by Disqus