९४ वर्षीय बफेटले बर्कशायर ह्याथवेका शेयरधनीहरूलाई लेखेकाे पछिल्लो पत्रमा आफ्नो जीवनको अनिश्चिततामा गहन व्यक्तिगत विचार व्यक्त गरेका छन् । उनले मृत्यु पछि आफ्नो सम्पत्ति वितरणको लागि विस्तृत योजना समेत सार्वजनिक गरेका छन् ।
बफेटको पछिल्लो दान
बफेटले बर्कशायर ह्याथवेको एक हजार ६०० क्लास ए शेयरलाई २४ लाख क्लास बी शेयरमा रूपान्तरण गर्ने र यी चार पारिवारिक संस्थाहरूलाई वितरण गर्ने घोषणा गरेका छन्।
यी चार संस्थाहरूमा समावेश
सुसान थम्पसन बफेट फाउन्डेसन - १५ लाख शेयर
शेरवुड फाउन्डेसन - ३ लाख शेयर
हावर्ड जी. बफेट फाउन्डेसन - ३ लाख शेयर
नोभो फाउन्डेसन - ३ लाख शेयर
यी दानले बफेटको बर्कशायर क्लास ए शेयरको होल्डिङ्सलाई २ लाख ६ हजार ३६३ मा घटाउँछ । उनले २००६मा आफ्नो धेरैजसो सम्पत्ति दान दिने वाचा गरेका थिए । याे उनकाे वाचा पूरा गर्ने दिशातर्फकाे महत्त्वपूर्ण कदम हो। त्यो वाचापछि, उनले बर्कशायरमा आफ्नो शेयरको करिब ५७ प्रतिशत दान गरिसकेका छन्।
शेयरधनीहरूलाई लेखिएकाे पत्रमा जीवन र मृत्युको बारेमा बफेटकाे सल्लाह
उक्त पत्रमा, बफेटले जीवन र मृत्युसँग सम्बन्धित आफ्ना विचारहरू खुलेर व्यक्त गरेका छन्। "फादर टाइम" को अपरिहार्यता स्वीकार गर्नुकासाथै बफेटले आफ्नी प्रथम पत्नी सुसीको मृत्युको समय सम्झेका छन्। सुसीको २००४ मा निधन भएकाे थियाे।
बफेटले लेखेका छन्, "एक दम्पतीका रूपमा, हामीले सधैं उनी मभन्दा बढी बाँच्नेछिन् र हाम्राे सम्पत्तिकाे वितरण उनले निरीक्षण गर्नेमा विश्वास गर्यौं तर अवस्था परिवर्तन भयो।" बफेटले लेखे, "समयले सधैं जित्छ। आजसम्म म धेरै भाग्यशाली छु तर छिट्टै नै समय मसँगै हुनेछ।" बफेटले परोपकारमा आफ्नो सम्पत्तिको महत्त्वपूर्ण प्रभावमाथि हाइलाइट गर्दै उनको अहिलेसम्मको सबैभन्दा ठूलो दान करिब ४३ बिलियन डलर, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई दिइएको उल्लेख गरेका छन्।
बफेटको वसियतमा गरिएका परिवर्तनहरू
बफेटले आफ्नो मृत्यु पछि आफ्नो सम्पत्तिको बाँकी ९९.५ प्रतिशत कसरी बाँडिनेछ भन्ने स्पष्ट पार्न आफ्नो इच्छापत्र (वसियत) अद्यावधिक गरेका छन् । उनले आफ्ना तीन छोराछोरी सुसी, होवी र पिटरमाथि विश्वास गर्दै बर्कशायरमा आफ्नो होल्डिङ्सको क्रमिक वितरण सम्हाल्ने जिम्मेवारी दिएका छन्। यी अर्बपतिले पैतृक सम्पत्तिबाट जोगिने आफ्नो विश्वास व्यक्त गर्दै भने, "मैले कहिल्यै वंशबाट व्यवसाय चलाउने वा छोराछोरीलाई जागिरमा लगाउने योजना बनएकाे थिइन।" यद्यपि, बफेटले यति ठूलो रकमलाई प्रभावकारी रूपमा खर्च गर्ने चुनौतीहरूलाई स्वीकार गरे। यो सम्पत्ति वितरण गर्नका लागि आफ्ना सन्तानको जीवनकालभन्दा बढी समय लाग्न सक्ने पनि उनले बताए । यो समस्या समाधान गर्न, उनले तीन सम्भावित उत्तराधिकारी ट्रस्टीहरूकाे नाम लिएका छन्। बफेटको इच्छापत्रमा उनका सन्तानहरूले आफ्नो सम्पत्तिको बाँडफाँडका विषयमा सर्वसम्मतिले निर्णय लिनुपर्ने विशेष व्यवस्था गरिएकाे छ । उनले ठूलो मात्रामा परोपकारको व्यवस्थापनमा संलग्न जटिलता र जोखिमहरूमाथि हाइलाइट गर्दै यो व्याख्या गरेका छन् । महत्त्वपूर्ण रकम वितरण गर्नेहरूले चुनौती वा शोषणको सामना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उनले याे निर्णय गरेका हुन्।
आमाबाबुका लागि बफेटले त्यो सन्देश
बफेटले पत्रमा लेखेका छन्, "सुसीको मृत्यु भएपछि उनकाे सम्पत्ति करिब ३ बिलियन डलर थियो । यसको करिब ९६ प्रतिशत हाम्रो फाउन्डेसनमा गएको थियो। यसबाहेक, उनले (सुसी) हाम्रा प्रत्येक तीन सन्तानलाई १०मिलियन डलर छोडेकी छिन्। याे हाम्राेतर्फबाट हाम्रा सन्तानका लागि दिइएकाे हालसम्मकै ठुलाे उपहार थियाे ।"
याे इच्छापत्रले धनाढ्य आमाबुवाहरूले आफ्ना छोराछोरीलाई केही गर्नकालागि पर्याप्त सम्पत्ति छोड्नुपर्ने तर उनीहरूले केहि गर्नै नसक्ने गरी यति धेरै पनि छाेड्नुहुन्न भन्ने बफेट दम्पत्तिकाे विश्वास दर्शाउँछ। आफ्नो पत्रमा, बफेटले आमाबुवालाई आफ्ना छोराछोरीसँग उनीहरूको इच्छाका बारेमा खुलेर कुरा गर्न सल्लाह दिए। "जब तपाईंका छोराछोरीहरू हुर्किन्छन्, तिनीहरूलाई तपाईंको इच्छापत्र पढेर सुनाउनुहाेस् र त्यसपछि मात्र हस्ताक्षर गर्नुहोस्,"उनले लेखे। बच्चाहरूले उनीहरूको निर्णय पछाडिको कारणहरू बुझेका छन् र उनीहरू जिम्मेवारीको सामना गर्न सक्ने लागि तयार छन् भन्नेमा उनले परिवारहरूलाई सुनिश्चित हुन प्रोत्साहित पनि गरे।
एजेन्सीकाे सहयाेगमा।