चिनियाँ डिजिटल समाचार आउटलेट thepaper.cn ले नोभेम्बर २६मा लीक भएको बीवाईडीकाे इमेललाई उद्धृत गर्दै चिनियाँ इलेक्ट्रिक वाहन दिग्गज कम्पनीले एक अज्ञात आपूर्तिकर्तालाई जनवरी १ देखि आफ्नो मूल्य १० प्रतिशतले घटाउन आग्रह गरेको बताएकाे छ।
तर, अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार यो इमेलका बारेमा अझै पुष्टि भइसकेको छैन। यसको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो। यद्धपि,बीवाईडीले टिप्पणीको अनुरोधमा कुनै जवाफ दिएकाे छैन।
साेही क्रममा, बीवाईडीका एक अधिकारीले बुधबार आफ्नो भिबाे अकाउण्टमा चिनियाँ अटोमेकरले ठूलो मात्रामा खरिद गर्दा आपूर्तिकर्ताहरूको लागि मूल्य घटाउने लक्ष्यहरू निर्धारित गर्ने बताए । यसमा थप छलफल गर्न सकिने र याे अनिवार्य नभएकाे पनि उनले खुलाए।
बीवाईडीका ब्राण्ड र जनसम्पर्क विभागका महाप्रबन्धक ली युनफेईले आफ्नो पोस्टमा लेखे,"आपूर्तिकर्ताहरूसँग वार्षिक मूल्य वार्ता अटोमोटिभ उद्योगमा सामान्य अभ्यास हो"। तर उनले लीक भएका इमेलहरूका बारेमा भने उल्लेख गरेनन्।
विश्वको सबैभन्दा ठूलो अटोमोबाइल बजार चीनमा गत वर्ष टेस्लाले प्राइस वार सुरु गरेको थियाे । जसमा बीवाईडी निरन्तर छुट दिने कम्पनी बनेको छ। यो आक्रामक अडानले कम्पनीलाई आफ्नो अमेरिकी प्रतिद्वन्द्वीलाई विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन बिक्रेताको रूपमा उछिनेको छ। यद्यपि, बीवाईडीका अधिकांश कारहरू चीनमा नै बिक्री हुन्छन्।
उद्योग तथ्यांकका अनुसार पहिलो नौ महिनामा बीवाईडी १५.८ प्रतिशत समग्र बजार साझेदारीका साथ चीनको अटो बिक्री रैंकिङमा शीर्ष स्थानमा रहेकाे छ। यद्धपि, ईभी र प्लग-इन हाइब्रिडकाे बिक्री चीनको कुल बिक्रीको एक तिहाइ भन्दा बढी थियो।
गत वर्ष चीनमा फाेक्सवागनका दुई संयुक्त उद्यमहरूको संयुक्त बिक्री पछि बीवाईडीको बिक्री दोस्रो स्थानमा रहेकाे थियो।
चाइना सेक्युरिटीज जर्नल समाचार पत्रले प्रकाशित गरेको अर्काे समाचार रिपोर्टका अनुसार एसएआईसी मोटर(SAIC Motor)को म्याक्सस इकाईले पनि यस साता आफ्ना आपूर्तिकर्ताहरूलाई पत्र पठाएको छ। यसमा बजारमा प्राइस वार र अत्याधिक आपूर्तिसँग जुध्न लागत १० प्रतिशतले घटाउन सहयोग गर्न आग्रह गरिएको थियो । रिपोर्टका अनुसार एसएआईसीले रिपोर्टमा टिप्पणीका लागि गरिएकाे अनुरोधकाे तुरुन्तै कुनै प्रतिक्रिया दिएकाे थिएन ।
एजेन्सीकाे सहयाेगमा ।