तत्कालिन समयमा नेपाल बैंकको लागि नेपाल माल तथा ढुवानी अड्डा भनेर स्थापना भएको थियो । त्यसले ‘क्याटिभ बिजनेश’ गर्दथ्यो । त्यो नेपालमा बैकिङ सुरु भएको १० वर्षपछि स्थापना भएको हो ।
त्यसपछि राष्ट्रिय बीमा संस्थानको स्थापना भयो । यसलाई हामीले दोस्रो चरणको रूपमा लिने गरेका छौं । त्यसपछि निजी क्षेत्रका बीमा कम्पनीहरूलाई स्थापना गर्न दिइयो । त्यसलाई तेस्रो चरण भन्ने गरेका छौं । यो चरणमा नेशनल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरू खुले । चोथौ चरण तीन चार वर्ष अघि लाइसेन्स पाएका कम्पनीलाई लिने गरेका छौं । यसरी हामीले नेपालको बीमाको विकासलाई हेर्ने गरेका छौं ।
काम गर्ने तौरतरिका उस्तै
बीमा कम्पनीहरूले काम गर्ने तौरतरिकामा तात्विक फरक केही पनि छैन । ती सबैले एउटै किसिमको ‘प्रोडक्ट सेल’ गर्छन् । म त तीनवटा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नै भएँ । मैले दुई कार्यकाल करिव ९ वर्ष एनएलजी इन्स्योरेन्समा पनि काम गरे । नेपाल इन्स्योरेन्समा एक कार्यकाल काम गरे । जुन इन्स्योरेन्स नेपालको पहिलो इन्स्योरेन्स कम्पनी हो । हिमालयन एभरेष्ट बीमा कम्पनीमा काम गरेर म भर्खरै त्यहाँ छोडेको अवस्था हो ।
मैरो निजी र सरकारी बीमा कम्पनीमा काम गरेको लामो अनुभव छ । त्यो अनुभवका आधारमा सरकारी लगानीमा र निजी क्षेत्रबाट स्थापना भएका कम्पनीको ‘प्रोडक्ट सेल’ गर्ने तौरतरिकामा खासै फरक छैन । निजी क्षेत्रबाट स्थापना भएका इन्स्योरेन्स कम्पनीले सेवाग्राहीलाई उच्चतम सेवा दिन्छौ । लगानीकर्तालाई उच्चतम प्रतिफल दिने दिन्छौैं भनेर स्थापना भएका निजी बीमा कम्पनीहरूको काम गर्ने तौरतरिका सरकारी स्वामित्वमा स्थापना भएका इन्स्योरेन्स कम्पनीको भन्दा खासै फरक छैन ।
किन फरक हुन सकेन ?
हाम्रा सबै इन्स्योरेन्स कम्पनीले ‘टे«डिसनल मेथड’ लाई नै ‘फलो’ गरेका छन् । त्यहा ‘प्रोडक्ट’ को बारेमा नयाँ ‘इनोभेसन’ छैन । त्यहाँ विवरणको बारेमा नयाँपन छैन । ‘डिजिटलाइजेशन’का बारेमा त्यस्तो ठूलो प्राथमिकतामा आजका दिनसम्म अगाडि सारेको अवस्था छैन । नयाँ तरिकाका काम हुन नसकेपछि सबै बीमा कम्पनी एउटै गतिमा चलेका छन् । सबै बीमा कम्पनीको एउटै किसिमको विकास भएको छ ।
अब पनि बीमा कम्पनीहरूले नयाँ ‘प्रोडक्ट’ आएनन् र ती नयाँ ‘प्रोडक्ट’लाई उचित तरिकाले वितरण गरेनन भने पछि पर्न सक्छन् । बीमा कम्पनीहरूले सेवाग्राहीको आवश्यकता अनुसारका ‘प्रोडक्ट’ ल्याएनन भने पछि पर्ने अवस्था आउन सक्ने सम्भावना अब देखिएको छ । सेवाग्राहीको आवश्यकता अनुसार जुन बीमा कम्पनी अगाडि आउँछ, त्यसैले नेतृत्व गर्ने सम्भावना मैले देखेको छु । अरु व्यवसायमा जस्तै बीमा कम्पनीहरूले पनि ग्राहकको चाहना अनुसार व्यवसाय विस्तार गर्नु पर्छ । जसले नयाँ प्राविधि अनुकूलको काम गर्दै जान्छ उही बीमा कम्पनीले ‘लिड’ गर्छ, अरु बीमा कम्पनीहरू पछि पर्दै जाने छन् ।
कति चाहिन्छ पुँजी ?
नयाँ परिवेश अनुसारको काम गर्नका लागि पुँजीको आवश्यकता पनि पर्छ । आजको दिनसम्म जीवन र निर्जीवन बीमा कम्पनी दुबैको जुन पुँजी छ, त्यो पर्याप्त छ । ५ अर्ब र २ अर्ब ५० करोड चुक्ता पुँजीी भनेको हाम्रो देशमा चानचुने रकम होइन । त्यसबाहेक सेयरधनीको फन्डमा पुँजी मात्रै हुँदैन, सेयरधनीको फन्ड हुन्छ । सेयर क्यापिटल हुन्छ । अवितरित नाफा हुन्छ । नियामक निकायले तोकेका विभिन्न किसिमका ‘रिजर्भ फन्ड’हरू हुन्छन् ।
२ अर्ब ५० करोडका चुक्ता पुँजी भएका निर्जीवन बीमा कम्पनीहरूको पनि ५ अर्बसम्म रकम हुन्छ । जीवन बीमा कम्पनीको हकमा त त्यो अझ ठूलो छ । आजका दिनमा बीमा कम्पनीमा थोरै धेरै ‘टेक्निकल मेनपावर’ छन् । नयाँ पिढीमा केही सिकौैं भन्ने अपेक्षा छ । त्यति हुँदा हुँदै पनि नयाँ पिँढीलाई नयाँ प्रविधिको साथ छ ।
हाम्रो पालामा त ‘डिस्नेरी’ पनि मानिसका हातमा हुन्थे । आज त हात हातमा मोवाइल छन् । गुगल गर्न सक्छन् । नयाँ प्रविधिको माध्यमबाट समाधानका उपाय खोज्न सकिन्छ ।
अहिलेको चुनौती
नयाँ प्रविधिलाई प्रयोग गरेर ग्राहकमाझ बीमाको जानकारी कसरी पु¥याउने र बीमा गराउने भन्ने चुनौती अहिले छ । अब बीमा गर्ने मान्छे बीमा कम्पनीको ढोका ढोका जानु पर्दैन । प्रविधिको सहायताले आफू बसेको ठाँउबाट बीमा गर्न सक्छन् । आफू बसेकै ठाँउबाट भुक्तानी दिन्छन् । कथम कदाचित नोक्सानी भयो भने आफू भएकै ठाउँबाट जे घटना भएको छ, त्यो घटनाको तथ्य सहित बीमा कम्पनीलाई जानकारी गराउँछन् । बीमा कम्पनीहरूले पनि त्यही अनुसार समस्याको समाधान गर्छन् ।
प्रविधिमा लगानी
अब बीमा कम्पनीहरूले नयाँ प्रविधि भित्र्याउन लगानी गर्नुपर्छ । प्रविधिले नै समस्याको पहिचान गर्छ । विश्वका अरु देशमा नयाँ प्राविधिको प्रयोग भइरहेको छ । नेपालका बीमा कम्पनीले पनि त्यस्तो नयाँ प्रविधिलाई कसरी आत्मसाथ गर्छन ? जति राम्रोसँग आत्मसाथ गर्न सके त्यति ‘सर्भाइव’ हुने हो । होइन भने नयाँ प्रविधिको अरु कसैले उपयोग गर्छ । त्यसको फाइदा पनि त्यसैले लिन्छ ।
अब धेरै छिटो सूचना चाहिन्छ । सूचनाका लागि पनि प्रविधिको भर नपरी हुँदैन् । हिजोका दिनसम्म बीमा कम्पनीले दुई किसिमले रिपोटिङ गर्थे । एउटा बीमा प्राधिकारणले तोकेको ‘फरम्याट’ अनुसारबाट रिर्पोिटङ हुन्थ्यो । अर्को चाँहि एनएफआरएस अनुसार हुन्थ्यो ।
अब बीमा प्राधिकरणले आइएफआरएस १७ लागू गर्ने भनेर बीमा कम्पनीहरूलाई तयार गरेको अवस्था छ । आइएफआरएस १७ ले प्रत्येक ‘ट्रान्जेक्सन’लाई एक्चुरियल दृष्टिकोणबाट हेर्छ । भोलिको दिनमा त्यसमा पर्न सक्ने दायित्व कति हो ? पर्न सक्ने दावी कति हो ?
लगानी छ भने पनि त्यसले ‘रिटर्न’ दिने कति हो ? प्रत्येकमा एक्चुरियल दृष्टिकोणबाट हेर्ने भएको हुनाले हिजोको जस्तो ‘क्यालकुलेटर’ मा बसेर हिसाब निकालेर मेरो नाफा नोक्सान यति हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।
त्यसैले प्रविधिले बीमा कम्पनीमा मात्रै होइन अरु कम्पनीमा पनि प्रविधिको हावी हुन्छ । प्रविधि सबैभन्दा माथि रहन्छ ।
एआईको प्रयोग
प्रत्येक व्यापारमा अहिले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग भएको छ । कतिपय प्रक्रियाहरूलाई मानिसले होइन मेसिनले प्रतिस्थापन गरेको छ । बीमा व्यवसायमा एआई लागू हुने क्रममा छ । बीमा व्यवसाय २४ सैं घन्टा खुला राख्नु पर्छ । हाम्रो नियामक निकायले राष्ट्र बैंकको क्यालेन्डर फलो किन गराउँछ ? सरकारले सार्वजनिक बिदा दिएको दिन बीमा कम्पनीलाई पनि बिदा दिने काम किन गर्छ, त्यो मैले बुझ्न सकेको छैन ।बीमा त २४ सैं घन्टा ३६५ दिन नै चाहिने चिज हो नि ?
बीमा पोलिसीहरू दिउँसो सुरु भएर रातीको १२ बजे समाप्त हुन्छन् । रातीको ११ बजे बीमा पोलिसी किन्छु भन्नेले किन किन्न नपाउने ? किन उसले दुई अगाडि किन्नु पर्ने ? आजका दिनमा कसैले पनि यस्तो प्रश्न गरेका छैनन् । बीमा पोलिसी र अन्य टिडिएस कामहरूमा एआईको प्रयोगको ठूलो सम्भावना देख्छु । प्रविधिले अब डोप्याउने काम गर्छ ।
बीमाको क्लेम प्रक्रिया, बिमको सेवा विस्तार, डाँटाहरू एलालाइस, २४ सैं घन्टा सेवा दिने कार्यमा एआईको प्रयोगको आवश्यकता देखेको छु ।
बीमाको सचेतना
नेपालमा बीमाको सचेतना छैन भन्ने गरिन्छ । मेरो १६–१७ वर्ष कार्यकारी अधिकृत भएको अनुभवको आधारमा नेपाली बिमितहरूलाई दुई तरिकामा बिभाजित गर्छु ।
एकथरीका कतिपय बीमा सम्बन्धी ज्ञान नभएका तर बीमा गरिरहेका छन् । ऋण लगेका होला अरु केही गरेको छ भने उसलाई बाध्यात्मक छ जग्गाको तिरो तिरेजस्तो बीमा गरेर पैसा तिरेको तिरै छ । अर्को मैले कस्तो पनि पाए भन्दा अति जान्ने । बीमालाई जोखिम बाडँफाँड होइन कि नाफा कमाउने औजारको रूपमा पनि लिने मानिसहरू पनि पाए । अति जान्नेले बीमालाई नाफा कमाउने रूपमा पनि लगेका छन् । अर्कोचाँहि कति पनि थाहा नपाएको ।
आजको दिनमा पनि बीमा जसलाई अत्यधिक आवश्यकता छ, त्यसकोमा पुग्न सकेको छैन । जसले अलिकति नोक्सान भयो थेग्न सक्छ भन्नेकोमा बीमा पुगेको छ । शहर वा शहर नजिकका बीमाका प्रतिनिधि पुग्ने ठाँउमा बीमा पुगेको छ । तर, जसलाई बीमाको आवश्यता छ, बीमा भएन र केही भवितब्य भयो भने फेरि आफ्नो जीवन पुनस्थापना गर्नका लागि आवश्यक पर्छ । ती व्यक्ति माझ बीमा पुग्न सकेको छैन । ती मानिसहरू बीमाबाट बन्चित छन् ।
बीमा कम्पनी त्यहा पुग्नु पर्छ । बीमा कम्पनीका प्रतिनिधि त्यहा पुग्दा लागत र आम्दानीको कुरा हुन्छ । हिडेरै जान पनि नसक्ला । प्रविधिको प्रयोग भयो भने त्यहाका मानिसहरूले बीमाको सुविधा पाउँछन् ।
म एकपटक कर्णालीको चौरजहारीमा कार्यक्रमा सहभागी भएको थिए । त्यहा धेरै जनाको सहभागिता थियो । बीमाको प्रतिनिधि जादा खर्च बढी हुन्छ भनेर त्यहा प्रविधिकहरूमा नक्सांकन गछौं । सेटेलाईटबाट फोटो खिच्छौं, यति घर छन् भनेर नम्बरिङ गरिदिन्छौं । त्यसपछि हामीले मूल्यांकन गछौं र बीमा गछौं । भोलिको दिनमा बाढी पहिरो वा अन्य प्रकृतिक प्रकोपले नोक्सान भयो भने हामीसँग तस्विरहरू हुन्छन् र त्यसको आधारमा मेसिनले नै गन्छ । त्यसरी गन्दा यो काल्पनिक होइन यर्थाथ हो भने पनि हामीले तिर्छौ भनेर एक चरणमा कुराकानी भएको थियो । तर, अहिलेसम्म कसैले त्यो काम गरेको छैन ।
त्यसकारण सरकार पनि दीर्घकालिन सोचाई राखेर अगाडि बढ्नु पर्यो । सरकारले पनि अग्रगामी सोच राखि दिनु पर्यो । अलिकति व्यवसायीहरूले पनि त्यसमा लगानी गर्यो भने त्यहाँ बीमा गर्न सकिन्थ्यो । यो त मैले उदाहरणका लागि चौरजहारी भनेको हुँ । यसैपाली आएको बाढी पहिरोले त्यत्रो नोक्सान गर्यो । कतिपय मानिस घरवारविहीन हुन पुगे । ती मनिसलाई आफू पुरानो अवस्थामा फर्किन समय लाग्छ । तीनीहरू ४–५ वर्ष पछाडि धकेलिए ।
सानो रकम ३–५ हजार रूपैयाँ बीमा शुल्क तिरेको भए तीनीहरूको नोक्सानी बीमा कम्पनीले बेहोथ्र्यो । एक करोडको घर भएकाले ५ हजार तिरेको भए हुन्थ्यो । त्यो रकम तिर्न त एउटा भाले बेच्यौैं भने पुग्थ्यो । अरु केही गर्ने पदैनथ्यो । बीमा गर्न एउटा भाले बेच्यो भने पुग्थ्यो । त्यो दिन दिनै तिर्ने पनि होइन् । बीमा गरेको भए चिन्ता मुक्त हुन्थे ।
बीमाको पहुँच
बीमाको पहुँच पुर्याउन र बिमितलाई खुशी पार्नका लागि पनि प्राविधिको ठूलो हात रहन्छ । त्यसका लागि केही लगानी पनि चाहियो । अबको भविष्य नै प्रविधिको उचित प्रयोग हो । अब हिजोका दिनमा जस्तो ५ सय शाखा खोल्छु, ५ सय कर्मचारी राख्छु भनेर मात्रै हुँदैन् । परम्परागत रूपमा त्यसरी नै भइराखेको हो । तर, अब चाँहि पुरानो परम्परा पुरानै भइसक्यो । नयाँ प्रविधिको प्रयोग गरेर बीमा नपुगेको ठाँउमा सहजै पुर्याउन सकिन्छ ।
नयाँ प्रविधि प्रयोगका लागि बीमा प्राधिकरणले पनि अलिकति जोड दियो भने बीमाको पहुँच पुर्याउन सहज हुन्छ । बीमा प्राधिकरणले पनि परम्परागत रूपमा नै शाखा, उपशाखा खोल भन्न थाल्यो भने बिमितलाई फाइदा पुर्याउनेमा मलाई शंका छ ।
व्यापार विस्तार देश बाहिर
अहिलेसम्म स्वदेशी घेरामा मात्रै बीमा व्यवसाय गरिरहेका छन् । रिइन्स्योरेन्स कम्पनीले स्वदेशमा मात्रै होइन विदेशमा पनि बीमा व्यवसाय गर्न थालेका छन् । साफ्टा लगायतका बिभिन्न देश सम्मिलित संस्था छन् । ती देशहरूमा पनि बीमा कम्पनीले व्यापार गर्नुपर्छ । अहिले नै त्यो सम्भव नभएपनि त्यतातर्फ पनि सोच्नु पर्ने बेला भइसकेको छ । सुरुमा रि इन्स्योरेन्स कम्पनीले व्यापार गर्ने र विस्तारै अरु बीमा कम्पनीले पनि विदेशमा बीमा व्यवसाय विस्तार गर्नु पर्दछ ।
बीमा व्यवसाय सामाजिक उद्योग
बीमा व्यवसायलाई सामाजिक उद्योगको रूपमा पनि लिइन्छ । बीमाले समाजका लागि पनि केही गरिरहेको हुन्छ । सामाजिक उद्योग मात्रै भन्यौ भने व्यवसाय फस्टाउँदैनन् । त्यसमा रहेका जोखिमहरू हस्तान्त्रण हुँदैनन् । यद्यपि बीमा कम्पनी धेरै नाफा कमाउने उद्योग पनि होइन । बीमा कम्पनी सञ्चालन गर्नका लागि धेरै प्रोभिजन बीमा प्राधिकरणले तोकिदिएको छ । धेरै कमाए भने भने पनि सबै बाँडने काम बीमा कम्पनीले गर्दैनन् । अप्ठ्यारो परेको बेलामा तिर्नका लागि धेरै कोषमा रकम राखेका हुन्छन् । नियमकीय प्रावधानले गर्दा पनि बीमा कम्पनीले बिभिन्न कोषमा रकम राख्नु पर्ने हुन्छ ।
यति हुँदा हुँदै पनि शेयरधनीलाई नाफा खोज्छन् । अरु क्षेत्रमा लगानी गर्दा नाफा पाउने तर बीमा कम्पनीमा लगानी गर्दा नाफा नपाउने अवस्था आयो भने यो क्षेत्रले थप लगानी पाउँदैन् । बीमा कम्पनीले अरु कम्पनी जस्तै शिक्षा, स्वास्थ्य, पर्यटन, होटल, जलविद्युत, बैंकलगायतका उद्योगमा लगानी गर्नुपर्छ । ताकि उनीहरूले ति क्षेत्रमा लगानी गर्दा नाफा होस् र त्यो नाफा सेयरधनीलाई वितरण गर्न सकुन् ।
बीमा कम्पनीहरू इन्भेष्टमेन्ट कम्पनी भएर पनि आउनुपर्छ । यतातिर बीमा कम्पनीहरू गइरहेका छन् । नयाँ प्रविधिको प्रयोग गरेर आजका दिनमा पँहुच नपुगेको ठाँउमा पहुँच पु¥याउने तर्फ पनि बीमा कम्पनी लाग्नुपर्छ ।
बीमाको भविष्य
हिजोको दिनमा जसरी बीमा भएको थियो, अबको दिनमा त्यो भन्दा फरक ढंगबाट बीमा हुन्छ । औषधि र बीमा उस्तै हुनुपर्छ । हिजोका दिनमा औषधि लिन औषधि पसलमा नै जानु पर्दथ्यो । आजका दिनमा औषधि पसलेले औषधि घरमा पनि ल्याइदिन्छन् । औषधिको वितरणमा ठूलो परिवर्तन भएको छ ।
बीमामा पनि त्यस्तै परिवर्तन हुनु जरुरी छ । भोलिका दिनमा पनि बीमा गर्न कार्यालय वा शाखामै जानु पर्ने ? अब त्यो हुँदैन । त्यसैले बीमा कम्पनी मात्रै होइन अरु कम्पनीहरू पनि ग्राहकको घर दैलोमा पुग्नुपर्छ । बीमा व्यवसायमा धेरै प्रविधिको प्रयोग हुनु पर्ने मैले देखिरहेको छु ।
(स्रोतः अर्थनीति)