Ipo.aspx merolagani - सनसनीपूर्ण खेलमा विराटनगरको पहिलो जित

सनसनीपूर्ण खेलमा विराटनगरको पहिलो जित

Dec 04, 2024 04:44 PM mero lagani

ओपनर लोकेश बमले विस्फोटक ब्याटिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ।

सन्दिप लामिछाने नेतृत्वको विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै सनसनीपूर्ण जित निकालेको हो।

विराटनगरले खेलेको तेस्रो खेलमा यो पहिलो जित हो। एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारे पनि हारबाट जोगिन सकेन । लुम्बिनीले भने पहिलो खेलमै हार भोगेको छ।

लुम्बिनीले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। विराटनगरका ओपनर लोकेश बम ४७ बलमा ३ चौका र ५ छक्का हान्दै ७१ रनमा आउट भए । मार्टिन गुप्टिल २८ रन बनाउँदा दुर्गेस गुप्ताको बलमा बोल्ड आउट भए। बसिर अहमद ४० रन बनाउँदा क्याच आउट हुन पुगे। प्रतिस जिसी ६ रनमा आउट भए।

लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट लिए। साद विन जफर र रामोन सिमोन्डले समान दुई र विवेक यादवले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रनको बिशाल योगफल तयार पारेको थियो।

यसअघि सुदूरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रनको विशाल योगफल तयार पारेको थियो।

कप्तान रोहित पौडेलले बनाएको ४६ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो।

कप्तान रोहितले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा राजेश पुलामीको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाएका टम मोर्स रन आउट भए।

ओपनर आशुतोष घिरैया १५ रन बनाउँदै रन आउट भए। अर्जुन साउद १७ रनमा इस्मत आलको बलमा बोल्ड आउट भए। सन्दीप जोरा १२ रनमा रनआउट हुन पुगे।

साद विन जफर १५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मार्टिन गुप्टिलको हातबाट क्याच आउट भए। वेन कटिङ ६ रनमा रनआउट भए।

विवेक यादव १९ र रेमोन सिमोन्ड २ रनमा अविजित रहे। लुम्बिनीका चार खेलाडी रन आउट भए।

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए।

comments powered by Disqus