तर, उनले आफ्नो मान्यतामा जसरी चट्टानी अडान राखेकी छन्, त्यसले देशका सबैभन्दा ठूला दुई पार्टीका नेताहरुको दिमाग खराब गरिदिएको मात्र छैन, बलियो भनिएको दुई तिहाईको सरकारको ‘हैसियत’ पनि देखाइदिएको छ ।
सबैभन्दा ठूलो कुरा ‘परिआएको बेला’हरुले कतिसम्म अडान लिन सक्दा रहेछन् भन्ने पनि देखाइदिएको छ ।
उनी अर्थात् नेपाल राष्ट्र वैंककी कायम मुकायम गभर्नर डा.निलम ढुंगाना तिमल्सिना । नेपाल राष्ट्र वैंकको पहिलो महिला डेपुटी गभर्नर बनेकी उनी महाप्रसाद अधिकारीको बहिर्गमन पछि स्वभाविकरुपमा गभर्नरको दावेदार थिइन, हुन् । तर, डेपुटी गभर्नर हुँदैमा गभर्नर हुने भन्ने निश्चित हुँदैन । कायम मुकायम गभर्नर भएर नोटमा हस्ताक्षर गर्दा पनि गभर्नर हुन नपाएका कृष्णबहादुर मानन्धर हुन् कि आफू वरिष्ठ डेपुटी गभर्नर हुंदा हुँदै कनिष्ठ डेपुटी गभर्नरलाई गभर्नर बनाइएपछि राजिनामा दिएका डा.हरिहरदेव पन्तदेखि गोपाल काफ्लेहरुको उदाहरण हेर्ने हो भने वरिष्ठ डेपुटी हुनुको अर्थ ‘गभर्नर कन्फर्म’ भन्ने होइन भन्ने कुरा डा.तिमल्सिना जस्तो चतुर व्यक्तिले नबुझ्ने कुरै छैन ।

तर, उनले कायम मुकायम गभर्नर हुनुको फाइदा उठाउंदै गभर्नरमा आफ्ना प्रतिस्पर्धी मानिएका डा.गुणाकर भट्ट र डा.प्रकाश श्रेष्ठको राजिनामा ‘पेण्डिङ’मा राखिदिएर सरकार र सत्ता गठवन्धनलाई जसरी हायलकायल पारिरहेकी छन्, त्यसलाई नेपालको अर्थ राजनीतिक क्षेत्रमा ‘नारी शक्तिको हुँकार’ भन्दा फरक पर्दैन । त्यस्तो हुँकार नेपालको बैक तथा वित्तीय क्षेत्रमा मात्र होइन, समग्र आर्थिक क्षेत्रमै यस कहिल्यै देखिएको थिएन, सुनिएको थिएन ।
बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा प्रध्यापन गर्दा गर्दै २०५४ मङ्सिर २२ गते सहायक निर्देशकको रूपमा बैंक सेवामा प्रवेश गरेकी डा.तिम्सिना २०६० मा उप–निर्देशक, २०६६ मा निर्देशक हुँदै २०७४ मा कार्यकारी निर्देशक र ०७८मा डेपुटी गभर्नर बनेकी थिइन । संयोग नै मान्नु पर्छ बमबहादुर मिश्र महेन्द्र मोरङ क्याम्पसको स्नातक तहमा उनका विधार्थी थिए, जो तिमल्सिना भन्दा ५ वर्ष पछि २०५९ सालमा राष्ट्रवैंकमा प्रवेश गरेर उनीसंगै डेपुटी गभर्नर बने ।
आफ्नै विद्यार्थी त्यसमाथि ५ वर्ष जुनियर र आफू भन्दा सिनियर महाप्रसाद अधिकारीको विचमा रहेर काम गर्न तिमल्सिनालाई कुनै गाह्रो भएको थिएन । डेपुटी गभर्नरको रुपमा हैसियत उस्तै भए पनि गुरुमा—शिष्यको भावनात्मक सम्वन्धको कारण मिश्र तिमल्सिनाको छायाँमा सधै परिरहे । अहिले उनी गभर्नरको दौडमा सामेल नहुनुमा सायद त्यहीकारण हो ।
माइती कांग्रेस भएर पनि घर परिवार ‘कालो एमाले’ हुनु मात्रै होइन, राष्ट्रवैंक भित्रकै ‘क्यारियरवाला पिएचडी होल्डर’ महिला, त्यसमाथि झापाली हुनुको कारण पनि उनी स्वभाविक दावेदार हुन् भन्नेमा शंका छैन । उनलाई प्रधानमन्त्री केपी ओलीको साथै उनका आर्थिक सल्लाहकार तथा गभर्नर रहिसकेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले समेत गभर्नर बनाउने आश्वासन दिंदै आएका थिए । उनीहरुले सत्ता साझेदार नेपाली कांग्रेससंग उनलाई गभर्नर बनाउन अधिकतम प्रयास गरेका थिए (शायद अझै गरिरहेका छन्) तर नेपाली कांग्रेसका नेताहरु खास गरि सभापति शेरवहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्र मन्त्री डा. आरजु राणा तिमल्सिनाको नाममा सहमत हुन सकेका छैनन् । खासगरि राणाले तिमल्सिनाको नाममाथि आपत्ती जनाउनुलाई ‘महिलाको शत्रु पुरुष होइन, महिला नै हुन्छन्’ नेपाली लोकोक्तिलाई पुर्नपुष्टि गरेको छ ।