बिहीबार नेप्से परिसूचक ८.४१ अंक घटेर २६११.८५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ७८ हजार ४९३ पटकको कारोबारमा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ७४ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५७ रुपैयाँ ८० पैसा बढेर ६३६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेकाे छ भने बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.६५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड १९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको करिब साढे ३३ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.९१ प्रतिशत बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।