Ipo.aspx merolagani - विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Jul 02, 2025 10:59 AM Merolagani

विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते), बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ करोड ५४ लाख रुपैयाँबराबरको ४४ लाख ५४ हजार ५८६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ३ लाख ५४ हजार ५५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख ७७ हजार २७५ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको २९ करोड ४२ लाख ७६ हजार रुपैयाँबराबरको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आज अर्थात असार १८ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असार ३२ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार २ लाख ९४ हजार २७६ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।

औषत जोखिम जनाउने रेटिङ्ग

साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेड, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

इक्रा नेपालले कम्पनीलाई २०८१ फागुन २ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ माघ १४ गतेसम्म रहनेछ।

कस्तो कम्पनी हो?

नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने हेतुले निजी क्षेत्रका उद्यमीहरु मिलेर २०७३ माघ २६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा विकाश हाइड्रोपावर कम्पनीको नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो। कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने हेतुले २०७९ जेठ २५ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई विकाश हाइड्रोपावर कम्पनी लिमिटडको नाममा कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो। कम्पनीले आफ्नो आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्दा ‘टेक एण्ड पे’ प्रावधानमा आधारित भई गरिएको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं ३ मा रहेको छ। आवश्यक परेको खण्डमा सम्बन्धित निकायमा आवश्यकतानुसार स्वीकृती लिई अन्य ठाउँमा पनि शाखा कार्यालय खोल्न सक्नेछ। यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र गोरखा जिल्लाको धार्चे गाउंपालिका ४ (साविवको लाप्राक र गुम्दा गा.वि.स मा) रहेको छ।

हाल यस कम्पनीमा २०५ जना संस्थापक शेयरधनीहरु रहेका छन्। यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत÷उर्जा, बैंक÷वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र, निर्माण, परामर्श एवं व्यापार÷व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका व्यक्तित्वहरु रहेका छन्।

कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच २०७५ साउन १५ गत भएको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना ४.५५ मे.वा. को विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तथा सो सम्झौता अनुसार व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०८० असार ३० गते रहेता पनि आयोजनाले २०७९ फागुन १७ गतेदेखि व्यापारीक उत्पादन सुरु गरी हाल विद्युत उत्पादन गरिरहेको छ।

कम्पनीले निर्माण गरी सञ्चालन गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख ४६ हजार ३७७ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार ४३५ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ९ महिना बाँकी रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रवन्ध–पत्रमा जारी पूँजीको ४९ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान रहेको र बिद्युत उत्पादन अनुमतिपत्रमा बढीमा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई बिक्री गर्नुपर्ने प्रावधान रहेकोले ति प्रावधान अनुरुप आईपीओ जारी गरेको हो। त्यसैगरी, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र बैकबाट लिईएको कर्जा र कम्पनीले भुक्तान गर्न तथा बाँकी अन्य दायित्व भुक्तान गर्न आईपीओ जारी गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

आईपीओ निष्काशनबाट संकलन भएको ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ कम्पनीले देहाय बमोजिम प्रयोग गर्नेछः

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा १ करोड २८ लाख ६ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा १ करोड १९ लाख २८ हजार रुपैयाँ ऋणात्मक थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा थियो भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४ करोड १३ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ५५ पैसा र प्रतिशेयर आम्दानी ६ रुपैयाँ १८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्थाअनुसार ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुबाट निर्वाचित ३ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित ३ जना रहने व्यवस्था रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा खगेन्द्र न्यौपाने रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकमा कृष्ण प्रसाद घिमिरे, सरोज धिताल, राज कुमार गुरुङ, अनिता थाप ढकाल र सुनिल श्रेष्ठ रहेका छन् भने स्वतन्त्र सञ्चालकमा उत्तम अधिकारी रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत उत्पादन, प्रसारण तथा वितरण र अन्य जलविद्युत कम्पनीहरुमा लगानी गरी नेपालको जलविद्युत विकाशमा १० वर्ष भित्र एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। सोहि उद्देश्य अनुरुप २ वर्ष भित्रमा यस कम्पनीले सम्भाव्य नयाँ जलविद्युत आयोजनाहरुको अध्ययन गरी त्यस्ता आयोजनाहरुको विकाश गर्ने तथा उपयुक्त नयाँ आयोजनाहरुमा लगानी गर्नेछ।

आयोजनाको अवधिभर यस कम्पनीले प्रचलित नियम कानूनमा भएको व्यवस्थाको अधिनमा रही देशमा रहेको जलश्रोतको अधिकतम उपयोगबाट विद्युत उत्पादन गर्ने र सो विद्युतलाई बिक्री वितरण गर्ने रहेको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९७ रुपैयाँ ४३ पैसादेखि २९२ रुपैयाँ २९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।

comments powered by Disqus

भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।