Ipo.aspx merolagani - वित्तीय विवरणलाई दोस्रो बजारले ‘इन्टरटेन' गर्न छोड्यो, विवरण आएपछि शेयर मूल्य घट्ने ट्रेन्ड बढ्दै

वित्तीय विवरणलाई दोस्रो बजारले ‘इन्टरटेन' गर्न छोड्यो, विवरण आएपछि शेयर मूल्य घट्ने ट्रेन्ड बढ्दै

Aug 13, 2025 05:51 AM Merolagani

सुवास निरौला

कुनै पनि लगानीकर्ताले दोस्रो बजार प्रवेश गर्नु पूर्व सूचीकृत कम्पनीको वित्तीय विवरणलाई बुझ्न सक्नु पर्ने पहिलो सर्त हुने गर्छ। राम्रो वित्तीय विवरण भएका कम्पनीमा लगानी गरे त्यसले मुनाफा दिन्छ भन्ने मान्यता हुने गर्छ।

नेपाली शेयर बजारमा केही वर्ष अघिसम्म यस कम्पनीले यस्तो विवरण प्रकाशित गर्दै छ, भन्ने सूचनाकै आधारमा त्यस कम्पनीको मूल्य पहिले नै माथि जाने गर्थ्यो। अझै राम्रो विवरण प्रकाशित भएको दिन उक्त कम्पनीको मूल्य उचालिने गर्थ्यो।

तर अहिले भने कम्पनीको वित्तीय विवरण कस्तो आउँछ भन्ने वास्ता हुन छाडेको छ। अझै जति सुकै राम्रो विवरण प्रकाशित भएपनि त्यसलाई बजारले खासै वास्ता गर्दैन। पछिल्लो समय सूचीकृत धेरै कम्पनीले निक्कै राम्रा विवरण प्रकाशित गरिरहेका छन्। तर जति राम्रो विवरण आए पनि कम्पनीको शेयर मूल्य भने घट्दो अवस्थामा देखिएका छन्। जबकि राम्रो वित्तीय विवरण प्रकाशित गरेका कम्पनीको मूल्य थोरै भएपनि बढ्नु पर्ने हो। तर अहिले दोस्रो बजारले उल्टो 'रियाक्ट' गरिरहेको छ। वित्तीय विवरणलाई दोस्रो बजारले पुरै 'इगनोर' गर्न थालेको छ।

वित्तीय विवरणप्रति लगानीकर्ताको आकर्षण घट्दै जानुलाई दोस्रो बजारमा गम्भीरतापूर्वक हेर्न थालिएको छ। अझै वित्तीय विवरणकै आधारमा शेयर मूल्य बढ्ने क्रममा पुरै ब्रेक लागेको छ। पछिल्लो केही दिनयता शेयर बजार घट्दो क्रममा देखिएको छ। तर यही बीचमा सूचीकृत कम्पनीहरूले चौथो त्रैमासको विवरण सार्वजनिक गरिरहेका छन्। बजार घट्दो क्रममा देखिए पनि राम्रो विवरण आएको कम्पनीको शेयर मूल्य बढ्नु पर्ने हो। तर त्यस्तो हुन सकेको छैन्।

खासगरि अहिले सूचीकृत कम्पनीहरूको नाफा प्राकृतिक रुपमा बढ्ने घट्ने भन्दा पनि नियामकीय प्रावधानका कारण घट/बढ हुने क्रम बढी देखिन थालेको छ। नियामक निकायले कसिलो नीति लिए नाफा घट्ने र अलि उदार नीति लिए बढ्ने गरेको छ। अर्कोतर्फ सूचीकृत कम्पनीले अपरिष्कृत विवरणमा एकथरी देखाउने र पछि अडिटेड भएर आउँदा अर्कै हुने क्रम बढ्न थालेको कारण पनि आम सर्वसाधारणले वित्तीय विवरणलाई वास्ता गर्न छाडेको विश्लेषण बजारमा हुन थालेको छ। सोही कारण  दोस्रो बजारमा वित्तीय विवरण प्रतिको आकर्षण स्वाट्टै घटेको हो।

पछिल्लो समय सूचीकृत केही लघुवित्त संस्थाहरूले आफ्नो चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। विवरण सार्वजनिक गरेका २५ लघुवित्तको औसत नाफा २०२.०५ प्रतिशतले बढेको छ। उनीहरूले गत आर्थिक वर्ष दुई अर्ब २६ करोड रुपैयाँ नाफा गरे। जबकि अघिल्लो वर्ष यस्तो नाफा ७४ करोड ९२ लाखमा सीमित थियो। अघिल्लो वर्ष नाफा घट्नुमा नियामकीय प्रावधान थिए। अहिले बेस्सरी नाफा बढ्नुमा नियामकीय लचकताले बढी काम गरेको छ। नेपाल राष्ट्र बैंकको कर्जा नोक्सानी सीमा घटाउने र कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण सुविधा दिएकोले लघुवित्तको नाफा ह्वात्तै बढेको हो।

अघिल्लो वर्ष पनि केही लघुवित्तहरूले निक्कै उत्साहित भएर अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका थिए। तर पछि राष्ट्र बैंकले प्रोभिजनिङका विषयहरूमा कडाइ गरेपछि उनीहरूको वित्तीय विवरण पछि संशोधन हुन पुगेका थिए। सुरुमा अपरिष्कृत वित्तीय विवरण एक थरी आए र पछि अडिटेड विवरण आउँदा निक्कै भिन्न भएर आयो। यो क्रम अघिल्लो वर्ष मात्रै होइन, केही वर्ष यता यस्तो क्रम बारम्बार दोहोरिन थालेपछि लगानीकर्ताले त्रैमासिक वित्तीय विवरणहरूलाई नै विश्वास गर्न छोडेका छन्।

यस्तो लघुवित्तमा मात्रै देखिएको छैन, वाणिज्य बैंक र विकास बैंकमा पनि यस्तै रोग देखिन थालेको छ। दोस्रो बजारमा शेयर मूल्य बढाउन कै लागि अपरिष्कृत वित्तीय विवरण असाध्यै राम्रो देखाउने पछि मूल्य बढाएर शेयर बिक्री गर्ने क्रम बढ्न थालेपछि अहिले लगानीकर्ताले जति सुकै राम्रो विवरण आए पनि त्यसलाई वास्ता गर्न छाडेका छन्। बरु वित्तीय विवरण आउनु पूर्व सामान्य मूल्यमा कारोबार भइरहेका कम्पनीको मूल्य वित्तीय विवरण आएपछि भने घट्ने  ट्रेन्ड देखिन थालेको छ। नराम्रो वित्तीय विवरण आउँदा शेयर मूल्य घट्नुलाई स्वाभाविक मान्न सकिए पनि निक्कै राम्रो विवरण प्रकाशित गर्ने कम्पनीको मूल्य समेत घट्नुलाई स्वाभाविक मान्न सकिदैन।

comments powered by Disqus

वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।