च्याट जिपीटी, जेमिनाई, कोपाइलट, डीपसिक जस्ता कम्प्युटर तथा मोबाइलमा उपलब्ध एप्लिकेसनको प्रयोगबाट ‘एआई’लाई परिचालन गर्ने गरिएको छ । अब ‘एआई’ भन्दैमा आँखा चिम्लेर विश्वास गरि हाल्न नहुने भएको छ ।
हालै सामाजिक सञ्जालमा देखिएको ‘नेप्से एआई’ नामक शेयर विश्लेषण गर्ने एप देखेर मोबाइलमा इन्स्टल गर्दा एक जना व्यक्तिले लाखौ रुपैयाँ गुमाएको उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सर्वसाधारणलाई जथाभावी मोबाइलमा नयाँ एप इन्स्टल नगर्न अनुरोध गरेको छ । इन्स्टल गर्नै परे पनि आधिकारिक एप स्टोरबाट डाउनलोड गरेर मात्रै इस्टल गर्न अनुरोध गरेको हो।
सीआईबीले रेकर्ड गरेको घट्नाक्रम अनुसार बिकी प्रधान (सांकेतिक नाम)ले सामाजिक संजाल ‘फेसबुक’मा देखिएको विज्ञापनबाट प्रेरित भएर शेयर बजारको बिश्लेषण गर्नको निम्ति ‘नेप्से एआई’ नामक एप्स डाउनलोड गर्छन र एप इन्स्टल गर्छन, इस्टल गरे पश्चात उक्त एपमा रिमोट सेसन खुल्नसाथ निजको मोबाइल स्क्रिनः केहि समय कालो (ब्लांक) हुन्छ । त्यही समयमा निजको विभिन्न बैंक खातामा भएको २८ लाख ६१ हजार रुपैयाँ रकम अन्यत्र खातामा ट्रान्सफर हुन्छ र निजको मोबाईलमा रहेको सम्पूर्ण डाटा तथा एप्सहरु समेत मेटिएको उनले पाए । लगत्तै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा घटनाको विवरण जानकारी गराए।
केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा ‘नेप्से एआई’ नामको एप डाउनलोड गराउन प्रेरित गर्ने भ्रामक सूचना तथा विज्ञापनहरू आइरहेका छन् । फर्जी एपमार्फत सेयर बजारको विश्लेषण गरी ‘अत्यधिक नाफा’ दिने भनी झुक्याएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले सजग रहन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक आग्रह गरेको हो ।
सीआईबीकाअनुसार, यो एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा रिमोट सेसन खोलिन्छ र त्यसपछि बैंक खातामा रहेका सबै रकम एकछिनमै चोरी गरी अन्यत्र ट्रान्सफर गरिन्छ । साथै पीडितको डिजिटल उपकरणको सम्पूर्ण डेटासमेत मेटाइने तथा प्रमाण नष्ट गरिने घटना समेत यसमा जोडिएको सीआईबीले जनाएको छ ।
यस्ता खालका दर्जनौं ठूला घटना र उजुरीहरू परेको सीआईबीले जनाएको छ । जसले नेपाली नागरिकलाई ठूलो आर्थिक जोखिममा पारेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक युवराज खड्काले बताए ।
सीआईबीले नागरिकहरूलाई यस्ता क्रियाकलापबाट बच्नका लागि विभिन्न सावधानीहरू अपनाउन अनुरोध गरेको छ । सीआईबीले आफ्नो पासवर्डहरू नियमित रूपमा परिवर्तन गर्न, सामाजिक सञ्जालमा आएका अपरिचित लिंक वा एपलाई डाउनलोड नगर्न, टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न, अनधिकृत व्यक्तिहरुलाई एनीडेस्क, टीमभ्यूअरजस्ता रिमोट एक्सेस एप मार्फत आफ्नो मोबाइल वा कम्प्युटरको पहुँच नदिन र एप डाउनलोड गर्दा केवल आधिकारिक एप स्टोरहरू (गुगल प्ले स्टोर, एप्पल एप स्टोर) बाट मात्र डाउनलोड गर्न अनुरोध गरेको छ ।