Ipo.aspx merolagani - ब्याज आम्दानी घटेपनि लक्ष्मी सनराइजको नाफा बढ्यो

ब्याज आम्दानी घटेपनि लक्ष्मी सनराइजको नाफा बढ्यो

Aug 14, 2025 07:08 AM Merolagani

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

comments powered by Disqus

वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।