त्यसैक्रममा सेप्टेम्बरको पहिलो सातामा ‘फरेन पोर्टफोलियो इन्भेष्टमेण्ट’ (FPI) घरेलु शेयर बजारबाट १ खर्ब २२ अर्ब ५७ करोड भारतीय रुपैयाँ (१ अर्ब ४० करोड अमेरिकी डलर) निकाले । एक साताको अवधिमा भारतीय शेयर बजारबाट यति ठूलो रकम बाहिरिएर विदेशिएको पहिलो घटना भएको बताइएको छ । त्यहीकारण यो घटनालाई एक प्रकारको भूकम्पको रुपमै लिइएको छ ।
त्यसो त सन् २०२५ शुरु भएदेखि नै भारतीय शेयर बजारबाट विदेशी लगानीकर्ताहरुले लगानी फिर्ता गर्न शुरु गरेका थिए । जनवरीदेखि यता अगस्ट अन्तिमसम्मको ८ महिनामा भारतीय शेयर बजारबाट १४ खर्ब ३० अर्ब रुपैंया बराबरको FPI बाहिरिएको छ । एक वर्ष अघि अर्थात् सन् २०२४ को सेप्टेम्बरको तथ्याँकअनुसार भारतीय शेयर बजारमा कूल FPI लगानी ८४ खर्ब ४० अर्ब थियो, जुन भारतीय पूँजी बजारको कूल मार्केट क्यापको १६.४ प्रतिशत रहेको बताइएको छ । (स्रोतः विजनेश स्टाण्डडर्ट)

२०२५ लागेपछि मार्चमा १ खर्ब ७५ अर्ब ८५ करोड बराबरको FPI लगानी भित्रिएको थियो । अन्यथा अरु महिना FPI बाहिरिएको छ । त्यहीकारण भारतीय शेयर बजारले कहिल्यै नभोगेको संकट भोग्दैछ ।
सेप्टेम्बर लागेपछि भारत अमेरिका व्यापार युद्धले एउटा निश्चित गति लिने, चीन, रुसलगायतका देशसँग व्यापार थप सुमधुर हुने, जियसटीका दरहरुमा कटौती भइ लगानीको वातावरण बन्नेलगायतका आशा लगानीकर्ताले गरेका थिए । तर, ती सबै घटना क्रमहरुका बीचमा विदेशी लगानी फिर्ता हुने क्रम झन बढेपछि भारतीय शेयर बजारको भविश्यमाथि नै प्रश्न उठ्न थालेको लगानीकर्ताहरु बताउँछन् ।
जियोजित इन्भेस्टमेन्टका प्रमुख लगानी रणनीतिकार वी.के. विजयकुमारको भनाईमा विदेशी लगानीकर्ताहरु मात्र होइन, गैर आवासीय भारतीय (एनआरआई)को साथै कतिपय ठूला भारतीय लगानीकर्ताहरु पनि अहिले भारतीय शेयर बजारमा गरिरहेको लगानीलाई घटाएर चीन–हङकङ र दक्षिण कोरिया जस्ता सस्तो बजारहरूमा पैसा लगानी गर्न बताउँछन् ।
एन्जल वनका वरिष्ठ आधारभूत विश्लेषक वकार जावेद खानको भनाईमा भारतीय शेयर बजार यतिबेला निकै चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । र, अबका दिन, सम्भवतः आफ्ना लगानीकर्तालाई भारतीय पूँजी बजारमा लगानी गर्ने बारेमा अमेरिकी फेडरल रिजर्भको टिप्पणी, अमेरिका र भारत बीचको व्यापार युद्धको अवस्था, भारतीय रिजर्व बैंकले लिने ब्याजदर सम्वन्धि नयाँ नीति तथा रुपैयाँको मूल्यको अवस्थाले विदेशी लगानीकर्ताहरुलाई टिकाउने वा थप तर्साउनेछ भन्ने टुंगो गर्नेछ ।
मोर्निङस्टार इन्भेस्टमेन्टका सह–निर्देशक हिमांशु श्रीवास्तव खानको भनाइसँग सहमत छन् । उनको भनाइ छ भारतीय शेयर बजारबाट भागिरहेका विदेशी लगानीकर्ताहरुलाई फिर्ता बोलाउन नसके त्यसको मानसिक असर स्वदेशी लगानीकर्ताहरुमा पनि पर्नेछ । त्यसबाट शेयर बजारमा अर्काे गम्भिर चुनौति थपिनेछ । त्यो अवस्था आउनु अगाडि नै सरकारले, रिजर्व बैंक र भारतीय प्रतिभूती और विनिमय वोर्ड (सेवी)ले गम्भिर भएर सोंच्नु र निर्णय गर्नु आवश्यक छ ।