पुरानो लागत भन्दा पनि अहिले बनाउन लाग्ने लागत अर्थात प्रतिस्थापन लागत हिसाब गर्दा जीडीपीको ५ प्रतिशत हुन आउँछ । सरकारी भवनहरुसँगै हिल्टन होटल, भाटभटेनी सुपरमार्केटको १३–१४ वटा आउटलेटमा ठूलो क्षति पुगेको छ । यो सबै जोड्दा त्यति पुग्ने अनुमान छ ।
सबैभन्दा पहिले त राजनीतिक स्थिरता ल्याउनुपर्छ । त्यसपछि के कति क्षति भएको छ, त्यसको मूल्यांकन गर्नुपर्छ । सरकारी क्षेत्रको कति भएको छ र निजी क्षेत्रको कति भएको सबै तथ्यांक संंकलन गर्नुपर्छ । आगजनी र तोडफोड बाहेक पनि काम नभएर दैनिक क्षतिको हिसाब छुट्टै छ।
अब यत्रो क्षति हुँदा उद्योगी व्यवसायीहरुको आत्मविश्वास गुमेको अवस्था छ । अहिले निजी क्षेत्र चुपचाप बसिरहेको छ । तिनीहरुको मनोभावना धेरै गिरेको छ । निजी क्षेत्रकोे आत्मविश्वास कसरी फिर्ता गराउने, तिनीहरुको घाटा कसरी पुर्ति गर्ने भन्नेमा नै ध्यान दिनुपर्छ । बजेटमा साढे ४ प्रतिशतको आर्थिक वृद्धि गर्ने भनेका थियौैं, शायद यो आर्थिक वर्ष हामी आर्थिक वृद्धि नै ऋणात्मक हुने सम्भावना छ ।
अब नयाँ पुननिर्माणको लागि नेपालसँग स्रोतको अभाव छ । अहिले अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि अनुदान पाउन कठिन भएको अवस्था छ । अन्तर्राष्ट्रिय दातृ निकायसँग राम्रो सम्बन्ध विस्तार गर्नु पनि त्यत्तिकै जरुरी छ । अब अहिले आर्थिक, आन्तरिक राजनीति र कुटनीतिक रुपमा समन्वय गरेर अगाडि जान सक्नुपर्छ । यसरी समन्वय गरेर अगाडि बढ्न एकदमै गार्हो छ । हामीले भुँइचालो हेर्यौ त्यसको लगत्तै भारतले गरेको नाकाबन्दी हेर्यौं । ७–८ वर्षको माओवादी द्वन्द्व पनि हेर्यौं । हिजो अस्ति मात्रै आन्दोलन शुरु भएर छोटो समयमै शान्ति प्रक्रियामा गइसकेको हुनाले यसलाई ठाउँमा पुर्याउन सहजता चाँहि हुन्छ । अझै पनि सबैलाई समेटेर जान सकिन्छ कि सकिंदैन । कत्तिका प्रियजन गुमेको छ, कतिका सम्पत्ति गुमेको छ । सबैलाई सन्तुष्ट बनाएर लैजान र त्यसलाई फेरि सामान्य बनाउन केही समय पक्कै लाग्छ ।
अब केही हप्ता पछि नेपालीहरुको ठूलो चाड दशैंं आउँदैछ । अहिलेको अवस्थामा दशैं भनेर धेरै आर्थिक क्रियाकलाप नहुन सक्छ । नेपालको अर्थतन्त्रमा धेरै आर्थिक क्रियाकलाप हुने समय भनेको दशैं र तिहार वरिपरि हो । दशैले आर्थिक क्रियाकलाप बढेर अर्थतन्त्र माथि जान्छ भन्नेमा हामी उत्साहित थियौं । पछिल्लो जेनजीको आन्दोलनले भएको बृहत क्षतिको कारण पहिला जसरी दशैं मनाइएला जस्तो पनि देखिंदैन ।
यसको व्यवसायिक पनि असर छ, मानवीय असर पनि छ । राजनीतिक अस्थिरता भयो अब हामीले नयाँ बाटो पहिल्याउनुपर्छ । कुटनीतिक नीति कस्तो बनाउने, वैदेशिक नीति कस्तो राख्ने, आन्तरिक राजनीतिलाई कसरी मिलाउनेमा विशेष ध्यान दिनुपर्नेछ । न्याय पालिका,कार्यपालिका र व्यवस्थापिकालाई कसरी व्यवस्थापन गर्ने भन्ने हुन्छ ।
सबैभन्दा पहिले राजनीतिक रुपमा स्थिरता आउनुपर्छ । जेनजीका विभिन्न समूहहरुबीच सामुहिक निर्णयबाट समस्या समाधान भयो भने फेरि लडाईँ हुँदैन । हाम्रा सबै राजनीतिक पार्टी खराब छैन त्यसमा भएका केही व्यक्ति खराब होलान । हाम्रो राजनीतिक प्रणाली त खराब होइन नि । अब पुरानो गल्तीबाट सिकेर सबैले आफ्नो काम गराईमा सुधार गर्नेछन् भन्ने आशा गर्न सकिन्छ । जनता नै सबैभन्दा ठूलो असन्तुष्टि चुलिएमा एकैदिनमा यस्तो उथालपुथल गर्ने क्षमता राख्न सक्छ भन्ने सबैले बुझ्ने मौका पाएको छ । अब आशा गरौं पार्टीगत हिसाबले पनि व्यापक परिवर्तन हुन्छ । आर्थिक रुपमा पनि व्यापक परिवर्तन हुन्छ । अहिलेको प्रणालीले जनताको आवश्यकता, इच्छा आकांक्षा अनुसार काम गर्न सकेन । जनतामा निराशा उत्पन्न भयो जसले एकैदिनमा यति ठूलो क्षति हुने गरी विस्फोट भयो जुन विश्वमा अहिलेसम्म कही भएको छैन ।
ठूला तीनवटै राजनीतिक पार्टीहरुले गरिरहेको काम पूर्ण रुपमा गलत थियो भन्ने बुझे । पुराना पार्टीह्ररुमा पनि अब नयाँ सोच आउँछ होला । सरकारले बजेट बनाएको देखि बजेटको कार्यान्वयनमा पनि कमजोरी छ भन्नेमा पनि अब विस्तारै सुधार हुन्छ । सबै चुनौतीलाई सुधारको मौकाको रुपमा लिनुपर्यो । अब नयाँ सरकार बनाउँदा सबैलाई समेटेर गयो भने नहुने चाँहि केही छैन । एक पक्ष राम्रो अर्को पक्ष नराम्रो भन्नु भन्दा पनि सबैले एक पाइला पछाडि सरेर कमजोरी सुधारेर अगाडि बढ्छौ भन्ने बेला हो । म ठूलो भन्नु भन्दा हामी सबै एक पाइला पछाडि जान्छौ र प्रक्रिया अगाडि बढाउँछौ भन्नुपर्छ । मेरो भनाईको मतलब सोचाई, भनाई र गराई सबैमा सुधार हुनुपर्यो ।
जनतासँग दुई दिनमा सबैलाई हल्लाइ दिने शक्ति छ भन्ने कुरालाई स्वीकारेनौ भने हामी कहिले पनि सुध्रिदैनौं । सबैले सुध्रेर अगाडि बढेन भने यो देश कहिले पनि अगाडि बढ्न सक्दैन ।