यस्ताे छ उनकाे भनाइ
आज मलाई यहाँ उपस्थिति भइ पदभार ग्रहण गर्ने मौका मिलेको छ । सचिवज्यूहरुलगायत सम्पूर्णले मेरो कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको म सबैलाई धन्यबाद दिन चाहन्छु ।

सबैलाई सर्वविदितै छ कि, कुन परिस्थितिमा यो अन्तरिम सरकारको मन्त्रिमण्डलको गठन हुनुपर्ने आवश्यकता बन्यो भनेर । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ । ४० जना युवा तथा युवतीहरुले मृत्यु वरण गर्नुपर्यो । र, शुरक्षा निकायहरु, प्रहरीका चौकी, बिटहरु, सर्वोच्च अदालत, तराइका सम्पूर्ण जिल्ला अदालतहरु, उच्च अदालतहरुलगायत सिंहदरबारसमेत आगो लाग्यो । हाम्रा जति पनि रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को ठूलो समस्या निम्तिएको छ । भौतिक क्षति त केही हुँदो रहेनछ । त्यो त बनाउन पनि सकिन्छ । तर, ती रेकर्ड, प्रमाण तथा फाइलहरु जलेर नष्ट भइ हामी अहिले शून्यताको अवस्थामा छौं ।
हाम्रा सुरक्षा निकायहरु मात्रै चलेनन्, शुरक्षाकर्मीहरुको पनि देहवसान भयो । देशभरका शुरक्षाकर्मीका बाहनहरु सबै जलेर नष्ट गरियो । नयाँ खरिद नगरि नहुने अवस्था छ । यस घडीमा मलाई लागेको कुरा के हो भने यस पटकको हत्या, हिंसा, आगजनीका घटनाहरु भएका छन् । मुलुकका लागि अत्यन्त आवश्यक संस्थाहरु छन् । त्यसमा छानीछानी प्रहार भएको छ । प्रहरीहरु शुरक्षाका खटिएका थिए उनीहरुमा प्रहार भयो । प्रहरी बिट र चौकीहरु जलाइए । अदालतका फाइलहरु सबै नष्ट भए । बडो आश्चर्यको कुरा छ के छ भने अत्यावश्यक निकायमाथि किन आक्रमण गरियो ? यो देखेर अलिकति मलाई लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवन लुट्ला त्यो बेग्लै कुरा हो । तर, यो घटना त देशमा पहिलो चोटी भएको हो ।
हाम्रा अत्यावश्यक संस्थाहरुलाई अहिले अनुहार नै देखाउन नसक्ने अवस्थामा पुर्याएर जुन कार्य गरिएको छ । त्यसमा योजना र षड्यन्त्र गरेर भएको हो भन्ने लाग्छ । यसको अनुसन्धान हुन बाँकी नै छ । अनुसन्धान गरेर यसरी भए पनि प्रहार गर्नेमाथि कारबाही हुनैपर्छ । ती व्यक्तिको खोजबीन, तलास गर्नुपर्नेछ ।
जुन परिस्थितिमा म आएँ । कुनै रहर म आएको हैन् । सडक र जताततैबाट सुशीला कार्कीलाई जिम्मा देउ भनेर आवाज उठ्यो । म पनि विवश हुनुपर्यो । जहाँसम्म मेरो जुन टिम छ, त्यसले पनि काम गरिरहेको छ ।
जसरी हामीलाई खोजीयो, आवाज सुनियो । यस्तो अवस्थामा किन सेवा नगर्ने भनेर आएको हो ।
सक्दो रुपमा हामीले ६ महिनाभन्दा बढी नबस्ने र आफ्ना कामकारबाही जसरी पनि सम्पन्न गरेर पदमुक्त हुने गरी आएको हो । नयाँ आउने संसद, मन्त्रीहरुलाई अहिलेको जिम्मेवारी र दायित्व सुम्पिने हामीले अठोट गरेका छौं । उक्त अठोटमा यहाँहरुको साथ नपाइ सम्भव छैन् । त्यसैले सबैजनाले मलाई सहयोग गर्नुस् । हाम्रो जति पनि नोक्सान भएको छ, त्यसलाई हाम्रै देशका जनताहरुको पहलमा पूरा गर्नुपर्ने दायित्व पनि छ ।
तराइमा बाँसका भाटाहरु बेरेर किन चौकी नबनाउने ? हामी नेपालीहरुमा यति क्षमता रहेछ । भूकम्प आएका बेला मलाई थाहा छ । सिंहदरबार पुनः निर्माण भएको कति भयो र ? कतियौं रुपैयाँ खर्च भएर रेट्रोपिट भएको हो । त्यो हाम्रो पैसाबाट खर्च भयो । त्यो खर्च भए पनि भवन अहिलेसम्म पूरा पनि भएको छैन् । सर्वोच्च अदालतमा म न्यायाधीश हुँदा कति दुःख गरेर रेट्रोफिट गरेको हो । आज त्यो भवनलाई राम्रोसँग प्रयोग नै गर्न नपाउँदै जलेर त्यो नष्ट भएको छ । यो घटना घटाएर अपराधीहरुले गरेको हामी माथिको चुनौती हो । यो मुलुक विरुद्ध गरेको चुनौती हो । यो चुनौतीलाई तपाई हामी सबै मिलेर र एकताको भावना लिएर पूरा गर्नुपर्नेछ ।
म भाटभेटेनीको क्षतिको अवस्था बुझ्न गएका बेला एउटा व्यापारीको समुहले मलाई उत्साह पनि दिएको छ । उहाँहरु चिन्ता नमान्नुस, हामी छौं भन्नुभएको छ । उहाँहरुलाई मैले धन्यबाद दिए । उहाँहरुले तपाई त वकिलबाट आएको हो, सर्वोच्च अदालत बनाउन वकिलहरुलाई भन्नुस् भन्नुभयो छ । भनेर मात्र पनि हुने होइन् । तैपनि उहाँहरु हामी बनाउँछौं भनेर आँट र साहस भने दिनुभएको छ । उहाँहरुलाई धेरै धेरै धन्यबाद समेत दिन चाहन्छु । आगामी दिनमा जेनजी युवापुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई पनि चिन्ता लागेको छ कि जुन खालको मुभमेन्ट आयो । यो विश्वमा कहीँ पनि यसरी विध्वंश भएको थिएन् ।
जेनजी समुहले माग गरेको भनेको भ्रष्टाचारको अन्त्य, शुसासन, गुड गर्भनेन्स र आर्थिक समानताका कुराहरु हुन् । त्यो पूरा गर्न तपाइ हामी अटुट रुपमा लाग्नुपर्ने हुन्छ । क्षतिको पनि मुल्यांकन गरेर आगामी कार्ययोजना बनाउनुपर्नेछ । अर्को, भदौ २३ गते मृत्युवरण गर्ने युवायुवतीहरुका परिवारलाई मैले भेट्ने काम गरेँ । मलाई पनि दुःख लाग्ने उहाँहरुको आँसु देखेर । मैले मृतकलाई शहिद घोषणा गर्ने भनेर हस्ताक्षर समेत गरेको छु । देशको अवस्थाका कारण हामीले मृतकका परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय समेत गरेका छौं ।
घाइतेहरुको उपचार र केही राहतको पनि व्यवस्था गर्ने निर्णय गरेका छौं । मृतकका परिवारले शव गाउँ लैजान चाहन्छन् भने निशुल्क शवबाहनको व्यवस्था गर्ने, खान, बस्ने व्यवस्था र घाइतेहरुको उपचारमा पनि सहयोग गर्ने निर्णय गरेका छौं । हाम्रा साथीहरुले निजी क्षेत्रबाट पनि केही गर्न सकिन्छ कि भनेर लागिरहनुभएको छ । हामीले घाउँ र चोट लागेको व्यक्तिलाई मल्हम लगाउनै पर्छ । हामी अहिले विषम आर्थिक परिस्थितमा छौं । जनता र सरकार पनि यसबाट अछुतो रहने कुरा भएन् । हामीले के गर्न सक्छौं, कसरी सहयो गर्न सक्छौं भन्ने बिचार गरेर यो विषम परिस्थितिको अन्त्य गर्नुपर्छ ।
भदौ २४ गते जुन व्यक्तिका र सरकारी सम्पत्ति जसरी जलाउने काम भयो, उद्योग व्यवसायीको सम्पत्ति समेत जलाउने काम भयो, हामीले उनीहरुलाई पनि तिमीहरु जसरी उभिन्छौं, उभियौं भनेर हुँदैन् । त्यसलाई पनि राज्यले विचार गर्नुपर्ने अवस्था छ । हुन त व्यापारीहरुले पनि भन्नु भएको छ कि हामी उठ्छौं । हामी हार्दैनौं भनेर भन्नुभएको छ । म उहाँहरु प्रति निकै आभारी पनि छु । राज्यका तर्फबाट कुन किसिमको सहयोग चाहिन्छ, त्यो गर्न हामी तयार छौं । सरकार तयार छ ।