युवा पुस्ताको विरोध प्रदर्शनले निम्त्याएको संकटका कारण नेप्सेले शेयर कारोबार बन्द गर्ने निर्णय गत शुक्रबार नै गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम नेप्सेले असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

नयाँ अन्तरिम सरकार गठनपछि माहाैल सहज बन्न सुरु भएको छ । सो अनुसार शेयर कारोबार खुलाउने सम्बन्धमा नेप्सेले स्टेक होल्डरहरुसँग छलफल गरेको छ । नेप्सेले शेयर कारोबार गर्दा प्रत्यक्ष सहभागी हुने सिडिएसी एण्ड क्लियरिङ्ग, ब्रोकर कम्पनी र मचेन्ट बैंकरलगायतका संस्थाहरुसँग छलफल गरेको हो । धितोपत्र सम्बन्धी ऐन र नियममा भएको व्यवस्थालाई मध्यनजर गर्दै स्टेकहोल्डरहरुसँग छलफल गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । तर लगानीकर्ताहरुका संघ र संगठहरु भने तत्काल कारोबार खोल्न नहुने पक्षमा एकमत भएका छन् ।
तत्काल शेयर कारोबार नखोल्न र बजार सुधार तथा हितमा काम गर्नका लागि दबाब दिन लगानीकर्ताका संघ संगठन आईतबार (आज) नेपाल धितोपत्र बोर्डमा पुगेका छन ।
लगानीकर्ताहरुले तत्कालिन परिस्थितिमा शेयर कारोबार खुल्ला गर्ने नहुने दबाब सिर्जना गर्न बोर्ड पुगेका हुन् । नयाँ सरकार गठन भएको भएता पनि राजनीति माहाैल स्थिर भइ नसेको कारण तत्काल कारोबार सञ्चालन गर्न नहुने नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव श्रेष्ठले बताएका छन् ।
बोर्डले बदलिँदो परिस्थितिलाई स्वीकार गर्दै बजार सुधारको कामलाई द्रूतता दिनुपर्छ । भएका विकृतिलाई निर्मुल पार्दै बजारको हितमा काम गर्न बोर्डलाई दबाब दिने श्रेष्ठले बताए । यस्तो अवस्थामा लगानीकर्ताहरु शेयर कारोबार खुल्ला गर्ने भन्दा पनि केहि समय धैर्य गर्ने हो भने बजारमा हुनसक्ने क्षति कम हुने छ । दशैँ अगाडिको बजार बन्द गर्दा सम्पत्ति बन्दक भयो भन्ने भन्दा पनि केहि समय पर्खेर कारोबार सञ्चालन भएमा राम्रो हुने श्रेष्ठको धारणा छ ।
त्यसैगरी, नेपाल शेयरधनी संघका अध्यक्ष धनश्याम पाण्डेले पनि बजारलाई यथास्थितिमा खेाल्नु भन्दा केहि सकारात्मक भएपछि मात्रै खोल्नु पर्ने राय राखेका छन् । बजार खुल्दा आपूर्ति ह्वात्तै आउने छ । बजारमा माग पक्ष कमजोर छ । यस्तो बेला बजार खोल्दा लगानीकर्तालाई ठूलो असर पर्नेछ, पाण्डेले भने । अहिलेको बजारमा लगानीकर्ता विश्वास बढाउने खालको गतिविधि बोर्डले गर्नु पर्नेमा पाण्डेको जोड छ ।
लगानीकर्ताहरु एकमत भए पनि कानुनले धितोपत्र बजारलाई लामो समयसम्म बन्द गर्न नमिल्ने उल्लेख गरेको छ । धितोपत्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०६३ ले बजारलाई बढीमा ५ दिनसम्म मात्रै बन्द गर्न सकिने व्यवस्था गरेको छ । नेप्सेले गत शुक्रबार गरेको निर्णय अनुसार अझै चार कारोबार दिन बजार बन्द हुनेछ ।