Ipo.aspx merolagani - लक्ष्मी सनराइज बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्बभन्दा बढी

लक्ष्मी सनराइज बैंकको वितरणयोग्य मुनाफा साढे २ अर्बभन्दा बढी

Nov 07, 2025 07:48 AM Merolagani

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ३८.०४ प्रतिशत घटेको हो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.८० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.११ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७९ पैसा घटेर ५ रुपैयाँ ४६ पैसामा सीमति भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

(नाेटः यस अघि प्रकाशित समाचारमा अन्यथा हुन गएकाेमा क्षमा प्रार्थी छाैँ।)

comments powered by Disqus