Ipo.aspx merolagani - सालपा विकास बैंकको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

सालपा विकास बैंकको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Dec 31, 2025 10:48 AM Merolagani

सालपा विकास बैंक लिमिटेडले आज (पुस १६ गते), बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा बैंकले १ लाख ७२ हजार ३८८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, बैंकले ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।

अब भने बैंकले दोस्रो चरणमा २६ हजार ११९ कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

बैंकले आजदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिनेछ।

बैंकको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, बैंकको प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

बैंकको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा बैंकको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ४ लाख १ लाख ४३ हजार ९१७ जना आवेदकले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ९ कित्ता शेष रहन्छ जुन सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दर बाँडफाँट गर्नेछ। त्यसैले, लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ११ कित्त प्राप्त गर्न २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम बैंकको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमरिक्स क्रेडिट रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई २०८१ पुस १७ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ पुस १४ गतेसम्म रहेको छ।

कस्तो कम्पनी हो?

सालपा विकास बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०६८ कात्तिक २ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ २०६९ साउन १ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरि सोही दिनदेखि आफ्नो वित्तीय कारोवार सञ्चालन गरिरहेको छ।

संस्थापनको समयमा खोटाङ्ग जिल्लामा सञ्चालित वित्तीय संस्थाहरूको तोकिएको न्यूनतम संख्या नपुगेका कारणले सानो पूँजीको आधारमा विशेष व्यवस्था बमोजिमका यस बैंकले २०६९ साउन १ गते इजाजत प्राप्त गरि कारोबार शुरु गरेको थियो। बैंक स्थापनाका अगाडीका वर्षहरूमा मुलुकमा व्याप्त द्वन्दका कारण जिल्लाको सदरमुकाम दिक्तेलभन्दा अन्य स्थानहरू एसेलुखर्क, खोटाङबजार र बाक्सिला बजारहरूमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू पनि बन्द भई खोटाङ्ग जिल्ला भरिको कारोबार दिक्तेल बजार स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्र कारोबार भई रहेको अवस्था थियो। खोटाङ्ग जिल्लाको वित्तीय कारोबार एउटा शाखाबाट मात्र हुँदा आम सेवाग्राही जनता आफ्नो खाताबाट रकम निकाल्न कैयौँ दिनसम्म पालो पर्खनु पर्ने वाध्यता थियो।

सदरमुकामभन्दा टाढा टाढा रहेका विद्यालयका प्रधानाध्यापकहरू आफ्नो विद्यालयको चौमासिक निकासा लिन ३–४ दिन सम्म कुर्नुपर्ने बाध्यताले सदरमुकाममा बस्दा आफ्नो महत्वपूर्ण समय र रकम खर्च हुन जान्थ्यो। यस्तो विकराल परिस्थितिमा खोटाङका लगानीकर्ताहरूको पहल कदमीमा कुनै बैंक स्थापना गरि जनतालाई सेवा प्रदान गर्न सकिन्छ की भन्ने ध्ययेले सामाजिक रूपमा क्रियाशिल व्यक्तिहरूसँग पटक पटक अनौपचारिक बैठक बसी बैंक गठन तथा सञ्चालन गर्न सकिन्छ भन्ने निष्कर्ष सहित यो बैंक स्थापना भएको थियो।

यस बैंकको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खोटङ जिल्ला, दिक्तेल नगरपालिका वडा नं. २ मा रहेको छ। बैंकको कारोवार गर्ने मुख्य स्थान खोटाङ्ग जिल्ला, दिक्तेल १ मा रहेको छ। यस बैंकले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ (तत्कालिन २०६३) अनुसार “ख” वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोवार गर्ने गरि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको हो।

हाल यस बैंकले खोटाङ्ग जिल्ला, दिक्तेल स्थित रजिष्टर्ड (कर्पोरेट) कार्यालयबाट वित्तीय कारोवार गर्दै आईरहेको छ। बैंकले दिक्तेल, ऐंसेलुखर्क, बाक्सीला, हलेसी, सिम्पानी र चिसापानीमा पनि शाखा कार्यालय खोलेको छ। नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अधिनमा रहि आवश्यकता अनुसार भविष्यमा शाखा उपशाखा वा अन्य कार्यालय खोली देशका अन्य भागमा पनि वित्तीय कारोवार विस्तार गर्दै जाने लक्ष्य लिएको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाको इ.प्रा.निर्देशन नं. २१/०८१ को (४) (१) मा भएको पूँजी सम्बन्धि निर्देशन बमोजिम न्युनतम पूँजी व्यवस्था गर्न अनिवार्य भएकोले उक्त निर्देशनको अनुपालना गर्न बैंकले आईपीओ निष्काशन गरेको हो। त्यस्तै, विकास बैंकको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न र विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न पनि बैंकले आईपीओ निष्काशन गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

साधारण शेयर निष्काशन गरि प्राप्त हुने पूँजी बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३, विकास बैंकको प्रबन्धपत्र तथा नियमावली र अन्य प्रचलित कानून बमोजिम पाँच जिल्ले “ख” वर्गको विकास बैंकले गर्न पाउने कार्यको अधिनमा रही व्यवसायिक प्रयोजनमा उपयोग गर्नेछ। जसअन्तर्गत बैंकले ३ करोड रुपैयाँ शाखा विस्तारमा प्रयोग गर्नेछ भने १२ करोड ८९ लाख रुपैयाँ लगानीमा प्रयोग गर्नेछ। बाँकी रहेको १ करोड ३४ लाख ८८ हजार रुपैयाँ बैंकले अन्य क्षेत्रका लागि प्रयोग गर्नेछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा २ करोड ७० लाख ६५ हजार ६ रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १४ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसा रहेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वास्तविक जगेडा कोष २ करोड ४ लाख १० हजार ९६८ रुपैयाँ थियो। सो अवधिसम्ममा बैंकको वास्तविक प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २० पैसा थियो भने प्रतिशेयर आम्दानी ९ पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोष २ करोड ५८ लाख ४० हजार ४७६ रुपैयाँ रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ २२ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

बैंकको नियमावलीमा भएको व्यवस्था अनुसार ७ (सात) जना सञ्चालकहरु रहेको सञ्चालक समिति गठन हुनेछ। जसमा संस्थापक शेयरधनीहरुबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना रहनेछन्।

बैंकको सञ्चालक समितिको अध्यक्षमा टंक राई रहेका छन्। त्यस्तै, बैंकको अन्य सञ्चालकहरुमा लब कुमार राई, शरण कुमार राई, हरिन्द्र प्रसाद राई, चन्द्र बहादुर खड्का र लता केसी रहेका छन्।

भावी योजना तथा रणनीति

बैंकले आफ्नो उद्देश्य प्राप्त गर्नको लागि पाँच खम्बे रणनीति योजना तय गरेको छ ।

(क) व्यवसायको रणनीति र नियामकीय अनुपालना ।

(ख) जोखिम व्यवस्थापन ।

(ग) मानव स्रोत व्यवस्थापन ।

(घ) सूचना प्रविधि व्यवस्थापन ।

(ङ) पारदर्शी र जिम्मेवारी बैंकिङ ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकको वास्तविक प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २० पैसा रहेको छ। यस अनुसार नेप्सेले बैंकको पहिलो कारोबारका लागि १०१ रुपैयाँ २० पैसादेखि ३०३ रुपैयाँ ६० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।

comments powered by Disqus

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।