Ipo.aspx merolagani - लगानी र जनशक्तिको अभावमा चुम्बक उत्पादन गर्ने भारतको प्रयास फेरि अवरुद्ध

लगानी र जनशक्तिको अभावमा चुम्बक उत्पादन गर्ने भारतको प्रयास फेरि अवरुद्ध

Jan 18, 2026 05:51 PM mero lagani

चुम्बक उत्पादनको लागि ७३ अर्ब रुपैयाँ (करिब १ खर्ब १६ अर्ब ८० करोड नेपाली रुपैयाँ) बजेट छुट्याएर काम शुरु गरेको भारतले आवश्यक जनशक्ति नपाउँदा केही दिनमै काम अवरुद्ध हुने अवस्था सृजना भएको छ । 

 

सन् २०२५ को नोभेम्बरदेखि भारतले विश्वकै ठानिएको दुर्लभ खनिज (रेअर अर्थ) उत्पादित चुम्बकको उत्पादन गर्ने र चीनसँगको निर्भरता घटाउने भन्दै पाँच वर्षिय योजना शुरु गरेको थियो । तर, शुरु गरेको दुई महिनामै जनशक्ति अभावले काम रोकिने अवस्था सृजना भएको छ । काम शुरु गर्नको लागि चीन, जापान, दक्षिण कोरिया र जर्मनीबाट जनशक्ति मगाउने वा भारतबाट आवश्यक मानिसहरुलाई तालिम लिन ती देशमा पठाउनु पर्ने र यसो गर्दा उत्पादन प्रकृया लामो समय रोकिने अवस्था रहेको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

 

‘कुनै प्रयास नगर्नु भन्दा प्रयास गरेको राम्रो तर चीन, जापान, दक्षिण कोरिया र जर्मनीले दक्ष जनशक्ति उत्पादन गरेर मात्र त्यस क्षेत्रमा प्रभावकारीरुपमा अनुसन्धान र उत्पादन गरेका छन् । हामी कहाँ भने जनशक्ति बिना नै काम शुरु गरियो, त्यसमाथि त्यति पैसा त केही पनि होइन, निकै ठूलो लगानी चाहिन्छ’ ब्याट्री तथा रेअर अर्थ तत्त्वसँग सम्बन्धित कन्सल्टिङ फर्म बेन्चमार्क मिनरल इन्टलिजन्सकी नेहा मुखर्जी भन्छिन् ।

उनका अनुसार रेअर अर्थ तत्व र त्यसबाट चुम्बक उत्पादन गर्ने पूर्ण प्रणाली विकसित गर्नु एकदमै महँगो, जटिल र समय लाग्ने कार्य हो । भारतले यस योजनाअन्तर्गत छानिएका उत्पादकहरूलाई सात वर्षभित्र छ हजार टन चुम्बक उत्पादन गर्न आदेश दिएको छ । उत्पादन गर्न पुँजी तथा बिक्रीसँग जोडिएका अन्य सेवा सुविधा सरकारले उपलब्ध गराउने घोषणा गरिएको छ।

हाल भारतले उसलाई आवश्यक चुम्बक तथा सम्बन्धित सामग्रीमध्ये ८०,९०% जति चीनबाट आयात गर्छ। विश्वभरिको रेअर अर्थ प्रशोधनमा ९०% चीनको नियन्त्रणमा छ। सन् २०२५ मा भारतले २२ करोड डलरभन्दा धेरैको चुम्बक तथा सम्बन्धित सामग्री आयात गरेको थियो ।

 

गत वर्ष चीनले ती सामग्रीको निर्यातमा कडाइ भारतका गाडी निर्माता तथा इलेक्ट्रोनिक कम्पनीहरू अप्ठेरोमा परेका थिए । त्यसपछि नै भारतले चुम्बक उत्पादनमा जोड दिन थालेको हो । तर, उत्पादनमा जोड दिँदैमा र त्यसको लागि केही प्रसा छुट्याउँदैमा उत्पादन नहुने बताउँछिन् । ‘पहिले अनुसन्धानमा लगानी गर्नु पर्यो, जनशक्तिमा लगानी गर्नु पर्यो । अनि बल्ल उत्पादन हुन सक्छ । आवेशमा आएर अहिले नै उत्पादन शुरु गरौं भनेर हुँदैन,’ उनी भन्छिन् ।

न्याश्नल जिओफिजिकल रिसर्च इन्स्टिट्यूट  (एनजीआरआई)का प्रमुख वैज्ञानिक डा. पीभी सुन्दर राजु भारत सरकारले चुम्बक उत्पादनको लागि पहिले पनि प्रयास गरेको तर सफल नभएको बताउँछन् । उदाहरणका लागि उसले न्याश्नल क्रिटिकल मिनरल मिशन (एनसीएमएम)को स्थापना गरेको छ । ‘प्रयास हुँदै नभएका होइनन्, पहिले पनि केही प्रयास गरिएको छ, तर कुनै पनि सफल भएका छैनन्’ उनी भन्छन् ।

स्मरण रहोस् भारतमा विश्वकै तेस्रो विशाल रेअर अर्थ तत्वहरूको भण्डार (विश्वको कुल भण्डारको ८ प्रतिशत) रहेको विश्वास गरिन्छ । ती भण्डार खास गरी तटीय राज्यहरू केरल, तमिलनाडु, ओडिशा, आन्ध्र प्रदेश, महाराष्ट्र र गुजरातका बालुवाहरूमा रहेको बताइन्छ। तर विश्वको कुल प्रशोधनमा भारतको हिस्सा १ प्रतिशत पनि छैन।

comments powered by Disqus