Ipo.aspx merolagani - साउदी अरबले २२ लाख ऊँटलाई पासपोर्ट जारी गर्ने, सन् २०३० सम्म ऊँटलाई राष्ट्रिय आयको प्रमुख स्रोतको रुपमा विकास गर्ने

साउदी अरबले २२ लाख ऊँटलाई पासपोर्ट जारी गर्ने, सन् २०३० सम्म ऊँटलाई राष्ट्रिय आयको प्रमुख स्रोतको रुपमा विकास गर्ने

Feb 10, 2026 12:32 PM mero lagani

साउदी अरबले ऊँटलाई पासपोर्ट जारी गर्ने भएको छ । ऊँट व्यवसायलाई प्रवर्द्धन गर्न भन्दै पासपोर्ट जारी गर्ने निर्णय गरिएको हो । 

अरब न्यूजका अनुसार विश्वभरमा हाल साढे ३ करोड ऊँट छन् । त्यसमध्ये एक करोड ७० लाख अरब देशहरुमा रहेकोमा साउदी अरबमा अहिले २२ लाख रहेका छन् । साउदी अरबको कृषि मन्त्रालयले ती २२ लाख ऊँटहरुलाई पासपोर्ट जारी गरिने जानकारी दिएको छ ।

पासपोर्ट जारी भएपछि ऊँट पालन व्यवसाय थप व्यवस्थित हुने मन्त्रालयले दावी गरेको छ । साथै ऊँट पालन गर्ने व्यवसायीको समस्या पहिचान गर्न समेत सहयोग पुग्ने बताइएको छ ।

ऊँट विना मरुभूमीमा जीवन असम्भव रहेको विश्वाससहित साउदी अरबमा ऊँटलाई सफलताको प्रतिक मानिन्छ र हरेक चाडपर्वमा ऊँटलाई महत्व दिइन्छ । हरेक वर्ष ऊँटको ‘सुन्दरी प्रतियोगिता’ पनि आयोजना गरिन्छ ।

साउदी अरब ऊँटको दूध निर्यात प्रमुख देश हो । यहाँको साबनी कम्पनीले उत्पादन गर्ने ऊँटको दूध विश्वका २५ देशमा निर्यात हुँदै आएको छ । ऊँटको दूधबाट बनाइने आइसक्रिम विशेष महत्वको मानिन्छ । त्यस्तै ऊँटको छालाबाट बनाइने ज्याकेट, बेल्टहरु पनि निकै बलियो र महंगो मूल्यमा विक्री हुने गरेको छ । त्यहीकारण साउदी सरकारले सन् २०३० सम्म ऊँट र त्यसबाट हुने आम्दानीलाई राष्ट्रिय आयको प्रमुख स्रोतको रुपमा विकास गर्ने घोषणा यस अगाडि नै घोषणा गरिसकेको छ । अहिले पासपोर्ट वितरण गर्ने घोषणालाई त्यसैको आधार मानिएको सरकारले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।

comments powered by Disqus