भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, उक्त अवधिमा नागढुंगा–मुग्लिन सडक विस्तार, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना, नारायणगढ–बुटवल सडक विस्तार र मुग्लिन–पोखरा सडक विस्तारको काम सम्पन्न हुने भएको हो ।

आगामी एक-डेढ वर्षभित्रै ठूला विकासे आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘आगामी एक डेढ वर्षभित्रै हामीले नागढुंगा सुरुङ, नागढुंगा–मुग्लिन सडक, नारायणगढ–बुटवल सडक र मुग्लिन पोखरा सडक विस्तारको काम सम्पन्न गर्छौं,’ उनले भने, ‘विकास निर्माणको काम सँगसँगै अघि बढेको छ । सडकको लेन बढेको छ । सडक फराकिला भएका छन् ।’
त्यसमध्ये, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना त आगामी २०८३ बैशाखसम्म निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइने आयोजना पक्षको तयारी छ । हाल सुरुङ सञ्चालन गर्न सेवा प्रदायक छनौटको काम भइरहेको छ भने आयोजनाको पश्चिमखण्डमा पहिरो रोकथाम तथा व्यवस्थापन गरेर टोल प्लाजालगायतका काम भइरहेको छ ।
उक्त काम २-३ महिनाभित्र सम्पन्न गरेर सुरुङ आयोजना सर्वसाधारणका लागि खुला गर्ने योजना सरकारले बनाइरहेको छ । त्यस्तै, नागढुंगा देखि मुग्लिनसम्मको सडक विस्तारको काम पनि विगतदेखि नै निरन्तर चलिरहेको छ ।
दुई खण्डमा वर्गीकरण गरी सडक विस्तारको काम अघि बढाएको छ । नागढुंगा देखि मलेखुसम्म पूर्वी खण्ड र मलेखुदेखि मुग्लिनसम्म पश्चिम खण्डमा कुल ९४ किलोमिटरको उक्त सडक विस्तारको काम अहिले धमाधम भइरहेको छ । कम्तीमा डेढ वर्षभित्र नै यो सडक विस्तारको काम सकिनेमा सरकारी अधिकारी ढुक्क छन् ।
बजार क्षेत्रमा ६ लेन, साना ठाउँमा ४ वा ३ लेन र भौगोलिक रुपमा कठिन स्थानमा २ लेनमा यो सडक विस्तार हुँदैछ । हालसम्म पहिलो खण्डको काम ९० प्रतिशत र दोस्रो खण्डको काम ४५ प्रतिशतभन्दा बढी भौतिक प्रगति सम्पन्न भएको छ ।
तोकिएको समयसीमाभित्र आयोजना समपन्न नभएपछि सडक विस्तारका लागि म्याद थप गरिएको छ । २०८३ कात्तिकसम्म आयोजनाको म्याद थप गरिएको छ । थपिएको म्यादभित्रै आयोजना निर्माण सम्पन्न हुनेमा केही चुनौती देखिन्छ । तथापी, आगामी एक वर्षभित्र भने सडक विस्तारको काम सकिने आयोजना पक्षको दाबी छ ।
त्यस्तै, नारायणगढ–बुटवल सडक विस्तारको काम पनि आउँदो डेढ वर्षभित्र सम्पन्न हुने देखिएको छ । कुल ११४ किलोमिटरको उक्त सडक दुई खण्डमा विस्तारको काम अघि बढिरहेको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको जिम्मेवारी पाएको उक्त सडक विस्तारको निर्धारित समयभित्र सम्पन्न हुन नसकी पटक पटक म्याद थप हुँदै आएको छ ।
हालसम्म चौथोपटक म्याद थपिएको उक्त आयोजनाको काम एक डेढ वर्षभित्रै सम्पन्न हुने आयोजना पक्षले जनाएको छ । आयोजना साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताका साथ २०७५ फागुन ९ गतेदेखि निर्माण सुरु भएको थियो । हाल उक्त परियोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति छ ।
त्यस्तैगरी, निकट भविष्यमा सम्पन्न हुने चरणमा रहेको अर्को आयोजना हो, मुग्लिन पोखरा सडक । उक्त सडकको पूर्वीखण्ड मुग्लिनदेखि जामुनेसम्मको सडक विस्तारको काम यसअघि नै सम्पन्न भइसकेको छ ।
जामुनेदेखि कास्कीको सेती पुलसम्मको सडक विस्तारको काम अहिले भइरहेको छ । उक्तखण्डमा सडक विस्तारको काम सुस्त रहे पनि आगामी एक डेढ वर्षभित्र नै निर्माण सम्पन्न भइ सडक सञ्चालनमा ल्याइने आयोजना पक्षले जनाएको छ ।