Ipo.aspx merolagani - आर्थिक क्षेत्रका घाघडान चौधरी र राजनीतिक क्षेत्रका चतुर खेलाडी त्रिपाठी बीचको रोचक भिडन्त, छिर्के दाउमा पाण्डे, खनाल र जलेसा

आर्थिक क्षेत्रका घाघडान चौधरी र राजनीतिक क्षेत्रका चतुर खेलाडी त्रिपाठी बीचको रोचक भिडन्त, छिर्के दाउमा पाण्डे, खनाल र जलेसा

Feb 12, 2026 06:16 PM mero lagani

नेपालको आर्थिक क्षेत्रका सबैभन्दा चतुर खेलाडी मानिन्छन्—विनोद चौधरी । र, राजनीतिका धुर्त र चतुर खेलाडी मानिन्छन्—ह्रदयश त्रिपाठी ।

यी दुई बीच नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा दोस्रो पटक चुनावी भिडन्त हुँदैछ । र, यी दुईलाई छिर्के हानेर जित्ने धुनमा लागेका छन्, अरु दुई दर्जन उम्मेदवारहरु । त्यसमा पनि नेकपा एमालेलेका रामप्रसाद पाण्डे, रास्वपाका बिक्रम खनाललाई ती दुईलाई चुनौति दिन सक्ने उम्मेदवारको रुपमा हेरिएको छ । 

पछिल्ला आम निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसबाट निर्वाचित उद्योगपति विनोदकुमार चौधरी फेरि सांसदमा दोहोरिने तयारीका साथ चुनावी प्रचारप्रसारमा जुटेका छन् । उनका मुख्य प्रतिस्पर्धी मानिएका त्रिपाठी जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेको समर्थनमा उठेका थिए र चौधरीसँग फराकिलो (सात हजार १९१) मतान्तरले हारेका थिए ।

अहिले चौधरी सांसद हुँदा आफूले गरेका सडकदेखि स्वास्थ्य, सुस्ताको विद्युतीकरण, पुल निर्माणलगायत विकासका कामको फेहरिस्त बताउँदै चौधरी मतदातासमक्ष पुगिरहेका छन् ।

उनले कार्यकाल पूरा गर्न नपाउँदै संसद् विघटन भएकोले आफ्ना कतिपय चुनावी प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै मतदातासँग माफी पनि मागिरहेका छन् ।

०४८ सालयताका सबै सात निर्वाचनमा उम्मेदवार बनेका आठौँपटक जसपा नेपालबाट प्रतिस्पर्धामा छन् । विगतमा सात निर्वाचनमध्ये त्रिपाठीले ५ पटक जितेका छन् र २ पटक हारेका छन् ।

पटक पटक पार्टी फेर्ने र आफू जसरी पनि सत्तामा पुग्ने सत्ता केन्द्रित राजनीतिका एक उदाहरण मानिने नेपाली राजनीतिका धुर्त र चतुर खेलाडी त्रिपाठीले ०४८, ०५१, ०५६, ०६४ र ०७४ मा यस क्षेत्रबाट चुनाव जिते भने ०७० को दोस्रो संविधानसभा र ०७९ मा उनले हारे ।

२०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनका साझा उम्मेदवार चौधरीले २९ हजार ५१९ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३२८ ले मत ल्याएका थिए । यो क्षेत्रमा एक लाख २३ हजार ८० मतदाता रहेका छन् ।

गत स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रका मुख्य प्रतिस्पर्धी पार्टी नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् । यो क्षेत्रमा बर्दघाट नगरपालिकासहित प्रतापपुर र सुस्ता गाउँपालिकाका सबै भूभाग पर्छन् । यी सबै पालिकामा कांग्रेसले जितेको छ ।

यस्तै, सरावल गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडा यो क्षेत्रमा पर्छन् । त्यहाँ नेकपा (एमाले)ले जितेको छ । यसपालि नेकपा एमालेले सुस्ता गाउँपालिकाका निर्वतमान अध्यक्ष रामप्रसाद पाण्डेलाई उम्मेवार बनाएको छ । उनी यो क्षेत्रका मतदाताबीच निकै लोकप्रिय रहेकोले चौधरी र त्रिपाठीलाई कडा टक्कर दिन सक्ने सम्भावना रहेको बताइएको छ ।

यो क्षेत्रबाट चुनाव लडिरहेका विक्रम खनाल अर्का दावेदार हुन् । कांग्रेसले टिकट नदिएपछि मनोनयनपत्र दर्ता गराउने एक दिन अगाडि रास्वपा प्रवेश गरेर उनी उम्मेदवार बनेका हुन् ।

पहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहेका खनाललाई चौधरीलाई हराउन भूमिका खेलेको भन्दै पार्टीले कारबाही गरेको थियो । यसपाली चुनावको समयमा उनको कारबाही फुकुवा गरिएको थियो । तर, उनी कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवार भएका छन् । खनाल ०७० सालमा यही क्षेत्रबाट दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । उनी यस क्षेत्रका लोकप्रिय युवा नेता मानिन्छन् ।

यहाँ नेकपा बाट सिन्धु जलेसा बुढाथोकी उम्मेदवार छिन् । उनी ०७० मा एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी थिइन् ।

नवलपरासी–१ मा यसपाली ११ स्वतन्त्रसहित २६ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रका अन्य उम्मेदवारहरुमा मंगोल नेसनल अर्गनाइजेसनका इन्द्रकुमार गुरुङ, जनमत पार्टीबाट गणेशबहादुर चौधरी, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट नवनितकुमार मिश्र, राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर विश्वकर्मा, उज्यालो नेपाल पार्टीबाट विजय कँडेल, नेपाल कम्युनिस्ट पार्टी माओवादीका राजुप्रसाद हरिजन, श्रम संस्कृति पार्टीबाट रामचन्द्र चौधरी थारू र नागरिक उन्मुक्ति पार्टी नेपालका शत्रुधन चौधरी छन् ।

जिल्लामा कुल दुई लाख ५४ हजार १५७ मतदाता छन् ।

comments powered by Disqus