नेपालका स्थापित व्यवसायिक घराना र व्यक्तिहरुको सिटिजन लाइफमा लगानी रहेको छ। विशेषगरी कान्तिपुर पब्लिकेसन्स समूह, शिखर इन्स्योरेन्स (निर्जीवन बीमा क्षेत्रको अग्रणी), सिद्धार्थ बैंक र यससँग आवद्ध लगानीकर्ताहरू, लक्ष्मी बैंक (हाल लक्ष्मी सनराइज) सँग आवद्ध व्यक्तित्वहरू, औषधी व्यवसायी समेतको संलग्नतामा कम्पनी सञ्चालनमा आएको हो । सिटिजन लाइफका संस्थापकहरु कुनै एक व्यक्ति वा परिवार नभई विविध क्षेत्रका ठूला व्यवसायीक समूह र पेशेवरहरुको गठबन्धन हुन्। यसले कम्पनीलाई मल्टिसेक्टरल आधार दिएको छ—मिडिया, बीमा, बैंकिङ, उद्योग, पर्यटन, रियल–स्टेट सबै क्षेत्रका लगानीकर्ताले मिलेर कम्पनीलाई प्रवर्द्धन गरेका छन्।
को को छन् सञ्चालक ?
कम्पनीको नीति–निर्माण र मार्गनिर्देशनका लागि सात सदस्यीय सञ्चालक समिति रहेको छ, जसको अध्यक्षता प्रतिष्ठित उद्योगी एवम् पूर्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका छन् । त्यस्तै सञ्चालकहरुमा सुमितकुमार अग्रवाल, मनोज कार्की, दावा फु्टी शेर्पा, भेजप्रसाद तिमिल्सिना र स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी रहेका छन्। शेर्पा र तिमिल्सिना सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक भएका हुन। शेर्पा पूर्व राजदूत हुन भने तिमिल्सिना वित्तीय तथा पूँजी बजार विज्ञ हुन् ।

व्यवस्थापन टोली सम्हाल्दै पोषक
कम्पनीको दैनिक कार्यसम्पादन र रणनीतिक कार्यान्वयनका लागि अनुभवी व्यवस्थापन टोली सक्रिय छ। व्यवस्थापनको नेतृत्वकर्ता हुन प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल ।
स्थापनाकालदेखि नै सिटिजन लाइफमा सक्रिय पौडेल २०८२ पुसदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् । मेटा लाइफमा लामो समय बिताएका पौडेलको बीमा क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ ।
नायब प्रमुख कार्यकारी अधिकृतमा दशरथमणि खड्का छन् । उनीसँग पनि बीमा क्षेत्रको लामो अनुभव छ र विशेष गरी रणनीतिक योजनाहरूमा उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ। नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवमा दीप बहादुर बीसी रहेका छन् । उनले वित्तीय व्यवस्थापन र अनुपालनको पाटो हेर्ने गरेका छन् । कम्पनीको प्रचार–प्रसार र जनचेतनाका लागि चर्चित कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ब्राण्ड एम्बेसेडरका रूपमा आबद्ध छन्।
शेयर संरचना
सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । त्यसमध्ये ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ । सर्वसाधारण समुहमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, सामूहिक लगानी कोष, कम्पनीको कर्मचारी र सर्वसाधारणलाई शेयर बाँडफाँट गरिएको छ । अहिले कम्पनीमो झन्डै डेढ अर्ब रुपैयाँ बराबरको सर्वसाधारण शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको संस्थापक शेयर रहेको छ।
सिटिजनको वित्तीय अवस्था ?
चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले २३ करोड १५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ भने कम्पनीको व्यापारमा राम्रो सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क उठाएको छ जुन अघिल्लो आवको तुलनामा साढे २२ प्रतिशतले बढी हो ।
५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३ करोड रुपैयाँ छ भने जीवन बीमा कोष बढेर २३ अर्ब ७५ करोड रुपैयाँ पुगिसकेको छ । प्रति शेयर आम्दानी ९.२६ रुपैयाँ रहँदा प्रति शेयर नेटवर्थ भने १२६.५२ रुपैयाँ रहेको छ ।
बजार पहुँच र सञ्जाल
‘सिटिजन डिजिटल’ अभियानमार्फत कम्पनीले गाउँ–गाउँसम्म आफ्नो सेवा पुर्याएको छ। नेपालका ७७ वटै जिल्लामा यसको उपस्थिति छ। हाल देशभर १४० भन्दा बढी शाखा र उप–शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीसँग करिब ७०० भन्दा बढी दक्ष कर्मचारीहरू छन् भने ५० हजार भन्दा बढी सक्रिय बीमा अभिकर्ताहरुको सञ्जाल छ जसले प्रत्यक्ष रुपमा ग्राहकहरुसम्म पुग्न मद्दत गर्नेछ ।
सिटिजन लाइफले ‘सिटिजन डिजिटल एप’मार्फत बीमा शुल्क भुक्तानी, पोलिसी हेर्ने र दाबी प्रक्रियालाई घरमै बसेर गर्न सकिने बनाएको छ। यसले गर्दा दुर्गम क्षेत्रका ग्राहकहरूलाई पनि कम्पनीको पहुँचमा ल्याएको छ।
सिटिन्जस लाइफको दाबी भुक्तानी
कुनै पनि जीवन बीमा कम्पनीको पहुँच र सफलता उसको दाबी भुक्तानी प्रक्रियामा निर्भर हुन्छ भन्ने मान्यता राख्ने सीईओ पौडेलले कम्पनीमा ‘डिजिटल क्लेम’ सेवा सुरु गरेको छ, जसले गर्दा कागजी प्रक्रिया कम भई बीमितका परिवारले छिटो राहत पाउने गरेका छन्। ‘फास्टेट क्लेम’को नारा अघि सारेको कम्पनीले सात दिन भित्रै बीमा दाबी भुक्तानी हुने गरेको उनले बताए।
कम्पनीको दाबी भुक्तानी अनुपात ९०% भन्दा माथि रहेको छ, जसले गर्दा बजारमा यसको विश्वसनीयता बढ्दो छ। सिटिजन लाइफले ‘सिटिजन केयर’ योजना अन्तर्गत घातक रोगहरूको उपचारका लागि तत्कालै ठूलो रकम उपलब्ध गराउने सुविधा ल्याएको छ, जुन नेपाली बीमा बजारमा निकै लोकप्रिय मानिन्छ। थप सहजताका लागि कम्पनीले विभिन्न अस्पतालहरूसँग ‘टाई–अप’ गरी ‘क्यासलेस’ सुविधा उपलब्ध गराएको छ। यसले गर्दा बिमितले अस्पताल भर्ना हुँदा खल्तीबाट पैसा तिर्नुपर्ने झन्झट हटेको छ र अस्पतालबाट डिस्चार्ज हुँदा सिधै कम्पनीले पेमेन्ट सेटल गर्ने व्यवस्था मिलाइएको सीईओ पोषकले बताए ।
लगानी रणनीतिः सुरक्षा र विविधीकरणमा जोड
कम्पनीले आफ्नो लगानीलाई मुख्यतया ‘ए–ग्रेड’ इन्स्ट्रुमेन्टहरू जस्तै सरकारी बण्ड, बैंकको मुद्दती निक्षेप र डिबेन्चरमा केन्द्रित गरेको छ। लगानीमा ‘रिटर्न’ भन्दा पनि ‘एसेट क्वालिटी’ र ‘सस्टेनेबिलिटी’ लाई पहिलो प्राथमिकता दिएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए। ‘बीमा व्यवसाय विशेष गरी जोखिमसँग सम्बन्धित हुनाले अल्पकालीन नाफा भन्दा पनि दीर्घकालीन आम्दानीमा बढी ध्यान दिएका छौं।'–उनले भने –‘हामी रिस्क म्यानेजमेन्टमा एक्सपर्ट हौँ, त्यसैले एसेट म्यानेजमेन्टमा हामी बढी सतर्क छौँ।’ सुरक्षित क्षेत्रका साथै कम्पनीले पछिल्लो समय कृषि र जलविद्युतजस्ता उत्पादनमूलक क्षेत्रका नयाँ परियोजनाहरूमा इक्विटी इन्भेस्टमेन्ट मार्फत लगानी विविधीकरण गर्ने रणनीति अघि सारेको छ ।
प्रविधिको अधिकतम प्रयोग र डिजिटलाइजेसन
सेवालाई छिटो र पारदर्शी बनाउन कम्पनीले ‘डिजिटल ट्रान्सफरमेसन’ लाई तीव्रता दिएको छ। ‘इ–केवाइसी’ देखि लिएर प्रिमियम भुक्तानी र दाबीका कागजातहरू अनलाइनबाटै बुझाउन सकिने गरी सफ्टवेयर अपग्रेड गरिएको छ। ‘प्रविधिले कामलाई सजिलो बनाउँछ, तर ग्राहकसँगको मानवीय सम्बन्ध र व्यवहारलाई हामीले उत्तिकै महत्व दिएका छौँ,’ सीईओ पौडेलले बताए ।
बिमाको पहुँच नपुगेका ग्रामीण क्षेत्रका लागि कम्पनीले ‘माइक्रो–इन्स्योरेन्स’ (लघु–बिमा) को योजना ल्याएको छ। न्यून प्रिमियममा साना–साना बिमा योजनाहरू मार्फत गाउँ–गाउँमा पुग्ने कम्पनीको लक्ष्य छ। त्यस्तै, कम्पनीले बिमितहरूलाई दिने प्रतिफललाई स्थिर र प्रतिस्पर्धात्मक राख्न सफल भएको दाबी गरेको छ। बजारमा ब्याजदरमा आउने उतारचढावका बाबजुद लगानीलाई व्यवस्थित गर्दै बिमितको पैसा सुरक्षित राख्नु र अधिकतम बोनस दिनु नै मुख्य उद्देश्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।
कस्ता प्रोडक्ट छन् सिटिजनसँग
हरेक युवकको सपना हुन्छ— समाजमा एउटा पहिचान बनाउने र आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने। जब हातमा पहिलो तलब पर्छ, तब सुरु हुन्छ भविष्यका योजनाहरू बुन्ने क्रम। बिहे, बालबच्चाको शिक्षा, र आफ्नै बुढेसकालको सुखद दिनहरू। यही मानवीय आवश्यकता र सामाजिक दायित्वलाई हृदयंगम गर्दै सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न प्रडक्टहरु डिजाइन गरेको छ । सिटिजनले बालबालिकाको सुनौनोलो भविष्यको लागि शैक्षिक सुरक्षा योजनादेखि लिएर योजनामा आधारित पेन्सन प्लान, गम्भीर रोगविरुद्धको सुरक्षाको लागि समेत विभिन्न योजनाहरु सार्वजनिक गरेको सीईओ पौडेलले बताए ।
( कम्पनी इन्साइट्समा कुनै सूचीकृत कम्पनीकाे बारेमा जानकारी दिन चाहानुहुन्छ भने मेराे लगानीमा सम्पर्क गर्न सक्नुहुनेछ । कम्पनीकाे अवस्था बिश्लेषण गरेर क्रमश: प्रकाशित गर्नेछाै - सम्पादक)