Ipo.aspx merolagani - अमेरिकाबाट ‘सुन फर्काउ अभियान’ शुरु गर्दै युरोपेली देश, सुनको अन्तराष्ट्रिय बजार प्रणाली हल्लिन सक्ने भविश्यवाणी

अमेरिकाबाट ‘सुन फर्काउ अभियान’ शुरु गर्दै युरोपेली देश, सुनको अन्तराष्ट्रिय बजार प्रणाली हल्लिन सक्ने भविश्यवाणी

Apr 02, 2026 11:21 AM mero lagani

विश्वव्यापीरुपमा सुनको मुल्य आकासिइरहेको बेला कतिपय युरोपेली देशहरुले ‘सुन फर्काउ अभियान’ शुरु गर्ने तयारी गरेका छन् । 

यसबाट संयुक्त राज्य अमेरिकालाई चर्काे दबाब सृजना गर्ने र विश्व बजारमा समेत उथलपुथल आउन सक्ने आशंका गरिएको छ ।

न्यूयोर्कको लिबर्टी स्ट्रिटमा रहेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक, फेडरल रिजर्भको मुख्यालयको बेसमेन्टमा जमिनभन्दा २५ मिटर तल विश्वभरका केन्द्रीय बैंक, सरकार र संस्थाहरूको स्वामित्वमा रहेको पाँच लाखभन्दा बढी सुनको बिस्कुटको सुरक्षा गरिरहेको छ । ती सुनका विस्कुटमध्ये अधिकाँश विस्कुट युरोपेली देशहरुको रहेको छ । पछिल्लो राजनीतिक र आर्थिक घटनाक्रमलाई हेरेर जर्मनीसहितका धेरै युरोपेली देशहरुले ती विस्कुटहरु फिर्ता लिने तयारी गरिरहेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

ती सबै विस्कुटहरुको तौल ६ हजार ३ सय टन बराबर रहेको छ, जसको मूल्य अहिले १ ट्रिलियन डलरभन्दा बढी छ । यो अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको करिब चार प्रतिशत हो ।

जर्मन मिडियाका अनुसार फेडरल रिजर्भसँग करिब १ हजार २ सय टन जर्मन सुन छ, जसको मूल्य करिब २०० अर्ब डलर हुनेछ ।

अमेरिकाको बर्कले विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीका विज्ञ ब्यारी आइचेनग्रीनले शितयुद्धकालमा सोभियत सरकारको डरबाट तर्सेर धेरै युरोपेली देशहरुले सुरक्षाको लागि अमेरिकाको केन्द्रिय बैंकमा सुन जम्मा गर्न थालेको बताउँछन् । ‘शितयुद्ध समाप्ति पछि त्यस्तो डर रहेन । त्यसैले उनीहरुले आफूले जम्मा गरेको सुन निकालेका थिएनन् । अहिले भने राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली सहयोगीहरूबीच कैयौँ मुद्दामा मतभेद देखिएको छ । त्यहीक्रममा उनीहरुले सुन निकाल्ने प्रयास शुरु गरेका हुन्’ उनको भनाई छ ।

 

ट्रम्पको अन्तर्राष्ट्रिय प्रतिबद्धताको अवहेलना, करवृद्धि, ग्रिनल्याण्डमाथि डेनमार्कको सार्वभौमिकता वा हालसालै इरान विरुद्धको युद्धजस्ता मुद्दाहरूका कारण युरोपेली देशहरु अहिले अमेरिकासंँग झस्किएका छन् ।


जर्मनीको बुन्डेस बैंकका प्रमुख अनुसन्धानकर्ता अर्थशास्त्री इम्यानुएल मोन्चले न्यूयोर्कमा रहेको जर्मन केन्द्रीय बैंकको सुन फिर्ता गर्नु अपरिहार्य भएको बताए ।

जर्मन ट्याक्सपेयर्स एसोसिएसनका अध्यक्ष माइकल जेगरले भन्छन्—ट्रम्प अप्रत्याशित छन् र राजस्व बढाउनका लागि जे पनि गर्न सक्षम छन् । त्यसैले हाम्रो सुन अब फेडरल रिजर्भको ट्रेजरीमा सुरक्षित छैन । अब युरोपेली देशहरुले आफ्नो सुनको सुरक्षा आफै गर्नु पर्छ ।

जर्मनीको आइएफओ इन्स्टिच्युट फर इकोनोमिक रिसर्चका क्लेमेन्स फ्युस्टले बेलायती पत्रिका द गार्जियनलाई सुन फिर्ता ल्याउँदा अहिलेको अवस्थामा आगोमा घिउ थप्ने र यसको अनपेक्षित परिणाम हुन सक्ने दावी गरेका छन् । उनका अनुसार यदि युरोपेली मुलुकहरुले अमेरिकाको फेडेरल रिजर्भमा राखिएको सुन निकाले भने त्यसले अमेरिकी अर्थतन्त्रलाई त दबाबमा पार्छ नै साथै विश्व सुन बजारलाई नै गम्भिररुपमा असर पार्छ । त्यो असर कस्तो हुनेछ भन्ने बारेमा अहिले नै भन्न सकिदैन । तर, यत्ति भन्न सकिन्छ—सुनको अन्तराष्ट्रिय बजार प्रणालीलाई हल्लाईदिने भने निश्चित छ ।

comments powered by Disqus

शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।