Ipo.aspx merolagani - स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

May 15, 2026 06:38 AM Merolagani

स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (जेठ १ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

  कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार ७५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १८ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

अब भने दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष २ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.७७ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।