Ipo.aspx merolagani - शेयर बजारका लगानीकर्ताको लागि ‘गुरुमन्त्र’ बन्न सक्छ, फुटबल मैदानमा मेस्सीले अपनाउने पाँच ‘ट्रीक’!

शेयर बजारका लगानीकर्ताको लागि ‘गुरुमन्त्र’ बन्न सक्छ, फुटबल मैदानमा मेस्सीले अपनाउने पाँच ‘ट्रीक’!

Jul 07, 2026 05:38 AM Merolagani

विश्व फुटवलको महासंग्राम अर्थात विश्वकप चलिरहेको छ । र, भन्नै पर्दैन त्यसको केन्द्रमा छन् महान खेलाडी लियोनल मेस्सी ।

कतिपयलाई आश्चर्य लाग्ला तर उनको खेल्ने शैली र शेयर बजारमा सफल लगानी गर्ने रणनीतिबीच अद्भूत र निकै गहिरो समानता छ । मेस्सीले मैदानमा देखाउने ‘शान्त सक्रियता’ (Passive Activity) लाई शेयर बजारमा एउटा सफल भ्यालु इन्भेस्टर (Value Investor) वा स्मार्ट ट्रेडरको रणनीतिको रूपमा हुबहु लागू गर्न सकिन्छ। खासगरि मेस्सीले फुटवल मैदानमा अपनाउने  पाँचवटा ‘ट्रीक’हरु शेयर बजारका हरेक लगानीकर्ताको लागि ‘गुरुमन्त्र’ बन्न सक्ने कतिपय विश्लेषकहरुको दावि छ । मेस्सीका ती ‘ट्रीक’हरु यी हुन्ः

१. मैदानको म्यापिङ र बजारको अनुसन्धान

मेस्सीको शैली

मेस्सीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाका अनुसार, खेल सुरु भएको पहिलो ५ देखि १० मिनेट मेस्सीले हिँडेरै बिताउँछन् । त्यो कुरा उनको उनको खेल हेर्ने हरेक दर्शकले पनि महसुस गरेको हुनुपर्छ । यस क्रममा उनको टाउको लगातार दायाँ बायाँ घुमिरहेको हुन्छ । उनले विपक्षी टोलीको डिफेन्स (रक्षापंक्ति) कहाँ कमजोर छ, कुन खेलाडीले कस्तो गल्ती गर्दैछ र आफू कहाँ उभिँदा खाली ठाउँ पाइन्छ भनी आफ्नो मस्तिष्कमा पूरा मैदानको नक्सा तयार पारिरहेका हुन्छन् ।

शेयर बजारका लगानीकर्तालाई पाठ

एक चलाख लगानीकर्ताले बजार खुल्ने बित्तिकै जथाभाबी शेयर किन्न हतार गर्दैन । मेस्सीले मैदान म्यापिङ गरे झैं, उसले बजारको प्रवृत्ति (Market Trends), कम्पनीहरूको वित्तीय प्रतिवेदन ,नाफा, र अर्थतन्त्रको अवस्थाको गहिरो अध्ययन र अनुसन्धान  गरिरहेको हुन्छ । जब उपयुक्त मौका आउँछ, अनि उ ‘एक्सन’मा उत्रिन्छ ।


२. ऊर्जाको बचत र पूँजीको सुरक्षा 

मेस्सीको शैली

ग्वार्डिओलाकाअनुसार मेस्सी ६०% भन्दा बढी समय हिँडेरै बिताउँछन् ताकि उनको ऊर्जा  आवश्यक परेको बेला प्रयोग गर्न बचिरहोस् । बिनाकारण दौडिएर उनी थाक्दैनन् ।

शेयर बजारका लगानीकर्तालाई पाठ
बजारमा हरेक दिन आउने साना तिना उतारचढाव वा हल्लाको पछि लागेर जथाभाबी लगानी गर्नु हुँदैन। अनावश्यक ट्रेड गरेर ब्रोकर कमिसन र पूँजी सिध्याउनु भन्दा, उपयुक्त अवसर नआएसम्म आफ्नो पैसा बैंकमा वा सुरक्षित ठाउँमा जोगाएर राख्नुपर्छ।

३. दाउ हेर्नेु र सही मूल्यको पर्खाइ

मेस्सीको शैली

मेस्सी बल आउने बित्तिकै जथाभाबी प्रहार गर्दैनन्। उनी विपक्षी डिफेन्डरको गल्ती र आफूले खाली ठाउँ पाउने सही दाउ वा क्षण पर्खेर बस्छन्।


शेयर बजारका लगानीकर्तालाई पाठ:

महान् लगानीकर्ता वारेन बफेट भन्छन्—शेयर बजार भनेको एउटा यस्तो बेसबल खेल जस्तै हो, जहाँ स्ट्राइक आउट हुने डर हुँदैन। तपाईं आफ्नो मनपर्ने बल (सस्तो र राम्रो शेयर ) नआएसम्म कतिपनि नखेली पर्खेर बस्न सक्नुहुन्छ।

मेस्सीले दाउ हेरे झैं, लगानीकर्ताले पनि कुनै राम्रो कम्पनीको शेयर मूल्य सस्तो  हुने सही समय पर्खनुपर्छ।

४. अचानक तीव्र गति र आक्रामक खरिद

मेस्सीको शैली

हिँडिरहेका मेस्सीले जब विपक्षीको सानो गल्ती वा खाली ठाउँ देख्छन्,उनी अचानक मेसिन जस्तै तीव्र गतिमा दौडिएर केही सेकेन्डमै गोल गरिदिन्छन्।


शेयर बजारका लगानीकर्तालाई पाठ

जब बजार घट्छ वा कुनै राम्रो कम्पनीको शेयर मूल्य एकाएक निकै सस्तो हुन्छ, तब स्मार्ट लगानीकर्ताले मेस्सीले झैं ढिला नगरी, आक्रामक रूपमा ठूलो मात्रामा शेयर खरिद  गर्छन्। बजार डराएको बेला उनीहरू ‘गोल गर्न’ अघि बढ्छन्।


५. कम प्रयासमा बढी नतिजा 

मेस्सीको शैली

धेरै खेलाडीहरू पूरा ९० मिनेटमा १०-१२ किलोमिटर दौडिन्छन् तर गोल गर्न सक्दैनन् । मेस्सी ४-५ किलोमिटर मात्र हिँडेर वा दौडिएर पनि खेल जिताउने गोल र असिस्ट (अवसर) सिर्जना गर्छन्।

शेयर बजारका लगानीकर्तालाई पाठ

शेयर बजारमा दिनहुँ शेयर किनबेच गर्नेहरू धेरै दौडधुप गर्छन्, तर धेरैजसोले नाफा कमाउन सक्दैनन्। अर्कोतर्फ, मेस्सी शैलीका लगानीकर्ताहरू वर्षमा २-४ पटक मात्रै सही निर्णय लिन्छन् (कम कारोबार गर्छन्) तर उनीहरूको त्यो सानो निर्णयले दीर्घकालमा ठूलो नाफा  दिन्छ।

शेयर बजारमा सफल हुन सधैं व्यस्त देखिनु वा सधैं शेयर किनबेच गरिरहनु पर्दैन । मेस्सीको रणनीतिले सिकाउँछ कि—बजारलाई नियाल्न समय धेरै देऊ, आफ्नो पैसा जोगाएर राख र जब सही अवसर आउँछ, तब मात्र ठूलो प्रहार  गर ।

comments powered by Disqus

मन्त्रिपरिषद्ले गरेका यी हुन नौवटा महत्वपूर्ण निर्णयहरु

Jul 02, 2026 05:06 PM

सरकारले बिहीबार विभिन्न मन्त्रालयको सिफारीसमा मन्त्रिपरिषद्मा पेश भएका सातवटा विषयमा निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले गरेका नौवटा निर्णयहरु यस प्रकार छनः