Ipo.aspx merolagani - बैंकहरूको मार्जिन कर्जामा आकर्षण: ११ महिनामा थपियो २२ अर्ब, कुल लगानी १ खर्ब ६२ अर्ब नाघ्यो

बैंकहरूको मार्जिन कर्जामा आकर्षण: ११ महिनामा थपियो २२ अर्ब, कुल लगानी १ खर्ब ६२ अर्ब नाघ्यो

Jul 13, 2026 06:46 PM MeroLagani

पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक चहलपहल र कारोबार रकममा सुधार आएसँगै बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा उल्लेख्य वृद्धि भएको छ

 बैंकहरूमा पर्याप्त तरलता (लगानीयोग्य रकम) हुनु र ब्याजदर इतिहासकै सस्तो विन्दुमा ओर्लिनुले पनि लगानीकर्ताहरू शेयर धितो कर्जातर्फ आकर्षित भएका हुन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय प्रतिवेदनअनुसार जेठ मसान्तसम्ममा मार्जिन प्रकृतिको कर्जा १५.७६ प्रतिशतले बढेको देखिन्छ

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल २२ अर्ब १७ करोड २२ लाख रुपैयाँ थप मार्जिन कर्जा प्रवाह गरेका छन्। योसँगै २०८३ जेठ मसान्तसम्ममा बैंकहरूको कुल बक्यौता मार्जिन कर्जा १ खर्ब ६२ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सुरुवाती महिना साउनमा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँको हाराहारीमा सीमित थियो

तथ्याङ्कलाई केलाउँदा साना तथा मझौला लगानीकर्ताको तुलनामा ठुला लगानीकर्ताहरूले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी बढाएको स्पष्ट देखिन्छ। विशेष गरी १ करोड रुपैयाँभन्दा बढी दरको शेयर धितो कर्जा लिनेहरू बजारमा सबैभन्दा बढी हाबी छन्। जेठ मसान्तसम्ममा यो विधाको कर्जा १८.०४ प्रतिशत अर्थात् १७ अर्ब ८४ करोड रुपैयाँले बढेर १ खर्ब १६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ

त्यसैगरी ५० लाखदेखि १ करोड रुपैयाँसम्मको मार्जिन कर्जा पनि १५.५१ प्रतिशतले वृद्धि भई १८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ९ प्रतिशतले बढेर १९ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ। साना लगानीकर्ताले लिने २५ लाख रुपैयाँभन्दा कमको शेयर धितो कर्जाको वृद्धि भने निकै सुस्त अर्थात् मात्र ३.१३ प्रतिशत रहेको छ, जसको कुल बक्यौता ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ

बजारमा अन्य उत्पादनमूलक क्षेत्रमा कर्जाको माग सुस्त भइरहँदा शेयर धितो कर्जाको वृद्धिदर १५ प्रतिशतभन्दा माथि रहनुलाई अर्थबजारमा अर्थपूर्ण रूपमा हेरिएको छ। बैंकहरूको कर्जाको औसत ब्याजदर घटेर ६.६४ प्रतिशतको ऐतिहासिक सस्तो विन्दुमा आउनु र राष्ट्र बैंकले शेयर कर्जामा गरेको नीतिगत सहजीकरणका कारण लगानीकर्ताहरूले बैंकको पैसा शेयर बजारमा परिचालन गर्न सुरक्षित ठानेको विश्लेषकहरूको भनाइ छ

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।