Ipo.aspx merolagani - बीमा दाबी भुक्तानीमा समस्या भए प्राधिकरणमा उजुरी दिन आह्वान, गलत गर्नेलाई कानुन बमोजिम कारबाही हुने

बीमा दाबी भुक्तानीमा समस्या भए प्राधिकरणमा उजुरी दिन आह्वान, गलत गर्नेलाई कानुन बमोजिम कारबाही हुने

Jul 14, 2026 12:37 PM MeroLagani

नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियामा कुनै पनि किसिमको समस्या वा अवरोध उत्पन्न भएमा तुरुन्त प्राधिकरणमा उजुरी दिन सरोकारवालाहरूलाई आह्वान गरेको छ। 

बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानी गर्ने क्रममा केही बीमा कम्पनी, तिनका कर्मचारी तथा बीमा सर्भेयरहरूले प्रचलित कानुन, नियामकीय व्यवस्था र व्यावसायिक आचारसंहिता विपरीत कार्य गरिरहेको गुनासो बढेपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

प्राधिकरणका अनुसार कुनै बीमा कम्पनी, सम्बद्ध कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले ग्राहकलाई विनाकारण दुःख दिएमा, गलत विवरण वा प्रतिवेदन तयार पारेमा, तथा वास्तविक तथ्य लुकाउने वा तोडमोड गर्ने प्रयास गरेमा उजुरी गर्न सकिनेछ। यसैगरी दाबी मूल्याङ्कन गर्दा पक्षपातपूर्ण व्यवहार गरेमा, अनुचित लाभ माग गरेमा वा लिएमा तथा बीमा कानुन विपरीतका अन्य कुनै पनि कार्य गरेमा प्रमाणसहित उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

उजुरी दर्ता प्रक्रियालाई पारदर्शी र तथ्यपरक बनाउन उजुरीकर्ताले केही महत्त्वपूर्ण विवरणहरू खुलाउनुपर्नेछ। यस अन्तर्गत उजुरीकर्ताको स्पष्ट नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम र भोग्नुपरेको समस्याको विस्तृत व्यहोरा उल्लेख गर्नुपर्नेछ। यसका साथै दाबी नम्बर, बीमालेख नम्बर तथा दाबीलाई पुष्टि गर्ने आवश्यक कागजात, फाेटाे, भिडीयाे वा अन्य प्रमाणहरू समेत संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

सरोकारवालाहरूले आफ्नो अनुकूलता अनुसार भौतिक वा अनलाइन माध्यमबाट उजुरी दर्ता गराउन सक्नेछन्। उजुरीकर्ताले ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयको दर्ता शाखामा प्रत्यक्ष उपस्थित भई, पत्र पठाएर वा प्राधिकरणको आधिकारिक इमेल ठेगामा पठाएर आफ्नो उजुरी दर्ता गराउन सक्नेछन्।

प्राप्त हुने सबै उजुरी तथा प्रमाणहरूको पूर्ण गोपनीयता कायम राखिने प्रतिबद्धता प्राधिकरणले व्यक्त गरेको छ। दर्ता भएका उजुरीहरूमाथि बीमा ऐन र अन्य प्रचलित कानुन बमोजिम सुक्ष्म अनुसन्धान गरी दोषी देखिएका कम्पनी, कर्मचारी वा सर्भेयरमाथि कडा कारबाही प्रक्रिया अगाडि बढाइने व्यहोरा सूचनामा स्पष्ट पारिएको छ।

comments powered by Disqus

धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।