Ipo.aspx merolagani - भदौ २२ मा राष्ट्रिय शोक र २३ मा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय, यी हुन ७ निर्णयहरु

भदौ २२ मा राष्ट्रिय शोक र २३ मा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय, यी हुन ७ निर्णयहरु

Sep 03, 2026 04:42 PM merolagani

सरकारले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेहरूको सम्मानमा आगामी भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त दिन देशभरका सरकारी कार्यालय र विदेशस्थित दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिए ।

बैठकले गरेका मुख्य ७ निर्णयहरू यसप्रकार छन्ः

१. राष्ट्रिय शोक र बिदाः भदौ १० को अकल्पनीय बाढीमा मृत्यु हुनेहरूको सम्मानमा भदौ २२ मा राष्ट्रिय शोक मनाइनेछ। साथै,आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।

२. एडीबीको अनुदानः एसियाली विकास बैंक (एडीबी) बाट आपत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

३. बाढी प्रभावित क्षेत्रका उद्योग र व्यवसायलाई सुचारु गर्न एकीकृत व्यवसाय पुनर्स्थापन योजना अन्तर्गत कर, महसुल र राहतमा विशेष सहुलियत दिइनेछ।

४.खोज र उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च र निःशुल्क उपचार दिइनेछ। कार्यक्षेत्रमा मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।

५. चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीमार्फत २५ हजार मेट्रिकटन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिइएको छ।

६. नारायणप्रसाद भट्टलाई सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्को यो बैठकले बाढीपछिको पुनर्निर्माण र नागरिकको जनजीवन सहज बनाउन विशेष ध्यान केन्द्रित गरेको प्रवक्ता पोखरेलले बताए ।

comments powered by Disqus