Ipo.aspx merolagani - नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध ५० हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर

नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध ५० हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर

Sep 07, 2026 02:16 PM Merolagani

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोगले सर्वेक्षक र नापी अधिकृतविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरूमा नापी कार्यालय कलंकीका तत्कालीन सर्वेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पाँधे रहेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा रहेको जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने प्रयोजनका लागि उनीहरूले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेका थिए । सुरुमा सर्वेक्षक अमित कुमार श्रेष्ठले घुस मागेको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा सर्वेक्षक श्रेष्ठ र नापी अधिकृत पाँधेले आपसी मिलेमतोमा सेवाग्राहीलाई दुःख दिने र बार्गेनिङ गर्ने गरेको पाइएको छ । कानुनी कारबाहीबाट बच्न उनीहरू आफैँले रकम नबुझी कार्यालयका सहयोगीलाई रकम लिन मञ्जुर गराएको समेत पुष्टि भएको आयोगले उल्लेख गरेको छ।

कानुनी मागदाबीः

अख्तियारले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै ५० हजार रुपैयाँ बिगो कायम गरेको छ । आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दर्ता गराएको आयोगले जानकारी गराएको छ ।

comments powered by Disqus

भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।