Ipo.aspx merolagani - बाढी पहिरोपछि पनि कञ्चनजङ्घा, मकालु, सगरमाथा र मनास्लुसहितका प्रमुख पदयात्रा क्षेत्र सुरक्षित, प्रभावित क्षेत्रका लागि तोकिए नयाँ वैकल्पिक रुट

बाढी पहिरोपछि पनि कञ्चनजङ्घा, मकालु, सगरमाथा र मनास्लुसहितका प्रमुख पदयात्रा क्षेत्र सुरक्षित, प्रभावित क्षेत्रका लागि तोकिए नयाँ वैकल्पिक रुट

Sep 11, 2026 05:38 PM Merolagani

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण केही पहुँच सडकहरू अवरुद्ध भए पनि शरद ऋतुको पदयात्रा सिजनका लागि नेपालका बहुसङ्ख्यक पदयात्रा गन्तव्यहरू पूर्ण रूपमा सुरक्षित रहेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पछिल्लो स्थिति सार्वजनिक गर्दै पूर्वदेखि पश्चिमसम्मका प्रमुख पदमार्गहरू सुरक्षित रहेको जनाएको छ।

टानका अनुसार कञ्चनजङ्घा, मकालु, सगरमाथा, रोल्वालिङ र हेलम्बु क्षेत्रका पदयात्रा मार्ग बाढीपहिरोबाट पूर्ण रूपमा अप्रभावित छन्। त्यसैगरी पश्चिम तथा सुदूरपश्चिम खण्डका धौलागिरी, डोल्पो, रारा, जुम्ला, हुम्ला, खप्तड, बडीमालिका, अपि र साइपाल क्षेत्र पनि पूर्ण रूपमा सुरक्षित रहेका छन्।

पोखरा र अन्नपूर्ण खण्डअन्तर्गत मनाङ र मुस्ताङका सबै पर्यटकीय स्थलहरू सुरक्षित छन्। माथिल्लो मुस्ताङको लोमान्थाङमा ५.३ म्याग्निच्युडको भूकम्पले केही निजी घर र गुम्बामा क्षति पुर्‍याए पनि पदमार्ग, चियाघर र सञ्चार सञ्जाल सञ्चालनमै रहेका छन्। तर, पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोले सडक यात्रा प्रभावित भएकाले काठमाडौंबाट पोखराका लागि हवाई उडान गर्न वा बेनीघाट-फुजेल वा गल्छी-धादिङबेंसी-आरुघाट हुँदै आँबुखैरेनी निस्कने वैकल्पिक सडक प्रयोग गर्न सुझाइएको छ।

मनास्लु, चुम, नुब्री र लार्के पास क्षेत्र पदयात्राका लागि सुरक्षित रहेका छन्। बाढीले क्षति पुर्‍याएको घप र नामरुङ बीचको बाटोमा स्थानीयले काठको पुल बनाएपछि आवतजावत पुनः सञ्चालनमा आएको छ भने चौरीखर्कको पहिरो पनि हटाइएको छ। मलेखु पुल भत्किएकाले मलेखु-धादिङबेंसी सडकको सट्टा गल्छी-सुनौलाबाजार-धादिङबेंसी-सल्यानटार-आरुघाट हुँदै लापुबेंसी पुग्ने वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ। सुरक्षाका कारण यस क्षेत्रमा घोडा वा खच्चर प्रयोग नगर्न भनिएको छ।

लमटाङ, क्यान्जिन उपत्यका र गोसाइँकुण्ड गन्तव्य सुरक्षित रहे पनि बट्टार, बेत्रावती, धुन्चे हुँदै स्याफ्रुबेंसी जोड्ने सडक बन्द छ। यसका लागि पदयात्रीलाई काठमाडौंबाट सुन्दरीजल, हेलम्बु, ठाडेपाटी, घोप्टे, गोसाइँकुण्ड, ठूलोस्याफ्रु र लामाहोटल हुँदै लामटाङ पुग्ने र सोही बाटो फर्किने वैकल्पिक पदमार्ग प्रयोग गर्न आग्रह गरिएको छ। गणेश हिमाल र रुबी भ्याली क्षेत्र सुरक्षित रहे पनि धुन्चेको बाटो बन्द भएकाले धादिङबेंसी वा आरुघाटबाट वैकल्पिक बाटो प्रयोग गर्नुपर्नेछ।

नेपाल हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि रसुवागढी र केरुङ नाका पूर्ण रूपमा बन्द रहेको छ भने कोदारी र तातोपानी नाका फर्किनेहरूका लागि मात्र खुला गरिएको छ। तीर्थयात्रीले प्रवेश र प्रस्थानका लागि सिमकोट-हिल्सा मार्ग वा ल्हासा हुँदै जाने हवाई तथा सडक मार्ग प्रयोग गर्न सक्नेछन्। मनसुन अझै पूर्ण रूपमा नसकिएकाले पदयात्रा अघि आवश्यक सावधानी र पूर्वतयारी अपनाउन टानले आग्रह गरेको छ।

 

comments powered by Disqus

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।