Ipo.aspx merolagani - नेप्सेमा रणनीतिक साझेदार ल्याउन निजी क्षेत्रको जोड, संस्थागत लगानीकर्ता बढाउन कर घटाउनु पर्ने माग

नेप्सेमा रणनीतिक साझेदार ल्याउन निजी क्षेत्रको जोड, संस्थागत लगानीकर्ता बढाउन कर घटाउनु पर्ने माग

Sep 30, 2026 01:49 PM Merolagani

पुँजीबजारको संरचनागत सुधारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रणनीतिक साझेदार भित्र्याउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउन, प्रविधिको विकास गर्न र दोस्रो बजारलाई विस्तार गर्न नेप्सेको संरचनागत सुधार आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूले बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले पुँजीबजार सुधारको पहिलो सर्त नै नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु रहेको बताए । उनका अनुसार बजार सुधारका लागि नीतिगत स्पष्टतासँगै संस्थागत लगानीकर्ताको सहभागिता बढाउनुपर्ने आवश्यकता छ ।

सरकार र धितोपत्र बोर्डले अघि सारेको २१ बुँदे पुँजीबजार सुधार कार्ययोजना सकारात्मक भए पनि सुधारका कदम ढिला आएकाले त्यसको प्रभाव बजारमा देखिन केही समय लाग्ने रेग्मीको भनाइ छ । उनले बजार सुधारलाई तत्कालीन समस्या समाधानमा मात्र सीमित नगरी दीर्घकालीन संरचनागत सुधारसँग जोड्नुपर्ने बताए ।

रेग्मीले संस्थागत लगानीकर्ताको सहभागिता बढाउने हो भने कर प्रणालीमा समेत पुनरावलोकन आवश्यक रहेको बताए । उनका अनुसार व्यक्तिगत लगानीकर्ताले पुँजीगत लाभकर ३.७५ प्रतिशत तिर्नुपर्ने अवस्थामा संस्थागत लगानीकर्ताका लागि करको भार २५ प्रतिशतसम्म पुग्ने भएकाले संस्थागत लगानी बढाउन यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।

उनले आईपीओमा बुक बिल्डिङ विधि विस्तार गर्नुभन्दा पहिले योग्य संस्थागत लगानीकर्ताको दायरा फराकिलो बनाउनुपर्ने बताए । आईपीओ जारी गर्ने कम्पनीले लगानी जुटाउने उद्देश्य, रणनीतिक साझेदार र मुख्य लगानीकर्ताको भूमिका स्पष्ट गर्नुपर्ने उनको भनाइ छ । बुक बिल्डिङमा जाने कम्पनीको परियोजना प्रक्षेपण र व्यावसायीक सम्भाव्यता पनि योग्य संस्थागत लगानीकर्ता वा बुक बिल्डरले प्रभावकारी रूपमा मूल्यांकन गर्नुपर्ने उनले बताए ।

महासंघले प्राथमिक बजार सुधारका लागि सबै आईपीओमा बुक बिल्डिङ विधि अनिवार्य गर्नुपर्ने र कम्तीमा ३० प्रतिशत हिस्सा बुक बिल्डिङमार्फत निष्कासन गर्नुपर्ने प्रस्ताव गरेको छ । बुक बिल्डिङबाट निष्कासन हुने सेयरमध्ये संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई ५०–५० प्रतिशत बाँडफाँड गर्ने व्यवस्था गर्नुपर्ने महासंघको सुझाव छ ।

महासंघले आईपीओ निष्कासन प्रक्रियामा कम्पनीको वित्तीय अवस्था, क्रेडिट रेटिङ तथा परियोजनाको सम्भाव्यतालाई वैज्ञानिक ढंगले मूल्यांकन गर्नुपर्ने बताएको छ । साथै, आईपीओ जारी गर्ने कम्पनीले रणनीतिक साझेदार तथा मुख्य प्रबन्धकको लगानी प्रतिशत पहिल्यै स्पष्ट गर्नुपर्ने र आधार मूल्यभन्दा कम आशय मूल्य पेश गर्न नपाइने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

दोस्रो बजारतर्फ पनि प्रवद्र्धक तथा रणनीतिक लगानीकर्ताको सेयर बिक्रीलाई थप पारदर्शी बनाउनुपर्नेमा महासंघको जोड छ । रेग्मीले रणनीतिक साझेदार वा प्रवर्द्धकले सेयर बिक्री गर्दा कम्तीमा १५ दिनअघि नेप्सेमार्फत सार्वजनिक सूचना दिनुपर्ने र हाल कायम १ प्रतिशतको बिक्री सीमालाई बढाएर ५ देखि ७ प्रतिशत पुर्याउनुपर्ने बताए ।

तर, शुद्ध वित्तीय लगानीकर्ताको हकमा भने सेयर बिक्रीपछि उनीहरूको स्वामित्वमा आएको परिवर्तनका आधारमा मात्र सूचना सार्वजनिक गर्ने व्यवस्था उपयुक्त हुने उनको धारणा छ । लकिङ पिरियडलाई पनि कम्पनीको व्यावसायिक चक्र र अवस्थाअनुसार चरणबद्ध रूपमा खोल्नुपर्ने महासंघको सुझाव छ ।

महासंघले संस्थागत सुशासनलाई बलियो बनाउन लगातार पाँच वर्षसम्म मुनाफा आर्जन गर्न नसक्ने कम्पनीको सञ्चालक समिति पुनर्गठन गर्नुपर्ने र त्यस्ता कम्पनीको विवरण सार्वजनिक वेबसाइटमा अनिवार्य राख्नुपर्ने प्रस्ताव गरेको छ । सूचीकृत कम्पनीले लगानीकर्तालाई समयमै पर्याप्त सूचना उपलब्ध गराउने व्यवस्था थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।

पुँजीबजारमा संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको लगानी सीमा ५० प्रतिशतसम्म पुर्याउनुपर्ने महासंघको सुझाव छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई बजारमा थप सक्रिय बनाउनुपर्ने पनि प्रस्ताव गरिएको छ ।

यता नेपाल स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश कुमार अग्रवालले पनि बजारको विकासका लागि नेप्सेको संरचनागत सुधार आवश्यक रहेको बताए । उनले नेप्सेलाई निजीकरण गरेपछि नयाँ वित्तीय उपकरण भित्र्याउन र बजारलाई आधुनिक बनाउन सहज हुने धारणा राखे ।

अग्रवालका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा सेयर बजारको बजार पूँजीकरण अझै सानो छ । बजारको ठूलो हिस्सा अहिले प्राथमिक निष्कासन तथा प्रि–आईपीओतर्फ केन्द्रित हुँदा दोस्रो बजारको विकास अपेक्षित रूपमा हुन नसकेको उनको भनाइ छ ।

उनले लगानीकर्ताको मनोबल कमजोर रहेको अवस्थामा सरकारी नीतिमा स्पष्टता आवश्यक रहेको बताए । बजारमा सकारात्मक वातावरण बनाउन नियामक, सरकार, नेप्से, ब्रोकर तथा अन्य सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको उनको धारणा छ ।

विदेशमा रहेका नेपालीलाई पनि पुँजीबजारमा आकर्षित गर्नुपर्ने अग्रवालले बताए । गैरआवासीय नेपालीका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थाका कारण सेयर कारोबारमा सहजता नभएको भन्दै उनले प्रक्रिया सरल बनाउनुपर्ने आवश्यकता औंल्याए ।

समग्रमा निजी क्षेत्रका प्रतिनिधिहरूले पुँजीबजार सुधारलाई कर, आईपीओ र नियमनमा मात्र सीमित नगरी नेप्सेको संरचना, संस्थागत लगानी, वित्तीय उपकरण, सूचना प्रवाह र दोस्रो बजारको विस्तारसँग जोड्नुपर्ने धारणा अघि सारेका छन् । उनीहरूले सरकारबाट अघि सारिएका सुधारका योजनाको प्रभावकारी कार्यान्वयनसँगै दीर्घकालीन संरचनागत सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

 

comments powered by Disqus

आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।