Ipo.aspx merolagani - परदेशबाट भिडियो कलसँगै ‘डिजिटल दक्षिणा’ : आमाबुबाको मुख हेर्ने दिनदेखि दसैँ–तिहारसम्म फेरिँदै परम्परा

परदेशबाट भिडियो कलसँगै ‘डिजिटल दक्षिणा’ : आमाबुबाको मुख हेर्ने दिनदेखि दसैँ–तिहारसम्म फेरिँदै परम्परा

Oct 21, 2026 11:26 AM Merolagani

सुवास निरौला 

काठमाडौँकी प्रकृति पौडेलको मोबाइलमा चाडबाडका बेला आउने म्यासेज नोटिफिकेसन अरू बेलाभन्दा विशेष हुन्छ। 

दसैँको टीकाको साइत सकिनासाथ जापानमा रहेका उनका दाजुले भिडियो कल गर्छन्, अनि टीका–जमरा देखाएर आशीर्वाद लिनासाथ प्रकृतिको मोबाइलमा घन्टी बज्छ— ‘खातामा दक्षिणा जम्मा भयो।’ “पहिले–पहिले दाइ घर नहुँदा चाडबाडमा खल्लो लाग्थ्यो, दक्षिणा पाउने त कुरै भएन,” प्रकृति भन्छिन्, “अहिले भने प्रविधिले गर्दा दाइ टाढा भए पनि भिडियो कलमै आशीर्वाद साटासाट हुन्छ र मोबाइल बैंकिङ वा वालेटमै तुरुन्त दक्षिणा आइपुग्छ। खर्च गर्न र बचत गर्न पनि डिजिटल माध्यम निकै सजिलो भएको छ।”

प्रकृतिको यो भोगाइ त एउटा प्रतिनिधि उदाहरण मात्र हो। पछिल्ला वर्षहरूमा स्वदेशमा मात्र नभई विशेषगरी विदेशमा रहेका नेपालीहरूका कारण चाडपर्वमा ‘डिजिटल दक्षिणा’ र उपहार आदानप्रदान गर्ने संस्कृतिले व्यापक रूप लिएको छ।

चाडबाडअनुसार डिजिटल दक्षिणाको स्वरूप

नेपाली समाजमा केवल दसैँमा मात्र होइन, वर्षभरिका विभिन्न पारिवारिक उत्सवहरूमा डिजिटल उपहार पठाउने क्रम तीव्र बनेको छ:

  • आमाबुबाको मुख हेर्ने दिन (मातृ–पितृ सम्मान):
    रोजगारी वा अध्ययनका लागि विदेश तथा सहर पसेका छोराछोरीले गाउँमा रहेका आमाबुबालाई मुख हेर्ने दिन (मातातीर्थ औँसी र कुशे औँसी) मा उपहार र खर्च सिधै बैंक खाता वा स्थानीय वालेटमा पठाइदिने चलन निकै बढेको छ।

  • दसैँको टीका र आशीर्वाद:
    दसैँको टीकाको दिन अग्रजहरूले कान्छाकान्छीलाई आशीर्वाद दिँदै नगदको सट्टा मोबाइलबाटै दक्षिणा पठाउने अभ्यास बढ्दो छ। विशेषगरी परदेशमा रहेका अभिभावक, दाजुभाइ वा दिदीबहिनीले घरमा रहेका परिवारजनलाई साइतको प्रहरमै खातामा रकम ट्रान्सफर गरिदिन्छन्।

  • तिहारको भाइटीका:
    भाइटीकामा दाजुभाइले दिदीबहिनीलाई दिने दक्षिणामा डिजिटल फन्ड ट्रान्सफरको प्रयोग अत्यधिक हुने गरेको छ। विदेश वा टाढा रहेका दाजुभाइले दिदीबहिनीको खातामा उपहारस्वरूप दक्षिणा पठाउने अभ्यास पछिल्ला वर्षहरूमा संस्कारकै रूपमा स्थापित हुँदै गएको छ।

नयाँ नोटको लाइनभन्दा क्युआर सहज

स्वदेशभित्र पनि दसैँ–तिहारका बेला राष्ट्र बैंक र वाणिज्य बैंकका शाखाअगाडि नयाँ नोट साट्न घण्टौँ लाम लाग्ने बाध्यता घट्दै गएको छ। अचेल धेरैजसोले भान्जाभान्जी वा नयाँ पुस्तालाई सिधै क्युआर कोडमार्फत दक्षिणा दिन थालेका छन्।

यसले चाडबाडमा अबीर, अक्षता र पानीका कारण नयाँ नोट रङ्गिने, च्यातिने र फोहोर हुने समस्याबाट मुक्ति दिएको छ। नेपाल राष्ट्र बैंकले पनि नोटमा रङ नलगाउन, केरमेट नगर्न, स्टिच नगर्न र सकेसम्म डिजिटल कारोबार अपनाएर ‘सफा नोट नीति’ लाई सघाउन निरन्तर आग्रह गर्दै आएको छ।

टीका र भाइटीकामा १० प्रतिशतसम्म बढ्छ ‘फन्ड ट्रान्सफर’

भुक्तानी सेवाप्रदायकहरूका अनुसार सामान्य समयको तुलनामा चाडपर्वमा डिजिटल कारोबारको प्रकृति फरक हुन्छ।

  • खल्ती आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन रेग्मीका अनुसार दसैँ–तिहारका अवसरमा सार्वजनिक बिदा सुरु हुनुअघि किनमेलका कारण डिजिटल चाप उच्च हुन्छ। तर टीकाको दिन भने घरपरिवारभित्रै दक्षिणा दिन डिजिटल माध्यम प्रयोग हुन्छ। “टीकाको शुभसाइत हुने प्रहरमा परिवारभित्रै डिजिटल कारोबार ह्वात्तै बढ्छ,” रेग्मी भन्छन्, “तर ससुराली वा आफन्त (इन–ल) हरूमा भने अझै संकोच मानिने भएकाले खाममै नगद दिने चलन कायमै देखिन्छ।”

  • फिनटेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवालका अनुसार घटस्थापनादेखि सप्तमीसम्म किनमेलका कारण डिजिटल भुक्तानी उच्चतम विन्दुमा पुग्छ। बिदाका दिन व्यावसायिक कारोबार केही घटे पनि दसैँको टीका र तिहारको भाइटीकामा दाजुभाइ–दिदीबहिनीबीच उपहार र दक्षिणा आदानप्रदानका लागि ‘फन्ड ट्रान्सफर’ करिब १० प्रतिशतले वृद्धि हुने गरेको छ। उनका अनुसार भुक्तानीमा पहिलो रोजाइ फन्ड ट्रान्सफर र दोस्रोमा क्युआर (स्क्यान एन्ड पे) पर्छन्।

तथ्याङ्कमा डिजिटल फड्को : ३ वर्षमै क्युआरमा २४८ प्रतिशत वृद्धि

नेपाल राष्ट्र बैंकको पछिल्लो मासिक तथ्याङ्कले डिजिटल भुक्तानी नेपाली जनजीवनको अभिन्न अङ्ग बनिसकेको प्रस्ट पार्छ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै:

  • मोबाइल बैंकिङ: ७ करोड ८६ लाख ५३ हजार कारोबारमार्फत ५ खर्ब ८० अर्ब ५६ करोड रुपैयाँ।

  • क्युआर भुक्तानी: ७ करोड २४ लाख ३८ हजार कारोबारमार्फत १ खर्ब ६४ अर्ब ४२ करोड रुपैयाँ।

  • डिजिटल वालेट: ५ करोड ३० लाख कारोबारमार्फत ४८ अर्ब ५९ करोड रुपैयाँ।

तीन वर्षअघिको तुलनामा क्युआर भुक्तानीको संख्यामा २४७.८३ प्रतिशत र रकममा १६६.३३ प्रतिशत को भारी वृद्धि भएको छ। हाल नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड र डिजिटल वालेट प्रयोगकर्ता २ करोड ८३ लाख नाघिसकेका छन्।

क्यासब्याकको आकर्षण र सुरक्षा सचेतना

डिजिटल दक्षिणालाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरूले चाडबाड लक्षित क्यासब्याक अफरहरू ल्याउने गरेका छन्। तर, चाडपर्वमा डिजिटल कारोबारसँगै सम्भावित साइबर ठगी, ओटीपी चोरी र फिसिङको जोखिम पनि बढ्ने भएकाले वित्तीय संस्थाहरूले घटस्थापनादेखि नै सचेतनामूलक अभियान चलाइरहेका छन्।

भौगोलिक दूरी जतिसुकै टाढा भए पनि भिडियो कलमा टीका थाप्दै सेकेन्डमै खातामा दक्षिणा आइपुग्ने यो सुविधाले चाडपर्वको आत्मीयतालाई जोगाइराख्न ठूलो भूमिका खेलेको छ। नयाँ नोटको बिटो बोकेर हिँड्ने पुरानो परम्परालाई विस्थापित गर्दै डिजिटल दक्षिणा अब नेपाली संस्कृतिको नयाँ पहिचान बन्न पुगेको छ।

comments powered by Disqus

लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।