Ipo.aspx merolagani - मोदी सरकारको नयाँ रेकर्ड, ८ हजार करोड सम्पत्तिका मालिक पेम्मासानी मन्त्री बने, दक्षिण एशियाकै सबैभन्दा धनी मन्त्री

मोदी सरकारको नयाँ रेकर्ड, ८ हजार करोड सम्पत्तिका मालिक पेम्मासानी मन्त्री बने, दक्षिण एशियाकै सबैभन्दा धनी मन्त्री

Jun 09, 2024 10:18 PM Merolagani

भारतमा मोदी सरकारको तेस्रो कार्यकाल शुरु भएको छ । आइतबार राती प्रधानमन्त्री नरेन्द्र मोदीसहित ७२ मन्त्रीहरुले सपथ लिएका छन् । सन् २०१४ र २०१९ मा एकल वहुमत ल्याएको भातिय जनता पार्टीले यसपटक वहुमत गुमाएको छ तर एनडिए गठवन्धनको आधारमा भाजपाले आधा दर्जन सहयोगी दलहरुसँग मिलेर सरकार गठन गरेको हो । 

यसपटक नयाँ र पुराना धेरै अनुहारहरुले मन्त्री बन्ने मौका पाएका छन् । ती मन्त्रीहरु मध्ये सपथ नलिंदै देखि सर्वाधिक चर्चामा भने गुण्टुरबाट निर्वाचित तेलगु देशम पार्टीका सांसद चन्द्रशेखर पेम्मासानी छन्। राज्यमन्त्रीको रुपमा सपथ लिएका उनी भारतका मात्र नभएर दक्षिण एशियाकाकै सबैभन्दा धनी मन्त्रीको रुपमा चर्चामा रहेका छन् ।

चन्द्रशेखर पेम्मासानीले गुंटुरबाट जितेका पोन्नुरबाट वाईएसआरसीपीका वर्तमान विधायक किलारी वेंकट रोसैयालाई करिब साढे तीन लाख मतले पराजित गरेका थिए। यस्तै, चन्द्रशेखरले ८ लाख ६४ हजार ९४८ मत पाएका थिए भने वेंकट रोसैयाले ५ लाख २० हजार २५३ मत पाएका थिए ।

कुल सम्पत्ति ५,७०५ करोड भारतीय रुपैयाँ

पेम्मासानीको हलफनामा अनुसार उनको कुल सम्पत्ति ५,७०५ करोड भारतीय रुपैयाँ छ। उनी लोकसभा निर्वाचनको चौथो चरणमा सबैभन्दा धनी उम्मेदवार थिए।

पेम्मासानीले एनटीआर युनिभर्सिटी अफ हेल्थ साइन्सेजबाट सन् १९९९ मा एमबीबीएस पूरा गरेका थिए। त्यसपछि, सन् २००५ मा उनले अमेरिकाको पेन्सिलभेनियास्थित गेजिङ्गर मेडिकल सेन्टरबाट इन्टरनल मेडिसिनमा एमडी डिग्री हासिल गरे। विदेशमा बसेर पनि पेम्मासानीले  आफ्नो शहर गुंटुरसँग सम्बन्ध कायम राखे र अहिले त्यहिँबाट निर्वाचित भएर देशको सबैभन्दा ठूलो पञ्चायतमा पुगेका छन् र त्यसपछि मोदी सरकार ३.० मा उनी मन्त्री अर्थात कार्यकारी राज्य मन्त्री बनेका छन् । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिइन्छ भन्ने बारेमा आइतबार रातीसम्म टुंगो भने लागिसकेको छैन । । पेम्मासानी भर्खरै राजनीतिमा प्रवेश गरेका भने होइनन्। उनी लामो समयदेखि टीडीपीका कार्यक्रममा सक्रिय रूपमा सहभागी हुँदै आएका छन् ।

दुई मर्सिडीज, टेस्ला र रोल्स रोयसका मालिक

राजनीतिबाहेक डा. पेम्मासानी उद्यमशीलताका लागि पनि परिचित छन् । उनी यूवर्ल्डका संस्थापक र सीईओ हुन् । यूवर्ल्ड एक अनलाइन लर्निंग प्लाटफर्म हाे जसले विद्यार्थीहरूलाई विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि आवश्यक तयारी गर्न मद्दत गर्न सहयाेग गर्छ। उनले सन् २०२० मा अर्न्स्ट एन्ड यंग इन्टरप्रेन्योर अफ द इयर अवार्ड जितेपछि पहिचान पाए।

भारत र अमेरिकामा १०० भन्दा बढी कम्पनी र सम्पत्तिहरूमा लगानी गरेका डा. पेम्मासानीको सम्पत्ति विवरण हेर्दा अचम्म लाग्न सक्छ। उनको चल सम्पत्तिमा दुई वटा मर्सिडिज कार, एउटा टेस्ला र एउटा रोल्स रोयस रहेका छन् ।

कुन दलले कति सिट पायो ?

५४३ सिटको कुरा गर्दा भाजपाले २४०, कांग्रेस ९९, समाजवादी पार्टी ३७, तृणमूल कांग्रेस २९, डीएमके २२, टीडीपीका १६, जेडीयूका १२, शिवसेना (यूबीटी)काे ९, एनसीपी (शरद पवार)का ८, शिव सेनाका सात सिट पाएका छन् । एलजेपी रामविलासले ५, वाइएसआरसीपी (YSRCP)ले ४, आरजेडीले ४ सिट पाए। यसबाहेक पवन कल्याणको जनसेना, सीपीआईएमएल, जेडीयूएस, आरएलडी, जेकेएन प्रत्येकले २ सिट पाएका छन्। यस निर्वाचनमा केही दलले एक–एक र ७ स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्।

एजेन्सी ।

comments powered by Disqus

भारतमा ७ कलाकारले चुनाव जितेर सांसद बने

Jun 05, 2024 11:33 AM

भारतीय लोकसभा चुनावमा यसपल्ट ७ कलाकार विजयी भएका छन् । लोकसभा सदस्यमा निर्वाचित हुनेमा कंगना रनौत, वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा, भोजपुरी सुपरस्टारका रूपमा परिचित मनोज तिवारी, वरिष्ठ कलाकार हेमा मालिनी लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।