Ipo.aspx merolagani - तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM merolagani

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।

गएको एक महिनादेखि शेयर बजार बुलिस ट्रेन्डमा थियो। गएको असार १७ गते यता बजार ठूलो करेक्सन बिना नै लगातार रकेट गतिमा अघि बढेको थियो। हुन त नयाँ सत्ता समीकरण परिवर्तन भए यता नै सूचकले तीव्र रफ्तार पक्रिन थालेको थियो। बुल मन्त्रीको रुपमा परिचित अर्थ मन्त्री विष्णु पौडेल आए यता शेयर बजारका लगानीकर्तामा अलि बढी नै कन्फिडेन्स बढेको थियो। अर्को तर्फ नेकपा एमाले र काँग्रेसको सरकारलाई लगानीकर्ताले बलियो सरकारको रुपमा लिए। जसले शेयर बजार बढाउन निक्कै ठूलो टेवा दियो।

एक थरी लगानीकर्ताले पैसा खन्याउँदै गए भने अर्काथरी लगानीकर्ताले बढेको बजारमा शेयर बिक्री गर्दै गए। बढ्दो क्रमको सुरुवातमा नै शेयर बेचेका लगानीकर्ता बजारमा करेक्सन पर्खिरहेका थिए। तर बजारले उनीहरूलाई मौका दिइरहेको थिएन। अर्का थरी लगानीकर्ता शेयर बजारको बढ्दो लयमा आफू छुट्दै गएको महसुस गरिरहेका थिए। उनीहरू पनि शेयर बजारमा करेक्सन नै खोजिरहेका थिए। तर बजारले गएको एक महिना यता कसैलाई मौका दिएन। बजार एक पछि अर्को दिन तीव्र गतिमा बढ्दै गयो।

तर मंगलबार भने उक्त बढ्दो लयमा एकाएक ठूलो ब्रेक लाग्यो। तर स्मरणीय के छ भने मंगलबार दोस्रो बजारको इतिहासमा नै सबैभन्दा बढी रकमको कारोबार भयो। मंगलबार २३ अर्ब ७१ करोड रुपैयाँका पाँच करोड ३८ लाख कित्ता शेयर किनबेच भए। यो नै अहिलेसम्मको सबैभन्दा बढी कारोबारको रेकर्ड हो। शेयर बजारमा करेक्सन पर्खिरहेका लगानीकर्ताले मंगलबार शेयर बजार घटेको मौका छोपे। जसले गर्दा नै कारोबार रकमको रेकर्ड बनेको हो। जसले गर्दा मंगलबार घटेको सूचक र बढेको कारोबार रकमले गर्दा लगानीकर्ताले अत्तालिनु पर्ने अवस्था नरहेको नेपाल इन्भेष्टर फोरमा अध्यक्ष तुलसीराम ढकालले बताए। उनका अनुसार मंगलबार शेयर बजारले रेस्ट लिएको रुपमा मात्रै लिनु पर्ने उनको तर्क छ।

मंगलबार शेयर बजारमा ठूलो पहिरो जानुको तीन कारण रहेको नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट बताउँछन्। रानाभाटका अनुसार सबैभन्दा पहिले त तीव्र गतिमा बढेको बजारले करेक्सन खोजिरहेको थियो। जुन मंगलबार देखिएको छ। त्यसलाई स्वाभाविक रुपमा लिनु पर्छ। अर्को तर्फ अहिले शेयर बजारमा कारोबार गर्ने स्वतन्त्रता लगानीकर्तामा निहित छ। जसले गर्दा कसले कति शेयर किन्ने र बेच्ने निर्णय लगानीकर्ता आफैले गर्ने गर्छन्। यस अघि बजार बढ्दा पनि लगानीकर्ताको एग्रेसिभ बाइङ अडरले ठूलो भूमिका खेल्यो भने मंगलबार एग्रेसिभ सेलिङ प्रेसरले त्यति नै ठूलो भूमिका खेल्यो। त्यसलाई पनि स्वाभाविक रुपमा नै लिनु पर्छ।

तर एका एक सेलिङ प्रेसर चाहिँ सोमबार प्रतिनिधि सभामा एक स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शेयर बजारमा तीव्र कर्नरिङ भइरहेको र निश्चित व्यक्तिहरू र उनीहरूले कुन कुन कम्पनीको शेयर उचालिरहेका छन् भन्दै सरकारले त्यसको छानबिन गर्न समिति नै बनाउनु पर्ने भनेपछि मंगलबार शेयर बजारलाई घट्ने कारण मिल्यो। यिनै कारणले शेयर बजार घटेको हो।

तर जसरी संसदमा सिंहले प्रस्तुति दिए त्यो पनि उनले आफ्नो स्व विवेकले भन्दा पनि बढ्दो बजारमा शेयर बजार पस्न नपाएकाहरूले सिंहलाई प्रयोग गरेको आशङ्का गरिएको छ। “जसरी सिंहले संसदमा बोल्नु भयो। त्यो उहाँको आफ्नो विवेकले बोलेको जस्तो सुनिँदैन। उहाँलाई नियोजित रुपमा बढ्दो बजारमा निश्चित कम्पनीको शेयर किन्ने चाहना भएकाले सिंहलाई प्रयोग गरेको जस्तो देखिन्छ। जसलाई अहिलेको समयमा बढावा दिनु हुँदैन। किनकि भोलिको दिनमा कुनै पनि व्यक्तिको अभिव्यक्तिले शेयर बजार घटाउन सक्ने रहेछ भन्ने सन्देश जान सक्छ। जुन शेयर बजारको लागि राम्रो हुँदैन” रानाभाटले भने।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।