Ipo.aspx merolagani - समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन?

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन?

Nov 04, 2024 06:51 AM Merolagani

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले कात्तिक १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने भोलि (कात्तिक २० गते) अन्तिम दिन रहेको छ।

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशनमा ल्याएको हो। निष्काशन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा कात्तिक २६ गते हुनेछ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कात्तिक १८ गते साँझसम्ममा लघुवित्तको एफपीओमा १० लाख ९२ हजार ९०७ आवेदनमार्फत १ अर्ब ६६ करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार ६३० कित्ता शेयरका लागि आवेदन परेको छ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।

comments powered by Disqus