Ipo.aspx merolagani - एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM merolagani

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।

कारोबारमा आएका सबै उपसूचक सोमबार बढेर बन्द भए। सबैभन्दा धेरै बढ्ने उपसूचकमा जलविद्युत पर्‍यो। उसको उपसूचक ३.५५ प्रतिशतले बढ्यो। तीन प्रतिशतकै हाराहारीमा बढ्ने सूचकमा लगानी र होटेल समूह समेत परेका छन्।

बजारमा एक्कासी हाफ सेन्चुरीको सुधार हुनुमा प्रमुख दुई कारण रहेको बताइएको छ। सबैभन्दा पहिले त दोस्रो बजार निकै घटिसकेको अवस्था थियो। त्यो भन्दा तल जान बजारले मानेन। अर्कोतर्फ भने बजारमा पुस मसान्तको प्रभाव सकिएको अनुमान लगानीकर्ताले गरे। जसकारण बजार बढेको बताइएको छ। “पछिल्लो केही दिनदेखि शेयर बजार घटिरहेको थियो। त्यो भन्दा तल जाने ठाउँ थिएन। जसले गर्दा आज बजार बढ्यो। अर्को भनेको पुस मसान्तको प्रभाव सकिएको अनुमान लगानीकर्ताले गरेको देखिन्छ। यतिबेला कर तिर्नु पर्ने र व्याज तिर्नु पर्ने प्रेसर हुन्छ। धेरैले कर व्याजको पैसा अन्तिम दिन निकाल्दैनन्। धेरैले यसअघि नै पैसा जोहो गरिसकेकोले गर्दा अब बजारमा सेलिङ प्रेसर आउँदैन भन्ने अनुमानका आधारमा लगानीकर्ताले लगानी बढाउँदा शेयर बजार बढेको हो,” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले मेरो लगानी सँग भने।

सोमबार दोस्रो बजारमा कुल ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भए। जसमा जलविद्युत क्षेत्रको मात्रै ५० प्रतिशत भन्दा बढीको कारोबार भयो। सोमबार मात्रै कुल तीन अर्ब २० करोडको कारोबार भयो। जुन कुल कारोबारको ५०.७९ प्रतिशत हो। सोमबार मात्रै होइन पछिल्ला केही महिना यता लगानीकर्ताले सबैभन्दा बढी पैसा यही समूहमा लगानी गरिरहेका छन्। अहिले बजारमा लगानीकर्ताले सबैभन्दा बढी सुरक्षित क्षेत्रको रुपमा यही समूहलाई लिन थालेको अर्का एक लगानीकर्ताले बताए। “आउने त्रैमासमा बैंक वित्तीय संस्थाको राम्रो रिपोर्ट नआउने प्रक्षेपण बजारमा भइरहेको छ। अर्कोतर्फ बैंक वित्तीय संस्थाको खराब कर्जा थप बढ्ने अनुमान आइरहेका छन्। उता केन्द्रीय बैंकले एक विकास बैंकलाई टेकओभर गरेपछि लगानीकर्ता यस क्षेत्रमा लगानी गर्न हच्किएका छन्। जसले गर्दा लगानीकर्ताले सुरक्षित क्षेत्र जलविद्युतलाई मान्न थालेका छन्। जसले गर्दा कारोबार रकम बढेको हो। फेरि आर्थिक मन्दीको प्रभाव सबै क्षेत्रमा पर्दै गर्दा त्यसको असर नपरेको क्षेत्र जलविद्युत देखिएको छ। उसको उत्पादन घटेको छैन भने तिर्नु पर्ने व्याज घटेको छ। त्यसले गर्दा जलविद्युत क्षेत्र लगानीकर्ताको रोजाइमा परिरहेको हुन सक्छ,” ती लगानीकर्ताले भने।

बैंक वित्तीय संस्थाको खराब ऋण बढ्दै जानु,जीवन बिमाको पोलिसी सेरेण्डर नघट्नु र उनीहरूले लगानी गरेको निक्षेप व्याज घट्नुको असर शेयर मूल्यमा पर्न थालेको छ। अर्को तर्फ बाढी पहिरोले गर्दा निर्जीवन बिमाको वासलात खराब आउने प्रक्षेपण बजारमा भइरहेको छ। लघुवित्तमा पनि खराब ऋण र केन्द्रीय बैंकले लाभांश वितरणमा गरेको कडाइले लगानीकर्ता त्यतातर्फ मोडिन सकेका छैनन्। नियामक निकाय भएका भन्दा पनि नियामक निकाय नभएका कम्पनीमा बढी लगानीकर्ताको आकर्षण देखिन्छ। जसले गर्दा आउने दिनमा बुल लिड गर्ने सेक्टर यही हुने अनुमानका साथ लगानीकर्ताले जलविद्युत क्षेत्रमा लगानी बढाउँदै लगिरहेको बताइएको छ।

comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।