Ipo.aspx merolagani - कुन महिनामा सबैभन्दा बढी बजार बढ्छ र पूँजीगत लाभकर उठ्छ ? यस्तो देखियो तथ्याङ्कमा

कुन महिनामा सबैभन्दा बढी बजार बढ्छ र पूँजीगत लाभकर उठ्छ ? यस्तो देखियो तथ्याङ्कमा

Feb 20, 2025 06:22 AM merolagani

सुवास निरौला

शेयर बजार कहिले घट्ने र कहिले बढ्ने गर्छ। जुन शेयर बजारको प्राकृतिक स्वभाव हो।

तर नेपालको शेयर बजारमा भने कुनै महिनाले निक्कै ठुलो प्रभाव पार्ने गरेको देखिन्छ। कुनै निश्चित महिनामा शेयर बजार मात्रै बढ्दैन, बजार बढेकै कारण सरकारले शेयर बजारबाट प्राप्त गर्ने पूँजीगत लाभकर उठ्तिमा समेत ठुलो अन्तर पार्ने गर्छ।

केन्द्रीय निक्षेप प्रणाली(सिडिएससी)ले उपलब्ध गराएको गएको सात महिनाको पूँजीगत लाभकर उठ्थीको तथ्याङ्कमा सबैभन्दा बढी लाभकर साउन महिनामा उठेको देखिन्छ। चालु वर्ष मात्रै त्यस्तो देखिएको होइन, गएको चार वर्षदेखि नै यस्तो प्रवृत्ति दोहोरिँदै आएको छ। जसले गर्दा नेपालको शेयर बजार सबैभन्दा बढी साउनमा बढ्ने गरेको प्रमाणित गर्छ।

चालु आर्थिक वर्षको साउनमा मात्रै सरकारले दोस्रो बजारबाट चार अर्ब २३ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त गर्‍यो। जुन चालु वर्ष उठेको सात महिना कै सबैभन्दा बढी हो। साउनमा उठे जति लाभकर माघ मसान्तसम्म पनि उठेन। उक्त महिना पूँजीगत लाभकर मात्रै बढी उठेन, कारोबार मापक सूचक समेत बढेर तीन हजार बिन्दुमा उक्लियो। सूचक बढेकै कारण कारोबार रकम बढ्यो। कारोबार बढेकै कारण लगानीकर्ताले गर्ने नाफा बढ्यो। जसले गर्दा लाभकर पनि बढी उठेको हो।

गत वर्ष साउन महिनामा लाभकर उठ्थी ४० करोड थियो भने आर्थिक वर्ष २०७९/८०को साउनमा ४२ करोड उठेको थियो। आर्थिक वर्ष ७८/७९को साउनमा तीन अर्ब ७९ करोड रुपैयाँ उठेको थियो। उक्त वर्ष साउनमा सूचक ३१ सय ६० अंकमा उक्लिएको थियो। सोही कारण उक्त महिना बढी लाभकर उठेको थियो। तुलनात्मक रुपमा बजार बुलिस ट्रेन्डमा रहँदा सबैभन्दा बढी लाभकर उठ्ने गरेको देखिन्छ। उक्त ट्रेन्ड धेरै जसो साउन महिनामा नै बढी देखिने गर्छ। जसका कारण साउन महिनालाई शेयर बजार बढ्ने खास महिनाको रुपमा लिन सकिन्छ।

खासगरि शेयर बजारले वैशाख महिनादेखि नै बढ्दो लयको बेस बनाउन सुरु गर्छ। वैशाखदेखि बिस्तारै उकालो लागेको बजार साउनमा गएर फराकिलो अंकले बढ्ने गर्छ। नेपाल सरकारले जेठ महिनामा आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने गर्छ। बजेटमा केही राम्रा कुरा आउलान् भन्ने अपेक्षामा बजार वैशाखदेखि नै बिस्तारै माथि लाग्ने गर्छ। बजेट सार्वजनिक भएपछि थोरै बजार सुस्ताए झैँ गरे पनि त्यसपछि भने पुन नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिको सम्भावनालाई बजारले पछ्याउने गर्छ। केन्द्रीय बैंकले साउनमा मौद्रिक नीति सार्वजनिक गर्छ। यदि मौद्रिक नीति शेयर बजार मैत्री आए साउन भरिनै बजार बढ्छ भने शेयर बजार मैत्री नरहे मौद्रिक नीति पश्चात बजार सुस्ताउने गर्छ। यहीकारण शेयर बजार साउनमा सबैभन्दा बढी बढ्ने गरेको हो।  

गएको सात महिनामा सरकारले पूँजीगत लाभकर मात्रै १० अर्ब ८३ करोड प्राप्त गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा चार गुणा बढी हो। गत वर्ष सोही अवधिमा जम्मा दुई अर्ब ६५ करोड मात्रै लाभकर उठेको थियो। माघमा मात्रै सरकाले एक अर्ब लाभकर उठायो। गत वर्ष माघको उठ्थी ९७ करोड थियो।

सरकारले शेयर कारोबारबाट आएको मुनाफामा पूँजीगत लाभकर असुल गर्ने गर्छ। अल्पकालीन लगानीकर्ताले साढे ७ प्रतिशत लाभकर बुझाउनु पर्छ भने दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत मात्रै कर बुझाए पुग्छ। उता संस्थागत लगानीकर्ताले भने १० प्रतिशत कर तिर्नु पर्छ। संस्थागत लगानीकर्ताले तिर्ने लाभकर भने अग्रिम कर हो। उनीहरूले वर्षको अन्तिममा नाफा घाटा मिलान गर्न पाउँछन्। एक वर्ष भन्दा कम अवधिमा नाफा गर्नेलाई सरकारले अल्पकालीन लगानीकर्ताको रुपमा लिने गर्छ भने एक वर्ष भन्दा बढी अवधिको लाभलाई दीर्घकालीन लाभको रुपमा लिने गरिन्छ।