Ipo.aspx merolagani - विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिनु अघि कस्तो छ लघुवित्त? हेरौँ

विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिनु अघि कस्तो छ लघुवित्त? हेरौँ

Apr 03, 2025 01:32 PM Merolagani

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात चैत २१ गतेदेखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको ५१ हजार २९२.५ कित्ता शेयर निष्काशनमा ल्याएको हो।

एफपीओमा कसरी र कहिलेसम्म आवेदन दिने?

लघुवित्तले निष्काशन गरेको एफपीओमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

लघुवित्तको एफपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट गर्दा कुल ५ हजार १२९ आवेदकले लघुवित्तको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा २.५ कित्ता शेष रहन्छ। बाँकी रहेको २.५ कित्ता शेयर पनि सोही ५ हजार १२९ आवेदकमा नै वितरण गरिने भएको हुनाले ९ जना आवेदकले थप १ कित्ता शेयर प्राप्त गर्न सक्नेछन्। त्यसैले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गर्न, लगानीकर्ताले न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। केयर रेटिङ्ग नेपालले प्रदान गरेको उक्त रेटिङ्गले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ।
केयर नेपालले लघुवित्तलाई २०८० चैत १२ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८२ चैत ११ गतेसम्म बहाल रहनेछ।

कस्तो लघुवित्त हो?

सूर्योदय वोमी लघुवित्त कम्पनी ऐन, २०६३ बमोजिम स्थापित लघुवित्त कम्पनीको हो। लघुवित्तको रजिष्टर्ड (प्रधान कार्यालय) कार्यालय बनेपा–१३, साँगा काभ्रेपलाञ्चोक, बागमती प्रदेशमा रहेको छ।

यस लघुवित्त २०७० मंसिर १६ मा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार लघुवित्तले २०७१ साउन २१ मा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी “घ” वर्गको वित्तीय संस्थाको हैसियतले २०७१ मंसिर ८ गतेदेखि लघुवित्त कारोबार सञ्चालन गर्दै आइरहेको छ।

बैंक तथा वित्तीय संस्था एक आपरमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी नियमावली २०७३ (चौथो संशोधन, २०७५) बमोजिम नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्थालाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट १०७८ चदौ १५ गते तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७८ असोज १५ गते मर्जरका लागि स्वीकृति प्राप्त गरि ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा एकीकृत कारोबार सञ्चालन गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम २०७८ कात्तिक १५ देखि एकीकृत कारोबार गर्दै आइरहेको छ।

लघुवित्तको कारोबार गर्ने मुख्य स्थान बनेपा नगरपालिका–१३, काभ्रेपलाञ्चोकमा रहेको छ। यस लघुवित्तको कार्यक्षेत्र बाग्मती प्रदेश स्तरियमा मात्र रहेको छ। भविष्यमा आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृतीलाई शाखा, उपशाखा वा अन्य कार्यालय खोली लघुवित्त सम्बन्धि कारोबार गर्न सक्नेछन्। २०८१ असोज मसान्तसम्ममा लघुवित्तले केन्द्रिय कार्यालयसहित २१ ओटा शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ।

एफपीओ जारी गर्नुको उद्देश्य

२०७९ जेठ २१ गते सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा सञ्चालक समितिको २०७९ कात्तिक २३ गते बसेको बैठकको निर्णय अनुसार प्रतिशेयर अंकित मूलय १०० रुपैयाँमा जम्ममा ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको ५१ हजार २९२.५ कित्ता शेयर सर्वसाधारणको लागि थप सार्वजनिक निष्काशन मार्फत बिक्री वितरण गरी लघुवित्तको शेयर पूँजी संरचना ७०ः३० कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको हो। यसका साथै लघुवित्तको सेवा विस्तार गर्ने क्रममा लगानी विस्ता गर्न तथा अन्य वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्नका लागि आवश्यक पूँजी संकलन गर्न पनि एफपीओ जारी गर्नुको उद्देश्य रहेको छ।

निष्काशनबाट प्राप्त हुने कुल रकमलाई कसरी र कुन क्षेत्रमा प्रयोग गरिनेछ?

एफपीओबाट प्राप्त हुने कुल रकम नेपाल राष्ट्र बैंकको निर्देशन तथा कम्पनीको आन्तरिक नीतिको अधिनमा रही कर्जा लगानी विस्तारका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ। जस अनुसार लघुवित्तले २० लाख रुपैयाँ पशुपालन तथा कृषि कर्जामा उपयोग गर्नेछ भने १५ लाख ६५ हजार ८०० रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जामा र १५ लाख ६३ हजार ४५० रुपैयाँ साना तथा घरेलु उद्योग कर्जामा लगानी गर्नेछ।

वित्तीय अवस्था कस्तो?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तको सञ्चित नोक्सानी २ करोड ८६ लाख १३ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २३ पैसा रहेको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको सञ्चित नोक्सानी ३४ लाख ८३ हजार रुपैयाँमा सीमित हुने प्रक्षेपण गरिएको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २ पसा र प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ७० पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

लघुवित्तको सञ्चालक समितिमा ७ जना सञ्चालक रहका छन्। जसमध्ये ४ जना संस्थापक शेयरधनीहरुबाट निर्वाचित सञ्चालक रहेका छन् भने २ जना सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित सञ्चालक रहेका छन्। बाँकी १ जना भने स्वतन्त्र सञ्चालक रहेको छ।

लघुवित्तको सञ्चालक समितिका अध्यक्ष मदन गोपाल श्रेष्ठ रहेका छन्। त्यस्तै, अन्य सञ्चालकहरुमा कुमार राज जोशी, सुकुमान डंगोल, रमादेवी श्रेष्ठ, एन्जिला न्यौपाने र राजु के.सी रहेका छन्।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत जीवन खनाल र नायव कार्यकारी अधिकृत दिपेन्द्र खतिवडा रहेका छन्।

comments powered by Disqus

मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।