Ipo.aspx merolagani - प्रभु बैंकका सिईओ अशोक शेरचनद्वारा औपचारिक राजनीति शुरु, राजनीतिबाट अनिल शाह विरक्तिदा शेरचनको भविष्य के होला?

प्रभु बैंकका सिईओ अशोक शेरचनद्वारा औपचारिक राजनीति शुरु, राजनीतिबाट अनिल शाह विरक्तिदा शेरचनको भविष्य के होला?

Apr 29, 2025 05:55 AM Merolagani

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले राजनीतिमा कदम चालेका छन् । अर्का बैंकर अनिल शाह राजनीतिमा पसेको केही समयमै विरक्त बन्दा शेरचन भने औपचारिकरुपमा राजनीतिमा प्रवेश गरेका छन् ।

शेरचन हालै सम्पन्न भएको मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेका छन् । फाउण्डेशन नेकपा एमालेको ‘भातृ संगठन जस्तै’ संस्था हो । त्यसलाई औपचारिकरुपमा भातृ संस्थाको मान्यता नदिए पनि एमालेले सुभेच्छुक संस्थाकोरुपमा मान्यता दिएको छ । संस्थामा नेकपा एमालेका सदस्यहरुमात्र आवद्ध छन् ।

पूर्व राष्ट्रपति तथा नेकपा एमालेका स्वर्गिय महासचिव मदन भण्डारीकी पत्नी विद्या भण्डारी संरक्षक रहेको फाउण्डेशनको अध्यक्षमा उनकी छोरी उषाकिरण दोस्रोपटक अध्यक्ष बनेकी छन् । सम्मेलनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

शेरचनले बैंकको जागिरबाट अवकाश पाएपछि आफू राजनीतिमा जानसक्ने आफू निकटस्थहरुलाई बताउंदै आएका थिए । त्यहीअनुसार उनले फाउण्डेशनको राजनीतिमार्फत एमालेको राजनीतिमा कदम चालेको जानकारहरु बताउंछन् । वाग्लुङ जन्मथलो भएका शेरचन पहिलेदेखि एमालेको शुभचिन्तक भए पनि कुनै कमिटीमा औपचारिकरुपमा बसेका थिएनन् भने खुलेर पनि लागेका थिएनन् । तर, अहिले भने उनी खुल्लारुपमा एमालेको राजनीतिमा लागेका छन् । त्यहीआधारमा उनी गभर्नरको दौडमासमेत रहेको चर्चा बैंकिङ क्षेत्रमा चलिरहेको छ ।

प्रभु बैंकका अध्यक्ष देवी भट्टचन पनि एमालेबाट समानुपातिक तर्फबाट संघीय सांसद छन् । पहिले कांग्रेस रहेका भट्टचनलाई नेपाली कांग्रेसले समानुपातिकबाटै सांसद बनाउने तयारी गरे पनि अन्तिम समयमा उनी एमालेको सदस्यता लिएर सांसद भएका थिए । उनलाई एमाले र सांसद बनाउन शेरचनको हात रहेको चर्चा त्यतिबेला चलेको थियो ।

नेपालमा निजी क्षेत्रको बैंक तथा वित्तीय संस्थाको उच्च तहमा पुगेका व्यक्तिले पार्टी राजनीति गरेको घटना विरलै छ । त्यस्तो गर्ने शेरचन संभवतः दोस्रो व्यक्ति हुन् ।

यसअघि नबिल बैंकको सिईओबाट अवकाश पाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य र प्रशिक्षण विभागको प्रमुख बनेका शाह अहिले राजनीतिबाट विरक्तिएका छन् । उनले पार्टी छोडेको घोषणा नगरे पनि पार्टीमा निस्कृय रहेको र आफू कुनै जिम्मेवारीमा नबस्ने जानकारी पार्टी नेतृत्वलाई दिइसकेको बताइएको छ । ‘बैंक चलाउनु र पार्टी राजनीति गर्नु फरक रहेछ । मैले सोंचे जस्तो पार्टी नहुने भएपछि बसिरहनु ठीक छैन’ उनले आफू निकटहरुलाई भन्ने गरेका छन् ।

यसरी शाह पार्टी राजनीतिबाट विरक्त भइरहदा शेरचनको राजनीतिक भविश्य कस्तो रहला ? त्यो भने अहिल्यै भन्न सकिदैंन ।

गभर्नर छनौट समितिकाे सदस्यमा महाप्रसाद अधिकारीको ‘इण्ट्री’ !

Apr 25, 2025 06:01 AM

सरकारी अर्कमण्यताको कारण बल्झिएको गभर्नर नियुक्ति प्रकरणसंग जोडिएको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको छ ।