यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल लाइफले प्रथम बीमा शुल्क र नवीकरण शुल्क संकलनमा पनि अगाडि नै देखिएको छ । कम्पनीले ५ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेको छ भने २६ अर्ब ७६ करोड १८ लाख रुपैयाँ बराबरको नवीकरण बीमा शुल्क संकलन गरेको छ यद्यपि सक्रिय बीमा लेख संख्याको आधारमा भने नेपाल लाइफ दोस्रोमा पर्न आउँछ ।
बीमा शुल्क संकलनमा दोस्रोमा नेशनल लाइफले १५ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनलले ३ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क र ११ अर्ब ८० करोड १४ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ, हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी आइएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ जुन १४ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम हो । कम्पनीले ७२ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क र २ अर्ब रुपैयाँ बराबरको नवीकरण बीमा शुल्क संकलन गरेको छ । तुलनात्मक रुपमा पुराना बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क अत्यधिक हुने गर्दछ ।
सक्रिय बीमा लेखमा रिलायवल नेपाल लाइफ अगाडि
सक्रिय जीवन बीमालेख भएका कम्पनीहरुको आधारमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएकाे छ । पछिल्लो लटमा मात्रै सञ्चालन अन्मति पाएको जीवन बीमा कम्पनी भए पनि रिलयवल नेपाल लाइफ इन्स्योरेन्सले सक्रिय बीमा संख्यामा आधारमा बजारमा प्रभुत्व जमाउन सफल नेपाल लाइफलाई समेत पछाडि पारेको छ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सक्रिय बीमा लेख संख्या २४ लाख ८० हजार ९७८ वटा हुँदा नेपाल लाइफको १९ लाख ६० हजार वटा र नेसनल लाइफ इन्स्योरेन्स १५ लाख ३४ हजार वटा रहेको छ । सक्रिय जीवन बीमा लेखको आधारमा सबैभन्दा कम बीमा लेख प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ ।
लघु जीवन बीमा संकलन गरे ८५ करोड ५६ लाख रुपैयाँ
बीमा प्राधिकरणले सञ्चालन अनुमति दिएका ३ वटा लघु जीवन बीमा कम्पनीहरुले चालु आवको नौ महिनाको अवधिको ८५ करोड ५६ लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । प्राधिकरणले गार्डियन, क्रेस्ट र लिबर्टी गरी तीन वटा लघु जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । त्यसमध्ये गार्डियन र क्रेस्ट आईपीओ निष्काशन भएर दोस्रो बजारमा कारोबार भइरहेको छ भने लिबर्टीको अहिलेसम्म आईपीओ निष्काशन भएको छैन ।
तीन वटा लघु जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै सक्रिय बीमा लेख गार्डियनको ५ लाख ७८ हजार ७ सय ६७ वटा रहेको छ भने दोस्रोमा क्रेस्टमा १ लाख ७० हजार ८२० वटा र लिबर्टीको १ लाख १० हजार ४७६ वटा रहेको छ ।
प्रथम बीमा शुल्क समेत गार्डियनले बढी संकलन गरेको देखिएको छ भने नवीकरणीय विमा शुल्क सबैभन्दा बढी लिबर्टीले संकलन गरेका छन् ।
सबैभन्दा धेरै कुल बीमा शुल्क भने गार्डियनले ३२ करोड ५८ लाख रुपैयाँ, क्रेस्टले ३२ करोड २० लाख रुपैयाँ र लिबर्टीले २० करोड ७७ लाख रुपैयाँ संकलन गरेका छन् ।