Ipo.aspx merolagani - भारत–पाकिस्तान युद्ध: कसरी ठयाक्कै मिल्यो कोलोराडो विश्वविद्यालयको ६ वर्ष पुरानो भविष्यवाणी ? के ‘टाइमलाइन’ पनि त्यस्तै होला ?

भारत–पाकिस्तान युद्ध: कसरी ठयाक्कै मिल्यो कोलोराडो विश्वविद्यालयको ६ वर्ष पुरानो भविष्यवाणी ? के ‘टाइमलाइन’ पनि त्यस्तै होला ?

May 07, 2025 04:00 PM mero lagani

कास्मीरमा भएको आतंकवादी आक्रमणपछि अन्ततः भारत र पाकिस्तानबीच युद्ध शुरु भइसकेको छ । 

यद्धपी भारतले आक्रमण गरे पनि पाकिस्तानले अहिलेसम्म भारतमाथि आक्रमण शुरु गरेको छैन, न त युद्धको घोषणा नै गरेको छ । उसले केवल भारतीय आक्रमणको विरुद्ध पाकिस्तान भित्रै प्रत्याक्रमणको प्रयास गरेको छ र छिट्टै ‘जस्तालाई त्यस्तै’ गर्ने चेतावनी दिएको छ ।

शुरु भैसकेको यो युद्धको अन्त्य कसरी होला ? अहिले नै भन्न सकिदैन । तर, ६ वर्ष अघि अर्थात् २०१९ मा अमेरिकाको कोलोराडो विश्वविद्यालयले गरेको एउटा भविश्यवाणीले भने धेरैलाई आतंकित बनाएको छ । किनकी सन् २०२५ मा भारत र पाकिस्तानबीच आतँकबाद र नदीको विषयमा युद्ध हुने मात्र होइन भारतले पाकिस्तानका १० सैन्य ठेगानाहरूलाई लक्ष्य बनाउँदै आक्रमण गर्नेछ (यद्धपी भारतले शुरुमा नौ ठाउँ आक्रमण गर्यो) भन्ने उसको भविश्यवाणी ठ्वाक्कै मेल खाएको छ भने अन्य परिस्थितिहरु पनि उसले गरेको भविश्यवाणीहरुसँग मेल खाने गरि अगाडि बढेको छ ।

अमेरिकाका विभिन्न अनुसन्धान निकायहरु समेत संलग्न रहेको अनुसन्धान टोलीले महिनौं लगाएर गरेको अध्ययन पछि सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२५ मा हुने भारत पाकिस्तान युद्धले सिंगै विश्व प्रभावित हुने दावी गरेको थियो । प्रतिवेदनमा त्यो युद्ध केवल सामान्य युद्ध नभएर परमाणु युद्ध हुने र त्यसबाट ५ करोडदेखि साढे १२ करोडसम्म मानिसको ज्यान सक्ने भविश्यवाणी गरिएको थियो । प्रतिवेदनमा युद्ध भारतकोतर्फबाट शुरु हुने तर दोस्रो दिनमै पाकिस्तानले परमाणु युद्धको घोषणा गर्ने दावी गरिएको छ ।

प्रतिवेदनमा दुवै देशले युद्धको घोषणा गरेपछि दुई दिनमा नै हाहाकार मच्चिने दावी गरिएको छ । प्रतिवेदनका अनुसार दुवै देशले युद्धको घोषणा गरेपछिको दिनहरु यसरी अगाडि बढ्नेछन्ः

युद्धको पहिलो दिनः पाकिस्तान आफ्नो सीमामा भारतीय ट्यांकहरूको लक्ष्य बनाउँदै ५ किलोटनका १० टेक्टिकल न्यूक्लियर हतियार प्रहार गर्नेछ ।

युद्धको दोस्रो दिनः पाकिस्तान १५ वटा परमाणु हतियार प्रयोग गर्नेछ । जवाफमा भारतले पनि २० वटा परमाणु हतियारहरू प्रयोग गरेर पाकिस्तानका सैन्य प्रतिष्ठान र परमाणु ठाँउहरूको लक्ष्य बनाउनेछ । भारतका यी परमाणु हमलाहरूबाट भयंकर आगो लाग्नेछ र धुवाँले आकाश ढाकिनेछ, जस्तै जापानको हिरोशिमामा भएको थियो ।

युद्धको तेस्रो दिनः पाकिस्तानले भारतीय चौकीहरू, नौसैनिक अड्डाहरू र शहरी हवाई क्षेत्रहरूमा ३० वटा हवाई हमला गर्नेछ । यससँगै १५ भन्दा बढी ‘टेक्टिकल स्ट्राइक’हरू पनि गर्नेछ ।

युद्धको चौथो, पाँचौं र छैटौं दिनः एक अर्कामा जवाफ दिने क्रम जारी रहनेछ, अर्थात युद्ध डरलाग्दोसँग भइरहनेछ । यो तीनमा भारतले पाकिस्तानमाथि ७० वटा सम्म परमाणु हतियार प्रहार गर्न सक्नेछ । त्यो अवस्थामा पाकिस्तानले पनि निकै धेरै परमाणु हतियार भारतमाथि प्रहार गर्नेछ । जस्ले करोडौंको मृत्यु हुनेछ ।

र, अन्त्यमा अन्तराष्ट्रिय मध्यस्तकर्ताहरुकाे मध्यस्ततामा दुवै देशले ‘शान्ती सम्झौता’ गर्नेछन् । तर, त्यतिबेलासम्म दुवै देशको लगभग सर्वनाश हुनेछ ।

यो त कोलोराडो विश्वविद्यालयको भविश्यवाणीको कुरा भयो । अहिले दुवै देश एक अर्काेलाई तह लगाउने मुडमा देखिएका छन् । त्यसले गर्दा युद्ध कसरी अगाडि बढ्ला यसै भन्न सकिदैन । आशा गरौं, उक्त विश्व विद्यालयको भविश्यवाणी प्रमाणित नहोस र परमाणु युद्ध हुनु अगाडि नै दुवै देशबीच ‘शान्ती सम्झौता’ होस् ।