महानगरपालिकाले उक्त कार्यक्रमको क्रममा फोहोर गरिएको र बोट विरुवा मासिएको भन्दै ७ लाख ९३ हजार रुपैयाँ बराबरको रकम तिर्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई पूर्जी काटेपछि राजावादीहरु आक्रोशित भएका थिए । शाहको निवासले उक्त पूर्जी नबुझी फिर्ता पठाएपछि महानगरपालिकाले हुलाकबाट पठाएको थियो ।
हिन्दू राष्ट्र तथा राजसंस्था पुनःस्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिका सदस्य सचिव अंगत प्रसाद देवकोटाले ८ लाख ३९ हजार ४०० रुपैयाँ ‘जनआन्दोलन संघर्ष समिति’ का संयोजक नबराज सुवेदीलाई बिहिबार हस्तान्तरण गरेका हुन् । त्यसमध्येबाट सात लाख ९३ हजार जरिवाना तिर्ने र बाँकी ४६ हजार ४०० समितिले खर्च गर्ने बताइएको छ ।
महानगरपालिकाले जरिवाना तोकेपछि नेपालका राजावादीहरुले त्यसको चर्काे विरोध गर्दै रकम नतिर्ने अडान लिएका थिए । तर, विदेशमा रहेका राजावादीहरुले पूर्व राजाका लागि रकम संकलन अभियान चलाएका थिए । सोही रकम नेपाल पठाइएपछि सम्भव भएसम्म शुक्रबार, अन्यथा आइतबार महानगरपालिकामा बुझाइने समितिका एक सदस्यले मेरो लगानीलाई बताए ।