Ipo.aspx merolagani - सागर ढकाल रास्वपाको लागि ‘तातो पिँडालु’ बन्दै, रुपन्देहीमा ‘स्वर्णिम वाग्ले’ नभेटिएपछि ‘मिलन लिम्बु’को खोजी

सागर ढकाल रास्वपाको लागि ‘तातो पिँडालु’ बन्दै, रुपन्देहीमा ‘स्वर्णिम वाग्ले’ नभेटिएपछि ‘मिलन लिम्बु’को खोजी

Jul 06, 2025 02:20 PM mero lagani

कात्तिक १७ गते रूपन्देही क्षेत्र नं. ३ मा रिक्त प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हुने भएपछि राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुमा चुनावी रौनक शुरु भएको छ । 

यो उपनिर्वाचनको नतिजा २०८४ को आम निर्वाचनको ‘ट्रेलर’ मानिने भएकोले पनि सबै राजनीतिक दलहरुले यसलाई प्रतिष्ठा बनाएका छन् । २०७९ को निर्वाचनमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा विजयी भएका थिए । गत चैत १९ मा बोहोराको निधन भएपछि यो क्षेत्र प्रतिनिधिविहीन बनेको हो । त्यतिबेला एमाले राप्रपा गठवन्धनका उम्मेद्वार बोहोराले ३६७१७ मत ल्याएका थिए भने कांग्रेस, माओवादी र एकिकृत समाजवादी गठवन्धनका उम्मेदवार खाँणले ३४०३६, राष्ट्रिय स्वतन्त्र पार्टीका जीतबहादुर गुप्ता तेली  ५,७९६, नागरिक उन्मुक्ति पार्टीका तुलसीप्रसाद थारू ४,७५१ जमत पार्टीका प्रमोदकुमार राउत ३,३१७ मत ल्याएका थिए ।

एमालेसंगको गठवन्धनबाट निर्वाचन जितेको राप्रपा समानुपातिकतर्फ भने चौथो पार्टी बनेको थियो । समानुपातिक तर्फ नेपाली कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ४१, जसपाले ५ हजार २९१, लोसपाले ५ हजार ०५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृह क्षेत्र रुपन्देही ३ बाट फेरि उनी उम्मेद्वार हुने चर्चा चलिरहेको छ । तर, उनी भुटानी शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त हुन्, जस्को विरुद्ध अदालतमा मुद्धा विचाराधीन छ । त्यसैले उनको उम्मेद्वारीको बारेमा आशंका पैदा भएसंगै प्रमोद यादव, भरत शाह, अनिता शाह, रामचन्द्र ढकालको नाम चर्चामा रहेको छ ।

नेकपा एमालेबाट भने पूर्वसांसद खिमलाल भट्टराई प्रमुख दाबेदारको रूपमा अगाडि देखिएका छन । भट्टराईबाहेक केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, पोलिटब्युरो सदस्य दधिराम न्यौपानेको नाम चर्चामा छ ।

अघिल्लो निर्वाचनमा एमालेसंगको गठवन्धनबाट चुनाव जितेको राप्रपाले पछिल्लो समय राजसंस्था पुनर्स्थापनाकाे आन्दोलन चर्काएपछि गणतन्त्रवादी दलहरु आक्रोशित छन् । त्यसैले एमाले, कांग्रेस, माओवादी, समाजवादी लगायतका दलहरुसंग राप्रपाको गठवन्धन हुने सम्भावना देखिदैन । राप्रपाबाट उक्त क्षेत्रमा स्वर्गीय दीपक बोहोराका दुई छोराहरू प्रज्वल र गौरव तथा नातिनीसमेत रहेकी केन्द्रीय सदस्य स्वाती थापामध्येलाई अगाडि सार्ने तयारी चर्चामा छ ।

नेकपा (माओवादी केन्द्र) बाट स्थायी समिति सदस्य तथा पूर्वराज्यमन्त्री हकिकुल्ला खाँ र जिल्ला इन्चार्ज सोनिया यादवको नाम चर्चामा छ । तर, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल उम्मेदवार बने माओवादी केन्द्रले क्षेत्र छोड्न सक्ने अनुमान गरिएको छ । भुसाल २०७४ मा यही क्षेत्रबाट चुनाव जितेका थिए, तर २०७९ मा क्षेत्र नं. १ मा एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय मुक्ति पार्टी लगायतका मधेशवादी दलहरूसाझा उम्मेदवार बनाउने प्रयास गरिरहेका छन् । उनीहरुमध्ये कुन पार्टीबाट को उम्मेद्वार होला, यकिन भैसकेको छैन ।

सागर ढकाल रास्वपाको लागि ‘तातो पिँडालु’

 

नयाँ शक्तिका रुपमा चर्चामा रहेको रास्वपाले यो क्षेत्रमा आफ्नो उम्मेदार विजयी बनाएर ०८४ को आधार बनाउने गरी तयारी गरेको छ । रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई ‘न्याय दिलाउन’ को लागि पनि त्यो क्षेत्र जित्ने अठोट रास्वपाका स्थानीय कार्यकर्ताहरुमा देखिन्छ । तर, चुनावको दिनसम्म परिस्थिति कस्तो हुन्छ भन्न नसकिने स्वंय रास्वपाकै नेता कार्यकर्ताहरु बताउंछन् ।

गत आम निर्वाचनमा तनहुँ १ बाट निर्वाचन जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सिटमा रास्वपाले कांग्रेसकै कार्यकर्ता रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई उम्मेद्वार बनाएर सबैलाई आश्चर्यमा पारेको थियो । त्यहाँबाट अत्यधिक मतले निर्वाचित भएका वाग्ले अहिले उक्त पार्टीका उपाध्यक्ष छन् ।

अहिले रुपन्देही ३ मा पनि वाग्ले जस्तै स्थानीय बुद्धिजिवीको खोजी भैरहेको तर अहिलेसम्म कोही पनि व्यक्ति नभेटिएको रास्वपाका कार्यकर्ताहरु बताउंछन् ।

स्वर्णिम वाग्ले जस्तो वौद्धिक नभेटेपछि अहिले नेताहरु ‘मिलन लिम्बु’ जस्तै स्थानीय प्रभावशाली युवाको खोजिमा रहेको बताइएको छ । पहिले कुनै पार्टीबाट नभई स्वतन्त्ररुपमा चुनाव लड्ने घोषणा गरेका लिम्बुलाई स्थानीय नेता कार्यकर्ताहरुको विरोधको वावजुद इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेवार बनाइएको थियो । निर्वाचन प्रचारको क्रममा स्वंय लामिछानेसहितका नेता कार्यकर्ताको लावालस्कर नै लागेको थियो । त्यसका बावजूद लिम्बुको जमानत भएपछि रास्वपाका नेता कार्यकर्ताहरु निराश भएका थिए ।

तर, अहिले फेरि स्थानीय नेता कार्यकर्ताहरुको भावना विपरित रुपन्देही ३ को उप निर्वाचनमा पनि मिलन लिम्बु जस्तै अर्थात् पार्टी बाहिरका लोकप्रिय कुनै युवालाई पार्टीमा प्रवेश गराएर उम्मेद्वार बनाउने चर्चा चलिरहेको छ । त्यसक्रममा अघिल्लो आम निर्वाचनमा डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध लडेका गुल्मीका सागर ढकालले आफू उम्मेद्वार बन्न लागेको संकेत गरिसकेका छन् । उनी टिकट दिए रास्वपाबाटै र टिकट नदिए स्वतन्त्ररुपमै पनि निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।

तर, २०७९ मा पराजित उम्मेदवार जेपी गुप्ता, पार्टीका क्षेत्रीय सभापति मधु अर्यालदेखि जिल्ला अध्यक्ष बुद्धि शर्मासमेत टिकटका आकाँक्षी देखिएका छन् । उनीहरु कुनै पनि हालतमा ढकाललगायतका बाहिरियालाई टिकट दिन नहुने अडानमा छन् । यदि पार्टीका स्थानीय नेता, कार्यकर्ताको सुझाव विपरित उम्मेद्वार बनाएमा इलाममा भोगेभन्दा पनि नराम्रो परिणाम भोग्न वाध्य हुनु पर्ने चेतावनी पार्टी सभापति लामिछाने लगाएका नेताहरुलाई दिइसकेका छन् । ‘लिम्बु त इलाम क्षेत्र नं २ का स्थानीय थिए, ढकाल त यहाँको लागि टुरिष्ट हुन्, उनको लागि हामी किन बलिको बोको हुने ?’ रुपन्देहीका एक रास्वपा नेता भन्छन् ।

उनकाअनुसार ढकालले पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठसहितका रास्वपाका केही नेताहरुको आड भरोसामा चुनाव लड्ने घोषणा गरेका हुन् कि भन्ने शंका गर्न थालिएको छ । त्यसो भएमा ढकालले रास्वपाबाट टिकट पाए पनि पार्टीका स्थानीय नेता कार्यकर्ताहरु निराश भएर चुनावी परिणाम नै अपेक्षा गरिए जस्तो नआउन सक्छ, उनले टिकट पाएनन् र स्वतन्त्र रुपमै लडे भने पनि उनलाई जाने भोटको ठूलो हिस्सा रास्वपा समर्थकको नै हुने देखिन्छ । त्यसबाट पनि परिणाम रास्वपाको पक्षमा नआउने निश्चित छ । ‘वास्तवमा सागर ढकाल रास्वपाको लागि तातो पिँडालु निल्नु न ओकल्नु जस्तो बन्ने देखियो । उनलाई टिक दिए पनि समस्या, नदिए पनि समस्या । त्यसमाथि सुमना श्रेष्ठ जस्ता पार्टीका नेताहरु नै उनको पक्षमा देखिनुले पार्टीका स्थानीय नेता कार्यकर्ताहरुको मनस्थितिमा नकारात्मक असर पारिरहेको छ’ रुपन्देहीका एक रास्वपा कार्यकर्ताले मेरो लगानीसंग भने । पार्टीले उम्मेद्वारीको विषयमा कुनै टिका टिप्पणी नगर्नु भनेकोले कुनै पनि नेता कार्यकर्ताहरु अहिले खुलेर नबोल्ने उनको भनाई छ ।

comments powered by Disqus

हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।