Ipo.aspx merolagani - अब शेयर बजार २४ सय तल आएकाे देख्न पाइने छैनः सकृय लगानीकर्ता अम्बिका पौडेलसँगकाे अन्तर्वार्ता ( भिडियाे )

अब शेयर बजार २४ सय तल आएकाे देख्न पाइने छैनः सकृय लगानीकर्ता अम्बिका पौडेलसँगकाे अन्तर्वार्ता ( भिडियाे )

Jul 18, 2025 05:18 PM merolagani

नयाँ आर्थिक बर्ष शुरू भएकै दिनबाट शेयर बजारमा राैनक छाएकाे छ । हुन त अहिलेकाे समयलाई पूँजी बजारमा सिजन पनि भनिन्छ । एक त सिजन त्यही माथि लचिलाे माैद्रिक नीति, लगानीकर्ताका लागि अहिले सुवर्ण अवसर नै मान्नु पर्छ ।

वास्तवमा अहिलेकाे बजार बढ्नुकाे आधार कति बलियाे छ  ? कतै बबल बन्ने खतरा त छैन ?  हामीले अनुभवी र सकृय लगानीकर्ता अम्विकाप्रसाद पाैडेलसँग जिज्ञासा राखेका छाै । मेराे लगानीका लागि उपसम्पादक सुवास निराैलाकाे पाैडेलसँग प्रश्न छ

मौद्रिक नीति पछि शेयर बजार उफ्रिन थालेको छ। के यो नीतिकै प्रभाव हो ?

केही हदसम्म नीतिको प्रभाव हो भन्न सकिन्छ। तथापि यो नीतिको प्रभाव मात्रै नभइकन पछिल्लो समय आन्तरिक तथा बाह्य अर्थतन्त्रमा देखिएको सुधारको पनि प्रभाव हो।  गएको तीन वर्षदेखि आर्थिक क्षेत्र सुस्त थियो। त्यो केही हदसम्म सुदृढ भएको छ। चाहे त्यो आयातमा होस् वा निर्यातमा,चाहे त्यो कर उठ्थी नै किन नहोस्, यी सबैमा सुधार भएको छ। त्यसले लगानीकर्ताको मनोबल पनि बढाएको छ। त्यसले गर्दा व्यवसायिक क्षेत्र नयाँ फण्ड लिएर शेयर बजारतर्फ आकर्षित हुन थालेको मैले अनुभव गरेको छु।

पछिल्लो मौद्रिक नीति असाध्यै खुकुलो आयो। ब्याजदर घट्दा अब अनौपचारिक अर्थतन्त्र र शेयर बजारतर्फ पैसा आउने क्रम बढ्ने र त्यसले शेयर बजार बबल भएर एक्सिडेन्ट नै हुने भनेर जानकारहरूले अनुमान गर्न थालेका छन्। के शेयर बजारमा बबल आउन लागेको हो ?

म कत्ति पनि त्यो कुरामा सहमत छैन। मानिसहरूले भनेजस्तो गरी बैंक वित्तीय संस्थाको पैसा सबै शेयर बजारमा आउन सक्दैन। आजको मितिसम्म जति दिल खोलेर बैंक वित्तीय संस्थाले ऋण दिए पनि साढे दुई अर्ब भन्दा माथि दिनै सक्दैनन्। राष्ट्र बैंकको नियम अनुसार बैंक वित्तीय संस्थाले आफ्नो कोर क्यापिटलको दुई प्रतिशत भन्दा बढी ऋण नै दिन पाउँदैनन्। कुनै पनि व्यक्तिले २५ कराेड भन्दा बढी ऋण नै लिन पाउँदैन। बैंक वित्तीय संस्थाको जम्मा दुई प्रतिशत ऋण जाँदैमा शेयर बजार सकिन्छ। बबल भएर फुट्छ भन्ने भाष्य चाहिँ विगतदेखि नै आइरहेको छ। त्यही भाष्यबाट प्रशिक्षित कुराहरू मात्रै हुन् यी। नेपालको पूँजी बजार र पूँजी बजारको लगानीमा धेरै किसिमका बन्धनहरू छन्। तसर्थ बैंकहरुले जति चाहे पनि आफ्नो कोर क्यापिटलको सीमामा रहेर लगानी गर्ने भएकोले कहिले पनि रिस्क छैन। आजसम्म कुनै पनि बैंक वित्तीय संस्थाले पूँजी बजारमा गरेको लगानीका कारणले मेरो एनपिएल बढ्यो अथवा मेरो पैसा उठेन भन्ने एउटा मात्रै उदाहरण नेपाल राष्ट्र बैंकले दिए हुन्छ। भनेपछि यति परिष्कृत,यति सुरक्षित र यति व्यवस्थित कर्जालाई सबै शेयर बजारमा जान्छ र शेयर बजार बबल हुन्छ भन्ने भाष्य स्थापित गर्नु हुँदैन।

ऋणको त सीमा भइहाल्यो तर कम ब्याज आउने भएपछि बचत पनि शेयर बजार तर्फ नै मोडिएर बबल हुन्छ भन्न खोजिएको हो ?

मलाई चाँहि त्यस्तो लाग्दैन। त्यस्ता बचत गर्ने व्यक्तिहरूले शेयर बजारमा सबै पैसा खन्याउँछन् भन्ने। शेयर बजार भनेको पनि व्यापार र व्यवसाय नै हो। तर सबैले त्यसरी पैसा खन्याउनुहुन्छ भन्ने लाग्दैन। त्यो हिजोको दिनमा पनि देखेकै हो। त्यो सबैले खन्याएर त्यस्तो भए पनि होइन। पूँजी बजार भनेको एउटा व्यवसायको क्षेत्र हो। त्यो क्षेत्रमा व्यवसाय बुझेका व्यक्ति अथवा व्यवसायिक संस्थाहरूले लगानी गर्छन् तर सबैले गर्दैनन्।   

निक्षेपकर्ताहरू विभिन्न प्रकारका हुन्छन्। त्यसकारण ब्याजदर घट्दा उनीहरूले पैसा शेयर बजारमा नै लगाउँछन् भन्ने हुँदैन। नेपालको बैंक वित्तीय संस्थामा संस्थागत निक्षेप कति छ ? त्यो पनि हेर्नु पर्छ।

अर्को तर्फ १९९४ मा खुलेको नेपाल बैंकको आजका मितिमा नेटवर्थ २२५ रुपैयाँको हाराहारीमा छ। त्यसको शेयर मूल्य अस्तिसम्म दुई सय रुपैयाँ थियो। त्यसको मूल्य तीन सय रुपैयाँ पुग्दैमा शेयर बजार बबल हुन्छ भन्नु गलत कुरा हो। नेटवर्थको तीन गुणासम्म किनेर शेयर बजारमा बबल आयो भन्ने भाष्य स्थापित हुनु हुँदैन। आजको मितिमा त्यस्तो प्रकृतिको संस्था बनाउन कति कष्ट लाग्छ त्यो हेर्नु पर्दैन र ?

परिष्कृत रूपमा मसिनले कुटेको धानमा त एक दुई बिँया आउँछन् भने यहाँ पनि केही कम्पनी त्यस्तो भएनन् भन्न सकिँदैन। तर एक दुईलाई लिएर यस्तो हुन्छ। उस्तो हुन्छ भन्न मिल्दैन कि ?

अहिलेको कारोबारको ट्रेन्ड अलि चेन्ज जस्तो देखिन थालेको छ। लो क्याप नन् फण्डामेन्टल भन्दा हाइ क्याप फण्डामेन्टल कम्पनी प्रति अलि आकर्षण बढ्न थालेको हो ?

मैले पनि पछिल्लो समय नजिक बाट हेरिरहेको छु। तपाईले भन्नु भएको ठिक हो। जब बजारमा कष्ट बेनिफिट एनालाइसिस गर्ने र मार्केटको समग्र सिनारियो स्टडी गर्ने लगानीकर्ताहरूको इन्ट्री हुन्छ। उनीहरूले नजिकबाट हेरिरहेका छन्। उनीहरूले त्यस्तो बबल शेयरमा, रिटर्न बेस नभएको शेयरमा, लो क्यापमा लगानी नै गर्दैनन्। किनकि उनीहरूको लागत लागेको फण्ड हुन्छ। अहिले लगानी गर्दा एक वर्ष पछि कति रिटर्न आउँछ ? बजार यस्तै भइरह्यो भने पनि यसले कति रिटर्न दिन्छ भन्ने कुराहरू हेर्ने गर्छन्। जब जब भोल्युम बढ्दै जान्छ तब तब स्मार्ट मनि र स्मार्ट इनेभेष्टर्सको इन्ट्री हुँदै जान्छ। तब तब मात्रै फण्डामेन्टल राम्रा भएका कम्पनीहरू चल्ने गर्छन्। तपाईले जुन जज गर्नु भयो त्यो त्यसैको उपज हो।

नन् फण्डामेन्टलमा अपरेटरहरू खेल्ने गरेका थिए। के उनीहरूका दिन सकिएका हुन् ?

विगतको कारोबार ट्रेन्डलाई हेर्‍यो भने पनि जब जब भोल्युम बढ्दै जान्छ तब तब फण्डामेण्टल कम्पनीहरू चलेका धेरै उदाहरण भेटिन्छन्। जब जब क्यापिटल मार्केटको साइज बढ्दै जान्छ तब तब फण्डामेण्टल कम्पनीहरू चल्न थाल्छन्। जब जब बुलिस ट्रेण्ड चल्छ तब तब फण्डामेण्टल कम्पनीहरू चल्छन्। तर जब बजार साइडवेजमा जान्छ। तब स्मार्ट मनि र स्मार्ट लगानीकर्ताको सक्रियता कम हुन्छ। तब तब नन् फण्डामेन्टल कम्पनी चल्ने गर्छन्। अहिलेको अवस्था भनेको बजार राइट ट्र्याकमा छ भन्ने बुझ्नु पर्छ।

एकथरिले जुलाई भनेको शेयर बजारको लागि सिजन पनि हो भन्छन्। के अहिले सिजन नै हो ?

केही हदसम्म हो। हामीले केही महिना अघि शेयर बजार निक्कै तल गएको पनि देख्यौ। अहिले मौद्रिक नीति आउनु पूर्व र आएपछि केही अंकले शेयर बजार बढेको छ। गएको आर्थिक वर्ष सकियो। अब प्रतिफल आउँछ भन्ने अपेक्षाले बढ्छ। पूँजी बजार यस्तो क्षेत्र हो जहाँ उसले परिणाम आउनु भन्दा पहिले नै अनुमानको आधारमा पहिले नै मूल्य तय गर्छ। यसले यति लाभांश दिन सक्छ भन्ने अनुमानको आधारमा त्यो कम्पनीले लाभांश घोषणा हुनु भन्दा अघि नै त्यो मूल्य लिएर बस्ने गर्छ। स्वाभाविक रुपमा अब अनुमान लगाउने समय सुरु भएको र मूल्य बढ्न थालेको रुपमा लिनु पर्छ। विगतमा पनि असार-साउन शेयर बजार हरियो नै हुने गरेको थियो। अहिले हरियाली हुने समय नै हो। त्यसले गर्दा शेयर बजारमा पनि हरियाली देखिएको होला।

तपाईले केही समय अघि आउने पुस्ताले १८ सय देख्न पाउँदैनन् भन्नु भएको थियो। अहिलेको अवस्थामा अबको तल्लो बिन्दु कति हो ?

पूँजी बजारमा मैले विगतमा पनि यस्तो प्रोजेक्सनहरु गरेको थिए।  आफ्नो अनुभवको आधारमा गर्दै आइरहेको हो। जब बजारले पटक पटक १८ सयको पोइन्ट टेस्ट गर्‍यो तब मलाई लाग्यो बजारको जबरजस्त बिन्दु भनेको १८ सय नै हो। त्यही आधारमा मैले १८ सय तल जाँदैन भनेको हो। फेरि २२ सय लाई निक्कै पटक टेस्ट गर्न आयो। तर बजार २२ सयलाई पार गरेर तीन हजार पुग्यो। तर तीन हजारबाट तल झरेको बजार २४ सय तल आएन। यसरी हेर्दा १८ सयबाट बढेको बजार तीन हजार सम्म पुग्दो रहेछ। तर तल आउँदा २४ सय भन्दा तल नआउने रहेछ। यस आधारमा भन्दा बजार अब २४ सय तल आउँदैन भन्न सकिन्छ।

भिडियाेमा पनि हेर्नुहाेस्

 

comments powered by Disqus

लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।